+

१० हजार घुस लिने वडा सचिव पक्राउ

११ श्रावण २०८३, सोमबार २१:५८

काठमाडौं । सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गर्न सेवाग्राहीसँग घुस लिइरहेका झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव अजयकुमार साह १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयका अनुसार, वडा सचिव साहले सम्बन्ध विच्छेदको प्रमाणपत्र दिन सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने गोप्य उजुरी प्राप्त भएको थियो। सोही उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले उनीमाथि विशेष निगरानी बढाएको थियो।

आयोगको टोलीले वडा सचिव साहलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सोही वडा क्षेत्रको एक होटलबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका साहमाथि भ्रष्टाचार निवारण ऐन बमोजिम थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।