अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी निर्वाचनको तथ्याङ्कमा हस्तक्षेप गरेको बताएपछि शुक्रबार बेइजिङले आरोप ‘कपोल कल्पित’ भएको भन्दै यसको खण्डन गरेको छ ।
‘मिडटर्म’ निर्वाचनअघि ट्रम्पले मतदाता ठगीबारे आफ्नो पुरानो र आधारहीन दाबीलाई पुनः जीवित गर्नुभएको छ । धेरैले यसले उहाँलाई थप विवादित बनाउने अपेक्षा गरिरहेका छन् ।
राष्ट्रपति ट्रम्पले बिहीबार ह्वाइट हाउसमा गरेको सम्बोधनमा अमेरिकी निर्वाचन प्रणाली खतरनाक रूपमा जोखिममा रहेको बताएका थिए भने उनले कानुन निर्माताहरूलाई मतदानमा नयाँ प्रतिबन्धहरू लागू गर्न आह्वान गरे । यद्यपि उनको आफ्नै रिपब्लिकन पार्टीभित्र पनि यी उपायहरूबारे खासै रुचि राखेको देखिएको छैन ।
अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले अवैध रूपमा २२ करोड मतदाता फाइलहरू प्राप्त गरेको देखाउने खुफिया जानकारीलाई वर्गीकरण नगर्ने पनि बताए ।
“अमेरिकी पक्षबाट गरिएका सम्बन्धित दाबीहरू पूर्ण रूपमा कपोल कल्पित र दुर्भावनापूर्ण आरोपहरू हुन् जुन पहिले नै आधारहीन साबित भइसकेका छन्,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले ट्रम्पको पछिल्लो दाबीबारे सोध्दा पत्रकार सम्मेलनमा भने।
“चीनलाई अमेरिकी निर्वाचनमा कुनै चासो छैन र कहिल्यै हस्तक्षेप गरेको छैन,” लिनले भने ।
“कसले नियमित रूपमा अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने बानी राख्छ भन्ने अन्तर्राष्ट्रिय समुदायले स्पष्ट रूपमा देखेको छ,” उनले भने ।
“हामी अमेरिकी पक्षलाई आफ्नो कार्यको आत्मनिरीक्षण गर्न, चीनमाथि आधारहीन आरोप लगाउन बन्द गर्न, आफ्नो निर्वाचनबारेमा चीनलाई मुद्दा बनाउन रोक्न र चीन–अमेरिका सम्बन्धलाई फाइदा पु¥याउने काम गर्न आह्वान गर्दछौँ,“ उनले थपे ।
सन् २०२० को निर्वाचनमा धाँधली भएको ट्रम्पको दाबी कहिल्यै प्रमाणित भएको छैन। करिब ६० भन्दा बढी मुद्दाहरूमा कुनै अदालतले निर्वाचनको नतिजा बदल्न सक्ने ठगी भएको फैसला गरेको छैन । पुनःगणना, अडिट र उनको आफ्नै न्याय विभागले पनि यस्तो केही फेला पारको पाइदैन ।


