No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एक लट त हामी आफैं भत्किनु र उध्रिनु जरूरी छ

0

नारायण गाउँले ।
आज गरिब छौँ, ३०–४० हजार दर्शक अटाउने रङ्गशाला पनि नभएकाले पछि परेका छौँ जस्तो लाग्छ । तर, हाम्रो मूल समस्या रङ्गशाला होइन, ठाउँको हो, खुला र सार्वजनिक जग्गाको हो । एकदिन धनी बनेका दिन, बजेट जुटाउन सक्ने हैसियत बनेका दिन, रङ्गशाला नामको बिल्ङि त बनाउन सकिएला तर बनाउने कहाँ ?

गौचरन भन्ने सुन्नुभएको छ ? सानो गौचरन, ठूलो गौचरन ? आम सर्वसाधारणले गाईवस्तु चराउन र खेलकुददेखि मनोरञ्जनसम्म गर्न मिल्ने ती खुला ठाउँहरू आज कहाँ होलान् ? के तपाईंलाई थाहा छ ? दशरथ रङ्गशाला मात्र होइन, पचासौँ वर्षअघि हरेकजसो जिल्लामा सार्वजनिक उपयोग र खेलकुदका लागि ’रङ्गशाला’ हरू बनाइएका थिए । धनगढ़ीमा रङ्गशाला थियो, झापामा थियो, रुकुममा थियो र बागलुङमा पनि थियो । भौतिक संरचना थिएन होला, तर रङ्गशाला चाहिन्छ भन्ने ज्ञान उहिल्यै थियो । हामीभन्दा पछिको पुस्ताका लागि खुला ठाउँ चाहिन्छ भन्ने हेक्का त थियो नि !

रङ्गशाला भनेर जिल्लाजिल्लामा छुट्याइएका ठूला ठूला चौर र खुला मैदानहरू आज कुन अवस्थामा छन् ? गौचरनहरू कसको कब्जामा पुगे होलान् ? हरेक जसो विद्यालयमा आधा दर्जन खेल एकै पटक खेलाउन सकिने आकारका चौर छुट्याइएका थिए । त्यो गाउँको पूरै जनसङ्ख्या अटाउन सक्ने गरी मेला लगाउन पुग्ने ठाउँ विद्यालयसँग थिए । त्यहाँ प्रचण्ड गर्मीबाट बचाउने पीपल र शमीका ठूला ठूला रुखहरू बिर्सिनुभएको छैन होला ।

काठमाडौँमा ३०–४० हजार दर्शक अटाउने रङ्गशाला बनाउने ठाउँ नै बाँकी छोडेनछौं हामीले । आज क्रिकेटको चर्चा छ, भोलि फुटबललाई अर्को ठाउँ चाहिएला । भोलि महानगरसँग पैसा होला । तर बनाउने कहाँ ? यतिसम्म कि हिजो सहज पहुँच भएर घाम ताप्ने एउटा मात्रै टुँडिखेल पनि आज खोसिइसकेछ !

अब बन्ने रङ्गशालामा ३०–४० हजार मान्छे लाइन बस्न मिल्ने ठाउँ छोड्न पर्यो, पार्किङ चाहियो, ट्रेनिंग ग्राउण्ड र शौचालय चाहियो । डेढ़–दुई सय रोपनी खाली जग्गा काठमाडौँमा खोइ त ? जात्रै जात्रा र मेलै मेलाको शहरमा २०–३० हजार मान्छे जम्मा भएर उत्सव मनाउने ठाउँ नै छैन । हिजोका विद्यालय सम्झिनुहोस् र आजका आधुनिक विद्यालयको नक्सा हातमा लिनुहोस् । मैदान र चौतारी त टाढाको कुरो, आगलागी या भूकम्पजस्ता आकस्मिक अवस्थामा सुरक्षाका लागि बाहिर निस्किन सक्ने खुला ठाउँ पनि त्यहाँ छैन । न तपाईंको टोल नजिक मर्निङ वाकमा निस्किन या एक्छिन जम्मा भएर स्वच्छ हावामा सास फेर्ने ठाउँ बाँकी छ । दुःख त केमा छ भने यो हुँदै नभएको होइन, कुनै बेला थियो ।
एउटा रङ्गशाला बनेर समग्र खेलकुद क्षेत्रको विकास हुने होइन । अर्ब खर्चेर एउटा क्रिकेट रङ्गशाला बन्ला । तर त्यहाँ देशका कति युवाले अभ्यास गर्न पाउलान् ? कति विद्यालयका विद्यार्थीले त्यहाँ क्रिकेट सिक्न पाउलान् ? अनि फुटबल, भलिबल, हकी, दौड जस्ता खेलकुदको विकास कसरी होला ?

त्यसका लागि भौतिक संरचना भन्दा पनि सजिलै र पायक पर्ने ठाउँमा खुला मैदान चाहिन्छ । ठाउँठाउँमा पार्क र चौरहरू चाहिन्छ । पचास वर्षअघि सोचिएजस्तो गौचरन र रङ्गशाला चाहिन्छ । खेलाड़ी जन्माउने विद्यालयले हो, र त्यहाँ व्यापार गर्ने सटर होइन, चौर चाहिन्छ ।
र, अझ मनकै कुरो बोल्ने हो भने यस्तो नेता चाहिन्छ, जसले सार्वजनिक जग्गा र खुला ठाउँको महत्व बुझोस्, पार्क र बगैंचाहरूको आवश्यकता बुझोस् र तुच्छ राजनीतिक स्वार्थका लागि भएका त्यस्ता खुला ठाउँलाई कब्जा गर्ने अधमहरूमाथि औंला उठाउन सकोस् । सबै सिध्याइसकेकाले अब बचाउने कुरो छैन, भत्काउने कुरो मात्रै छ भन्ने बुझोस् र हिम्मत गरोस् । आज नबने भोलि बन्छ तर बनाउने ठाउँका लागि भत्किनु जरूरी हुन्छ । द्रव्यपिशाच, लालची र स्वार्थी हुनुको हद नाघिसक्यौं हामीले ! अब सुधार्ने होइन, उधार्ने नेतृत्व चाहिन्छ ! पहिलो समस्या हामी आफै हौँ ! एक लट त हामी आफैं भत्किनु र उध्रिनु जरूरी छ !

प्रकाशित: ३० भाद्र २०८०, शनिबार ०४:११

Leave a Reply