+

अपवित्र साँठगाँठ होइन, वामपन्थी एकता आजको आवश्यकता: झलनाथ खनाल

३ श्रावण २०८३, आईतवार १२:१८

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशको विद्यमान जटिल परिस्थितिको सामना गर्न सम्पूर्ण वामपन्थी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिँदै तत्काल कुनै पनि प्रकारको अपवित्र साँठगाँठमा नलाग्न पार्टी नेतृत्वलाई चेतावनी दिएका छन्।

आज एक वक्तव्य जारी गर्दै उनले मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको रणनीतिक कार्यदिशाबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका हुन्।

वरिष्ठ नेता खनालले नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि मुलुकका ज्वलन्त समस्याहरू समाधानको दिशातिर जानेछन् भन्ने आम जनतामा आशा पलाए पनि त्यसको विपरीत देशको राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, जनजीविका, जनताका हकअधिकार र छिमेकी मुलुकहरूसँगको सम्बन्ध खलबलिन थालेको उल्लेख गरेका छन्।

बढ्दो विदेशी हस्तक्षेप र आन्तरिक अस्तव्यस्तताका कारण देशका श्रमजीवी जनता चरम निराशामा पुगेको दाबी गर्दै उनले यस्तो संकटपूर्ण घडीमा देशका तमाम देशभक्त, लोकतान्त्रिक, वामपन्थी, समाजवादी र प्रगतिशील शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याएका छन्। त्यसका लागि कम्युनिस्टहरूले आफ्ना आपसी आग्रह, पूर्वाग्रह, दम्भ र घमण्ड त्यागेर वामपन्थी एकताको पहल गर्नुपर्ने उनको भनाइ छ।

विगतमा कम्युनिस्ट पार्टीले नीतिहीन, वर्ग दृष्टिकोणविहीन र निहित गुट स्वार्थका आधारमा दक्षिणपन्थी शक्तिहरूसँग सम्झौता गर्ने गल्ती गरेको स्मरण गराउँदै खनालले अहिले पनि त्यही प्रवृत्ति दोहोरिने र पार्टीको प्रतिष्ठामा अझ बढी आँच पुग्ने खतरा देखिएको प्रति चिन्ता व्यक्त गरेका छन्।

यसै सन्दर्भमा उनले कुनै पनि नयाँ राजनीतिक समीकरण वा प्रदेश सरकार गठन प्रक्रियामा सामेल हुनुभन्दा अगाडि अनिवार्य रूपमा ‘केन्द्रीय संयोजन समिति’ को बैठक बोलाउन जोडदार माग गरेका छन्।

कमिटीमा वर्तमान आवश्यकताका बारेमा विस्तृत छलफल गरी क्रान्तिकारी उद्देश्य र वर्ग दृष्टिकोणलाई सर्वोपरि राखेर मात्र प्रदेश सभामा सरकार बनाउने सम्बन्धमा नीतिगत निर्णय गरिनुपर्ने उनको अडान छ।

केही नेताहरूको कुर्सी मोह र आत्मतृप्तिका लागि मात्र गरिने साँठगाँठको प्रवृत्तिलाई रोक्दै पार्टीलाई दक्षिणपन्थी वर्ग सम्झौतावादको दलदलबाट जोगाउनुपर्नेमा जोड दिँदै नेता खनालले यो बेला सत्ताको लुछाचुँडी गर्ने नभई सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्ने उपयुक्त समय भएको स्पष्ट पारेका छन्।