चितवन । गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दीमध्ये ९७ जना अझै फर्किएका छैनन्। ९ भारतीयसहित ९७ जना कैदीबन्दी अझै कारागारको सम्पर्कमा आएका छैनन् ।
यस कारागारबाट गत भदौँ २५ गते ७३९ जना कैदीबन्दी भागेका थिए । तीमध्ये ६४१ जना फर्किएका छन् । एक जनाको भने परिवारको सम्पर्कमा पुगेपछि मृत्यु भएको कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाले जानकारी दिए। उनका अनुसार तत्कालीन समयमा चार नाबालकसहित ७४३ जना कैदी भागेकामा नाबालकलाई कैदीबन्दीको सूचीमा नराखिने भएकाले ७३९ को विवरण मात्र उल्लेख गरिएको हो।
यसरी सम्पर्कविहीन भएकाहरूमध्ये लागुऔषध र जबरजस्ती करणीका कैदी बढी रहेका कार्यालयका निमित्त प्रमुख ढुङ्गानाले जानकारी दिए। उनका अनुसार फरार भएकामध्ये दुर्लभ एकसिङ्गे गैँडा चोरीशिकारीमा संलग्न छन् । कारागार कार्यालयले गत असोज २० गतेसम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि आग्रह गरेको थियो।
कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन, २०७९ र प्रचलित कानुन अनुसार कारबाही गरिने जनाएको थियो। फरार रहेका कैदीबन्दीलाई लुकाउने,आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यत्तिलाई समेत कसुरदार ठानी कारबाही गरिने उनले बताए । भागेकाहरू नवलपरासी (वर्दघाट-सुस्ता)पूर्वसहित अन्य जिल्लाका छन्।


