No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मुस्ताङ गल्फको उपाधि श्यामलाई

0

 

म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा शनिबार भएको दोस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि श्याम तामाङले जितेका छन्  । लोमान्थाङ गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा तामाङले ९ होल ३६ पारमा भएको खेलमा एक अण्डर १९ अङ्कका साथ उपाधि जितेका हुन् ।

चार हजार ६४५ मिटर उचाइमा रहेको लोवथाङ गल्फ कोर्समा भएको प्रतियोगितामा पोखराका गल्फर लिलाजङ्ग गुरुङले १८ अङ्क जोड्दै उपबिजेता बनेका रेफ्री भुवन गुरुङले जानकारी दिए ।

महिलातर्फ पोखराकी जुनी गुरुङले १५ स्कोरसहित विजयी भएकी छन् । गत वर्षकी बिजेता काठमाडौंकी गल्फर सुस्मा सिंह १३ अङ्कका साथ दोस्रो भइन् । रविन राना ग्रस च्याम्पियन भएका छन् । समान अङ्क जोडेका याम राना र पीवी राईलाई ब्याककाउण्टमा रवीनले हराए । तीनै जनाले ११ अङ्क जोडेकोमा अन्तिम होलमा रविनले २ अङ्क जोडेपछि उपाधिको छिनोफानो भएको थियो ।

सर्वाधिक बर्डिजको उपाधि आत्मराम सिंखडाले जिते भने लङ्गेष्ट ड्राइभ माधव सिंखडाले प्रहार गरे । सिनियरतर्फको पुरस्कार भने पोखराका ६१ वर्षका बलराम थापाले प्राप्त गरे । थापाले १६ स्कोर गरे । उनी गतवर्षको उपविजेता भएका थिए ।

क्लोजेष्ट टु दि पिन मेजर विजय लामाले पाए । होल इन वान कसैले पनि जित्न सकेनन् । होल इन वानका लागि घोडा र ५० कार्टुन स्याउ पुरस्कार राखिएको थियो । कूल २४ पुरुष र ४ महिला गरी २८ गल्फर सहभागी खेल स्टेवल फोर्ड आधारमा खेलाइएको थियो ।

अघिल्लो वर्ष निर्माण गरिएको कोर्सलाई विश्व गिनिज बुकमा रेकर्ड गराउने प्रयास स्वरुप दोस्रो पटक प्रतियोगिता आयोजना गरिएको खेलका संयोजक तथा पूर्वप्रदेशसभा सदस्य इन्द्रधारा बिष्टले बताए ।

“मुस्ताङ गल्फ कोर्स दर्ता गरेर जग्गा प्राप्तीको प्रक्रिया थालिएको छ”, उनले भने, “नेपालमा नयाँ पहिचान थप्ने सपना अनुसार काम गरिरहेका छौ ।” सर्वोच्च शिखर सगरमाथा र लुम्बिनीसँगै विश्वले अब सर्वाधिक उचाईमा रहेको गल्फ कोर्स रहेको भूमिका रुपमा पनि नेपाललाई चिनाउने लक्ष्य राखिएको विष्टले बताए ।

प्रतियोगिताका विजयी खेलाडीलाई विष्टसँगै लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हुर्वु गुरुङ, नेपाल गल्फ सङ्घका उपाध्यक्ष पवित्रकुमार कार्की लगायतले सुन र चाँदीले लेपन गरिएको ट्रफी वितरण गरे । गल्फलाई व्यवस्थित सञ्चालन गर्न गल्फ सङ्घका केन्द्रीय सदस्य भुवन गुरुङ सहितको प्राविधिक टोली एक साताअघि नै लोमान्थाङ पुगेको थियो ।

विश्वकै उच्च स्थानमा दोस्रो पटक प्रतियोगिता सञ्चालन गरेर कीर्तिमान बनाएको आयोजक लोमान्थाङ गाउँपालिकाले दाबी गरेको छ । यसअघि भारतको सिक्किममा तीन हजार नौ ७० मिटर उचाइमा रहेको याक गल्फ कोर्षलाई सर्वाधिक उचाईमा रहेको गल्फ कोर्ष मान्ने गरिएको थियो ।

लोवाथाङ गाउँपालिकाको केन्द्र लोमान्थाङ बजारदेखि पश्चिम डोल्पा जाने बाटोमा पर्छ । त्यहाँसम्म पुग्न सडक समेत विस्तार भइसकेको छ । करिब तीन किलोमिटर फराकिलो समथर खुल्ला क्षेत्रमा घाँसे मैदानमा गल्फ खेलका लागि मैदान बनाइएको छ ।

गल्फका लागि टि बक्स, फेयर वे र ग्रिन, फ्रन्ट लाइन र ब्याक लाइनको टिबक्सलगायतका संरचना बनाइएको छ । गल्फ खेलमैदान पुग्न लोमान्थाङबाट १२ किलोमिटर सडक यात्रा गर्नुपर्छ । सवारी साधनमा लोमान्थाङबाट तीस मिनेटमा पुग्न सकिन्छ ।

प्रकाशित: ३० भाद्र २०८०, शनिबार १५:४४

Leave a Reply