No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शिक्षकहरुलाई दलको प्रतिनिधि बनाएर राजनीति गर्ने संस्कार बन्द गर्नुपर्छ

0

डा. युवराज संग्रौला ।
राष्ट्रको समृद्धि विज्ञान र प्रविधिमा उच्चतम विकास विना सम्भव छैन । र, त्यसको लागि उन्नत सीपयुक्त शिक्षा चाहिन्छ । शिक्षाले मानिसमा अन्विक्षिकी क्षमता निर्माण गर्छ, र यो जिम्मेवारी शिक्षकले पूरा गर्छ । शिक्षकहरु आन्दोलनमा थिए, उनीहरुलाइ होच्याउने अनेक किसिममा कटु बाणीहरु सामाजिक सन्जालमा आए । मलाई पीडा महसुस हुन्थ्यो, ती टिप्पणी देख्दा । म आज केही भन्न चाहन्छु ।

१. हो, लोकसेवाको जाँच निष्पक्ष छ, धाँधली हुन्न । तर शाखा अधिकृत बनाउने प्रशिक्षण केन्द्र छन्, के पढ्नु पर्ने, के घोक्नु पर्ने सबै कुराका किताब छन् । एउटा सानो संख्या त घोकेरै पास पनि हुन्छ । तर एउटा शिक्षक जो स्कुलमा हुन्छ, उसले अक्षर सिकाउँछ, र सबै भन्दा ठूलो कुरा उसले एउटा बच्चालाई वयस्क हुन सिकाउँछ ।

२. तर त्यो शिक्षक सम्मानविहीन छ । यत्रो संख्यामा शिक्षक बाटोमा आए, के रहरले आए ? स्कुलमा जाँदा थाहा हुन्छ, ‘उनी राहतको कोटामा छन् /छिन्।’ सबै सहर पस्छन्, विदेश जान्छन् । तर यी मास्टरले गाउँ रुँघेका छन् । काठमाडौमा धनीका छोराछोरी, नेताका छोराछोरी, कर्मचारीले र हुनेखानेका छोराछोरी राम्रा स्कुलमा पढ्छ्न् तर यिनै मास्टर हुन् जसले गरीबका छोराछोरीलाई पनि जीवन परिवर्तन गर्ने आशा भर्छन् ।

३. सरकारले आफैं बुझ्नु पर्ने हो । १९५६ को कुरा हो । चाउएनलाई एउटा गाउँमा गएका थिए । त्यहाँ एउटा स्कुल रहेछ र एकजना मास्टर । एउटै कक्षामा उनी तीन वटा तहका केटाकेटी पढांउँदारहेछन् । चाओ क्लासमा पस्छन् । उनका जुत्ता च्यातिएका रहेछन् । चाओले एक जोर जुत्ता किन्न पठाउँछन् । उभिँदा उनका खुट्टा सुन्निएका रहेछन् । चाओ आफैंले जुत्ता लगाइ दिन्छन् । कुरा ठूलो होइन, तर ती मास्टरले राज्यलाई विश्वास गर्छन् त्यसपछि ।

यदि हामीले देश विकास गर्ने हो भने, विद्यार्थीमा उत्पादन र सिर्जनाको चेतना भर्ने हो भने, विद्यार्थीमा देशभक्ति भर्ने हो भने, विद्यार्थीमा नयाँ संस्कृतिको निर्माण र भरोसा भर्ने हो भने, विद्यार्थीमा इनोभेसनको गुण भर्ने हो भने राज्यले गाउँगाउँमा शिक्षकको सम्मान भर्नुपर्छ। त्यसैले शिक्षकहरुलाई दलको प्रतिनिधि बनाएर राजनीति गर्ने संस्कारलाई बन्द गर्नुपर्छ । एक जना नेताले भन्नभएछ, ‘९० प्रतिशत ल्याउनेले शिक्षक हुनुपर्छ।’ हो, तर त्यो ९० प्रतिशत ल्याउनेलाई कसले पढाउँछ ? फेरि जीवनको मर्म त प्रतिशतमा होइन, संसारको अवलोकन गर्न सिकाउने कलामा हुन्छ ।

आन्दोलनमा आउनु भएका शिक्षकप्रति मेरो सम्मान छ । ‘राहत’को अपमान बोकेर भएपनि आफ्नो कर्म गर्नुहोस् । आखिर यो देशको अस्तित्व सुनिश्चित गर्ने तपाईंहरुनै हो, मन्त्री, सचिव, जर्नेल, एसपी, नेता होइन । ‘शिक्षक त्यो हो जो पीडा बोकेर हाँस्न जान्दछ।’

प्रकाशित: ७ आश्विन २०८०, आईतवार ०२:४०

Leave a Reply