+

शक्तिशाली आँधी ‘बाभी’ का कारण फिलिपिन्समा १५ जनाको मृत्यु, पूर्वी एसियामा उच्च सतर्कता

२७ असार २०८३, शनिबार ११:३१

काठमाडौं । विगत केही दशकयताकै सबैभन्दा शक्तिशाली आँधीमध्येको एक ‘बाभी’ का कारण फिलिपिन्समा गएको पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। यसैबिच, पूर्वी एसियाका कैयौँ देशहरू यस आँधीको सम्भावित प्रभावलाई मध्यनजर गर्दै पूर्वतयारीमा जुटेका छन्।

आफ्नो सबैभन्दा फराकिलो भागमा लगभग फ्रान्स जत्तिकै क्षेत्रफलमा फैलिएको करिब १,००० किलोमिटर (६२० माइल) चौडा यो ‘बाभी’ नामक टाइफुन (सामुद्रिक आँधी) प्रशान्त महासागरको माथिबाट अगाडि बढ्दै ताइवानतर्फ मोडिएको छ।

‘बाभी’ को जोखिमलाई दृष्टिगत गर्दै ताइवान सरकारले मुख्य गरी हिमाली तथा पहाडी क्षेत्रबाट १४ हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारेको छ। टाइफुन बाभी उत्तरतर्फ बढिरहेको कुरालाई ध्यानमा राख्दै यी पूर्वसावधानीका उपायहरू अपनाइएका हुन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार, जापानी अधिकारीहरूले ‘बाभी’ लाई लिएर नागरिकहरूलाई बाढी र पहिरोको विषयमा सतर्क रहन चेतावनी दिएका थिए। बाभीले शनिबार जापानको दक्षिणी साकिसिमा टापु समूहमा भारी वर्षा र तीव्र गतिको हावाहुरीसहित दस्तक दिएको थियो। त्यसपछि यो ताइवानतर्फ अघि बढेको हो।

जापानको स्थानीय बन्दरगाहमा राखिएका नौकाहरू तीव्र जलप्रवाह र उच्च लहरका कारण लगातार हल्लिरहेका थिए। अधिकारीहरूका अनुसार आँधीको केन्द्रविन्दु आसपास निरन्तर चल्ने हावाको अधिकतम गति १४४ किलोमिटर प्रतिघन्टा रहेको थियो भने हावाको झोक्काको गति १९८ किलोमिटर प्रतिघन्टासम्म पुग्न सक्ने चेतावनी जारी गरिएको थियो।

जापानको एक लोकप्रिय पर्यटकीय गन्तव्य इशिगाकीमा शनिबार दिनभर सबै उडान र फेरी (जल यातायात) सेवाहरू बन्द गरिएका थिए।

यद्यपि, बिस्तारै कमजोर हुँदै गइरहेको टाइफुन बाभी ताइवानको मुख्य भूमिमा ठोक्किने छैन। तर, केही क्षेत्रमा करिब एक मिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएकोले सरकारले धनजनको क्षति हुन नदिन सबै आवश्यक तयारी गरेको छ।

ताइवानका राष्ट्रपति लाई चिङ-तेले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ, “आँधी केही कमजोर भई मध्यम श्रेणीको आँधीमा परिणत भएको भए तापनि यसको दायरा अझै पनि निकै ठुलो छ र यसले धेरै क्षेत्रमा तीव्र हावाहुरी र भारी वर्षा गराउन सक्छ।”

तााइवानमा सुरक्षित स्थानमा सारिएका मानिसहरूमा अधिकांश उत्तरी र पूर्वी क्षेत्रका बासिन्दा हुन्। खराब मौसमका कारण ९१७ अन्तर्राष्ट्रिय र सबै २७४ आन्तरिक उडानहरू पनि रद्द गरिएका छन्।

जापानको मौसम विज्ञान विभागले ‘बाभी’ शनिबार बिहान सबेरै जापानको साकिसिमा टापुहरूको निकै नजिकबाट गुज्रिन सक्ने बताएको थियो।

यसलाई विगत केही वर्षयताकै सबैभन्दा शक्तिशाली आँधीमध्ये एक मानिएको छ। नासाका अनुसार, जुलाई ५ मा यसको अधिकतम गति २९० किलोमिटर प्रतिघन्टा रेकर्ड गरिएको थियो।

तथापि, चीनको मौसम केन्द्रलाई उद्धृत गर्दै रोयटर्सले जनाए अनुसार अहिले यसको गति घटेर करिब २०० किलोमिटर प्रतिघन्टा पुगेको छ।

यस महिनाको सुरुवातमै यो शक्तिशाली आँधी उत्तरी प्रशान्त महासागरमा अवस्थित अमेरिकाको मारियाना टापु र गुआम भएर गुज्रिएको थियो।

जुलाई ५ को राति जब सुपर टाइफुन ‘बाभी’ यी टापुहरूनजिक पुग्यो, तब यो आफ्नो चरम रूपमा थियो। त्यस क्रममा २९० किलोमिटर प्रतिघन्टाको रफ्तारमा हावा चलेको थियो, मुसलधारे वर्षा भएको थियो र समुद्रमा उच्च लहरहरू उठेका थिए।

समयसँगै यसको गति कम हुँदै गएको छ। चीनको राष्ट्रिय मौसम केन्द्रले रोयटर्सलाई बताए अनुसार ‘बाभी’ को वर्तमान गति करिब २०० किलोमिटर प्रतिघन्टा छ र यो आफ्नो सबैभन्दा फराकिलो भागमा लगभग एक हजार किलोमिटरभन्दा बढी क्षेत्रमा फैलिएको छ।

नासाका अनुसार उपग्रहबाट लिइएका तस्बिरहरूमा आँधीको केन्द्र गुआमको उत्तरमा अवस्थित रोटा टापुको माथिबाट गुज्रिरहेको देखिएको थियो।

पश्चिमतातर्फ अघि बढ्ने क्रममा स्थानीय समय अनुसार जुलाई ४ को बिहान ‘बाभी’ सुपर टाइफुनमा परिणत भएको थियो। स्याटेलाइटबाट प्राप्त तथ्याङ्क अनुसार त्यस समयमा यस क्षेत्रको समुद्री सतहको तापमान करिब ३० डिग्री सेल्सियस रहेको थियो।

विगत केही वर्षको तुलनामा यो आँधी सबैभन्दा विनाशकारी साबित हुन सक्ने अनुमान गरिएको छ। यस आँधीका कारण प्रशान्त महासागरमा अवस्थित गुआम, रोटा र साइपन टापुहरूमा ठुलो क्षति पुगेको छ।

त्यहाँ बिजुलीका पोल र तारहरू ढलेका छन्, सडकहरू जलमग्न भएका छन् र ठाउँ-ठाउँमा भग्नावशेषहरू फैलिएका छन्। यसबाहेक कैयौँ भवनहरूमा पनि क्षति पुगेको छ। रिपोर्टहरूका अनुसार, समुद्रको स्थितिमा सुधार आएपछि अमेरिकी कोस्ट गार्डका टोलीहरूले गुआम र उत्तरी मारियाना टापुहरू वरपरका समुद्री मार्गहरूबाट अवरोधहरू हटाउने काम सुरु गरेका छन्।

मौसम विभागका अधिकारीहरूले रोयटर्सलाई दिएको जानकारी अनुसार ‘बाभी’ शनिबार बिहान सबेरै जापानको साकिसिमा टापुहरूको निकै नजिकबाट गुज्रिने सम्भावना रहेको थियो।

जापान एयरलाइन्सले शुक्रबार र शनिबारका लागि १०० भन्दा बढी उडानहरू रद्द गरेको छ, जसका कारण करिब २० हजार यात्रीहरू प्रभावित भएका छन्।

प्रख्यात पर्यटकीय स्थल इशिगाकी टापुमा मानिसहरूले अत्यावश्यक सामानहरू भण्डारण गर्न थालेका छन्। यसले गर्दा स्थानीय सुपरमार्केटहरूमा इन्स्ट्यान्ट नुडल्स जस्ता सामग्रीहरूको अभाव देखिएको छ।

धेरै सार्वजनिक समुद्र तट (बीच), तटीय पार्क र स्थानीय फेरी टर्मिनलहरू पनि बन्द गरिएका छन्। इशिगाकीमा मानिसहरूले आफ्ना घर र पसलका झ्यालहरूमा टेप लगाएका छन् र तीव्र हावाहुरीबाट बच्न विन्डप्रुफ नेटको समेत प्रयोग गरेका छन्।

रोयटर्सका अनुसार, ताइवानका एयरलाइन्सहरूले ताइपेई नजिकै रहेको ताओयुआन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने शनिबारका सबै उडानहरू रद्द गरेका छन्।

हङकङको प्रमुख एयरलाइन क्याथे प्यासिफिक एयरवेजले पनि हङकङ र ताइवानबिच सप्ताहन्त (विकेन्ड) मा हुने सबै उडानहरू रद्द गरेको छ। यसबाहेक, पूर्वी चीनका तटीय सहरहरू हाङ्झाउ, निङ्बो र फुझाउ जाने केही उडानहरू पनि रद्द गरिएका छन्।