काठमाडौं। काठमाडौं महानगरपालिका–१४ गाङखेलबाट सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूले भारतबाट अवैध रूपमा नेपालमा लागुऔषध भित्र्याई बिक्री–वितरण गर्दै आएको विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेशकुमार साह, बारा जिल्ला कलैया–५ का २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गाको मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महानगरपालिका–६ मा बस्दै आएका २४ वर्षीय दीपक राई रहेका छन्।
सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले गोप्य सूचनाका आधारमा मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।
कारबाहीका क्रममा टोलीले उनीहरूको साथबाट ‘डामाडोल’ नामक लागुऔषधका एक लाख २० हजार क्याप्सुल बरामद गरेको छ। साथै टाटा कम्पनीको बीएसी ७०१७ नम्बरको हात्ती गाडी, बागमती प्रदेश ०२–०६५ प ४४८९ नम्बरको मोटरसाइकल, तीन थान मोबाइल फोन तथा नगद नेपाली रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद लागुऔषध, सवारीसाधन, मोबाइल र नगदसहित पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।


