No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शिक्षाको सुधारका लागि आन्दोलन गर्नुको विकल्प छैन

0

डा. युवराज संग्रौला ।
जागृती वैज्ञानिक भयो भने, समाज परिवर्तनको लागि ठोस विचार र योग्य नेतृत्वको निर्माण हुन्छ । राष्ट्रले समृद्धिका आर्थिक र सामाजिक योजना निर्माण गर्न सक्छ। तर यस्तो वैज्ञानिक जागृतीको निर्माण गर्न वस्तुगत शिक्षाको जरुरी हुन्छ । वस्तुगत ज्ञानले मानिसमा सम्बन्धित विज्ञताको लागि चाहिने भरपुर ज्ञान, त्यसको प्रयोगको सीप, र कला दिन्छ र मानिसलाई दक्ष व्यवसायी  बनाउँछ । तर हाम्रो शिक्षाले विज्ञान होइन ढाँटशास्त्र (स्युडो नोलेज) रोप्यो। किन त्यस्तो भयो,

१. पहिलो कुरा यो नव–उपनिवेशवादको भरिया बनेर उदायो । हामीले विउपनिवेशवाद (डीकोलोनाइजसन)को आवश्यकता नै देखेनौं । हामीले ज्ञान युरोपमा जन्मिन्छ, हामी त मूर्ख हौं भन्ने ठान्यौं । हाम्रा रैथाने प्रविधि, बाली, जनवार, वास्तुकला, चिकित्सा, समाजविज्ञान, मानवशास्त्र, दर्शनशास्त्र सबै मास्यौं । हामीले नेपाली समाजलाई युरोपेलीकरण गर्यौं । परिणाम आज कोही युवा देशमा बस्दैन । उसले पश्चिमलाई सभ्य र नेपाललाई मुर्खहरुको बस्ती ठान्छ ।

२. हामीले संविधानमा समाजवादउन्मुख हुने लक्ष्य राख्यौं तर अर्थतन्त्र कुहिएको पूँजीवादी नवउदारवाद अबलम्वन गर्यौं ।

३. विकास भनेको अमरिका र युरोप हो, र ती देश र उनले चलाएका अन्तर्राष्ट्रिय वित्तिय संस्थालाई हामीले मालिक ठान्यौं । हामी धेरै उनीहरुको दाम खाएर देशभक्ति र राष्ट्रिय स्वार्थलाई छोड्यौं ।

हाम्रा विश्वविद्यालयहरु कठपुतली बने । यस्ता शैक्षिक संस्थामा अनुसन्धानको आवश्यकता भएन । ज्ञान निर्माण आवश्यक भएन । सोच्नु परेन । विज्ञान सरोकारको विषय भएन । दर्शनशास्त्र अपहेलनाको शिकार बन्यो । यस्ता कठपुतली संस्थामा प्राज्ञहरुको आवश्यकता भएन । पदहरु बिक्न थाले । देशले यस्ता संस्थाबाट ढाँटशास्त्रको निर्माण गर्यो । अब देश बनाउने सोचमा देशका इमान्दार प्राज्ञहरु, व्यवसायीहरु, वैज्ञानिकहरु, प्राध्यापकहरुले शिक्षाको सुधारका लागि आन्दोलन गर्नुको विकल्प छैन ।

– विश्वविद्यालय र विद्यालयहरुमा राजनीति र राजनीतिक नियुक्ति बन्द गराउनु देशभक्त नेपालीहरुको दायित्व हो ।

– विश्वविद्यालययहरुको अनुगमन गर्ने प्राज्ञिक निकाय गठन गर्नु आजको आवश्यकता हो ।

– विश्वविद्यालयहरु र स्कुलहरुलाई व्यवसायिक र अनुसन्धानमूलक बनाउन, पाठ्यक्रमको पुनर्निर्माणको अभियान शुरु हुनुपर्छ ।

यी लगायतका विषयहरुलाई अब बहसमा उतारौं । अब नयाँ युगको परिकल्पना गर्दै युवाहरू देशमा बसेर देश बनाउने सपना देख्न थालौं । असल मानिसलाई निरास हुने अधिकार छैन । युगको निर्माण गर्नेहरु समस्यालाई उर्जा मानेर निर्माणको बाटोमा लाग्छन् । बुद्ध भन्छन्, ‘दुः खको कारण छ । कारणको निवारण छ। निवारण मुक्तिको बाटो हो । अतः विचार नै सबै सुधारको बीउ हो । हरेक गन्तव्यको दिशा हुन्छ। दिशाको बाटो हुन्छ। जब सही बाटोको यात्रा शुरु हुन्छ दशा बदलिन शुरु हुन्छ ।’

प्रकाशित: २९ भाद्र २०८०, शुक्रबार ०२:५८

Leave a Reply