काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विद्यमान राजनीतिक तथा सुरक्षा अवस्था सहज नरहेको बताएका छन्।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै संयोजक प्रचण्डले आमनिर्वाचनमा जनताले दिएको अभिमत र अपेक्षाअनुसार वर्तमान सरकारले काम गर्न नसकेको आरोप लगाए।
संसद्मा बोल्दै उनले भने, “अहिले देशको समग्र राजनीतिक परिस्थिति सहज छैन। गत निर्वाचनमा जनताले जसरी आफ्नो अभिमत प्रकट गरेका थिए, यसबीचका सरकारका क्रियाकलापले ती अपेक्षालाई सम्बोधन गर्न सकेका छैनन्। दिन प्रतिदिन परिस्थिति अझ असहज र जटिल बन्दै जाने हो कि भन्ने चिन्ता चौतर्फी व्याप्त भएको छ।”
सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले सुनसरीको देवानगञ्ज-३ कप्तानगञ्जमा घटेको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण गराए। बोलबम धार्मिक यात्राका क्रममा उत्पन्न विवाद चर्किएर अवाञ्छित र दुःखद मोड लिएको उल्लेख गर्दै उनले सो घटनाले कतै मुलुकमा ठूलो साम्प्रदायिक विद्वेष फैलाउने त होइन भनी चिन्ता व्यक्त गरे।
सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाउँदै प्रचण्डले संसद्मा भने, “यो घटनाक्रममा सुरक्षा निकायको भूमिका के-कस्तो रह्यो? के त्यहाँ त्यो स्तरको गोली नै चलाउनुपर्ने अवस्था सिर्जना भएकै हो त? सरकारले यसको स्पष्ट जवाफ दिनुपर्छ।”
उनले कप्तानगञ्ज घटनाको सम्पूर्ण सत्यतथ्य बाहिर ल्याउन, गोली चलाउनुपर्ने परिस्थितिबारे निष्पक्ष छानबिन गर्न र नागरिकको सुरक्षा सुदृढ बनाउन सरकारसँग जोडदार माग गरे।


