फ्रान्सेली शहर बोर्डो नजिकैको जंगलमा लागेको भीषण आगलागीका कारण वरपरका क्षेत्रहरूबाट हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा लिन निरन्तर प्रयास गरिरहेका छन्। फ्रान्सेली गृहमन्त्री लरेन्ट नुनेजले उक्त क्षेत्रको अवस्था “अत्यन्तै कठिन” रहेको बताए।
उनले भने – आगो अनिश्चित दिशामा बोर्डो तर्फ सर्दैछ। यद्यपि, अधिकारीहरूले हाल शहर खाली गर्ने सम्भावना कम रहेको बताएका छन्।
शनिबार रातिदेखि आइतबार बिहानसम्म बोर्डोको दक्षिणमा रहेको गिरोन्डे क्षेत्रका गाउँहरूबाट लगभग ५५,००० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो।
यो क्षेत्र यसको दाखबारी र वाइन उत्पादनको लागि प्रसिद्ध छ। युरोपका धेरै भागहरूमा विगत एक हप्तादेखि जंगलमा आगलागी भइरहेको छ।
सबैभन्दा बढी प्रभाव फ्रान्स र स्पेनमा देखिएको छ, जहाँ अहिलेसम्म ३ लाख ३० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।


