No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

स्तन क्यान्सर पत्ता लगाउने उपकरणको विकास

0

पहिरिन मिल्ने अल्ट्राउन्ड उपकरण आफ्नो ब्रा कपमाथि जडान गरिएको कल्पना गर्नुहोस् । तपाईँले एक कप कफी पिइरहँदा त्यसले तपाईँको स्तनमा ट्यूमर छ कि छैन जाँच्न सक्छ । टर्कीका वैज्ञानिक डा कानन दाग्देभराइनले म्यासचूसिट्स इन्स्टिट्यूट अफ टेक्नोलजी (एमआईटी)को मिडिया ल्याबका टोलीहरूसँग मिलेर यो प्रविधि विकास गरेकी हुन् । उनले स्तन क्यान्सरका कारण ज्यान गुमाएकी आफ्नो एक आफन्तको सम्मानमा उक्त उपकरण बनाएकी हुन् । उक्त उपकरणले उच्च जोखिम भएका बिरामीहरूलाई म्यामोग्राम गर्ने उपकरणहरूको बीचमा नियमित अनुगमनको मौका दिन्छ । स्तन क्यान्सर महिलाहरूमा देखापर्ने सबैभन्दा बढी देखिने खालको क्यान्सर हो ।

सन् २०२० मा २३ लाख महिलामा उक्त क्यान्सर देखिएको थियो र छ लाख ८५ हजार जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाउँछ । महिलाहरूको ज्यान लिने दोस्रो प्रमुख कारण स्तन क्यान्सर हो । अमेरिकन क्यान्सर सोसाइटीले स्तन क्यान्सर प्रारम्भिक र प्राथमिक चरणमा नै पहिचान भएको खण्डमा औसत पाँच वर्ष बाँच्ने सम्भावना ९९ प्रतिशत रहेको जनाएको छ । डा दाग्देभराइनले उक्त उपकरणले जीवित रहने प्रतिशत बढाउन सक्ने बताइन् । हाल ढिलो गरी स्तन क्यान्सर पहिचान गरिएका व्यक्ति जीवित रहने सम्भावना २२ प्रतिशत मात्रै छ ।

यो उपकरणले कसरी काम गर्छ ?

एमआईटीका वस्तुसम्बन्धी वैज्ञानिक र इन्जिनियर क्यानन दाग्देभराइनलाई सबैभन्दा पहिला यस्तो उपकरण बनाउने सोच अस्पतालमा आफ्नी आफन्तसँग अस्पतालमा बसिरहेको समयमा आएको थियो । नियमित रूपमा स्तनको जाँच गराए पनि ती आफन्तलाई आक्रामक खालको स्तन क्यान्सर भएको थियो र क्यान्सर पहिचान भएको छ महिनाभित्र उनको मृत्यु भयो । त्यो तन्किने र पुनः प्रयोग गर्न मिल्ने खालको प्याच हो जुन ब्रासँग जोडिएको हुन्छ । यो प्रयोग गर्न अर्को व्यक्तिको सहयोग चाहिँदैन ।

मौरीको चाकाको आकारको उक्त उपकरणमा छवटा स्लटहरू छन् र त्यहाँ बीचमा साना अल्ट्रासाउन्ड क्यामरा राखेर स्तनलाई सबै दिशाबाट हेर्न सकिन्छ । त्यसले ‘अल्ट्रासाउन्ड जेल’ बिनै काम गर्छ । डा दाग्देभराइनका अनुसार उक्त उपकरणले ०.३ सेन्टिमिटर व्यास भएको सिस्ट (गिर्खा)हरूलाई पनि पहिचान गर्न सक्छ। त्यो आकार ट्यूमरको प्रारम्भिक चरणको जत्रै हो । “त्यही भएर त्यसले कुनै पनि अस्वाभाविक कुरा पत्ता लगाउन सक्छ।’

म्यामोग्राम के हो?

स्तन क्यान्सर पहिचान गर्ने सबैभन्दा चल्तीको विधि म्यामोग्राम हो। त्यसमा स्तनको एक्स–रे गरिन्छ । एक्स–रे गर्दा विकिरण शरीरभित्र प्रवेश गर्छ र त्यहाँको तस्बिर खिचिन्छ । तर धेरै देशमा म्यामोग्राम महँगो छ। सरकारी स्वास्थ्य प्रणालीले त्यसको खर्च बेहोरिदिँदैन ।

किन केही महिलालाई स्तनमा दुख्छ ?

‘प्रत्येक व्यक्तिमा निजका स्तन विशिष्ट हुन्छन् र त्यहाँ भित्रको ग्रन्थि र बोसो भएको तन्तुको फरकपन आफ्नै खालको हुन्छ,’ कन्सल्टेन्ट रेडिओग्राफर हेलेन युल भन्छिन् । धेरै ग्रन्थि भएका महिलाहरू बढी बोसो भएका तन्तुसहितको स्तन भएकाहरूको तुलनामा म्यामोग्रामका समयमा असहज महसुस गर्छन्। होर्मन परिवर्तन गर्ने थेरपीले पनि स्तनलाई संवेदनशील बनाउन सक्छ । युलका अनुसार म्यामोग्राम कस्तो हुन्छ भन्ने महिलाहरूको अपेक्षाले पनि भूमिका खेल्छ । म्यामोग्रामको समयमा असहजता रोक्ने केही साधारण उपायहरू पनि छन्। जस्तै महिनावारी हुनुभन्दा एक साता पहिले वा महिनावारीको समयमा म्यामोग्राम गराउने प्रयास गर्नुपर्छ वा त्यसअघि पारासिटामोल सेवन गर्नुपर्छ ।

अल्ट्रासाउन्ड ब्रा कसका लागि हो ?

अध्ययनहरूले ट्यूमरहरू नियमित म्यामोग्राम गर्दा बीचको अवधिमा पनि विकासित हुन सक्ने देखाएका छन्। स्तन क्यान्सरको हकमा त्यस्तो बीचको अवधिमा विकास भएका क्यान्सर २० देखि ३० प्रतिशत छन् । एमआईटीको टोलीले ती ट्यूमरहरू नियमित परीक्षणको समयमा पहिचान हुनेभन्दा अझ आक्रामक हुने गरेको बताएको छ । यो उपकरण स्तन क्यान्सरको उच्च जोखिम भएका महिलालाई उपलब्ध गराउन सकिने र यसले दुईवटा म्यामोग्राम वा स्वयं गर्ने परीक्षणको अवधिबीचको समयमा पनि ट्यूमर आएको थाहा पाउन सघाउने भनिएको छ । तर अनुसन्धानकर्ताहरूले ‘कुनै समस्या देखिए, म्यामोग्राम अझ पनि चाहिने’ उल्लेख गरेका छन् ।

यो उपकरण कहाँ विकास गरियो ?

एमआईटीमा पहिरिन मिल्ने स्वास्थ्य उपकरणहरूका बारेमा काम गरिरहेका टोलीहरूले साढे छ वर्ष लगाएर यो उपकरण विकास गरेका हुन् । अमेरिकामा त्यसलाई पेटन्ट अधिकार दिइएको थियो र अहिले पनि मानवमा परीक्षण चलिरहेको छ । एउटा उपकरणका लागि झन्डै १,००० डलर आवश्यक पर्छ तर आविष्कारकर्ताहरूले ठूलो परिमाणमा उत्पादन हुन थालेपछि मूल्य घट्ने बताएका छन् । यो चारदेखि पाँच वर्षसम्म चल्छ । तपाईँले प्रत्येक दिन स्क्यान गर्नुभयो भने ‘एउटा स्क्यानको मूल्य एक कप कफीको दामभन्दा सस्तो पर्ने’ अनुसन्धान टोलीको आकलन छ ।

महिलाहरूका लागि आशा

अध्ययनहरूले ढिलो गरी स्तन क्यान्सर पहिचान हुने भएकाले र स्वास्थ्य सेवामा पर्याप्त पहुँच नहुने भएकाले विकासशील देशमा स्तन क्यान्सरका कारण धेरै जनाको मृत्यु हुने गरेको देखाएका छन् । डब्ल्यूएचओको तथ्याङ्कले उच्च आय भएका देशमा स्तन क्यान्सरपछिको पाँच वर्ष जीवित रहने सम्भावना ९० प्रतिशतभन्दा बढी देखाउँछ । तर भारतमा त्यो ६६ प्रतिशत र दक्षिण अफ्रिकामा जम्मा ४० प्रतिशत मात्रै छ । यो उपकरणलाई शरीरका अन्य अङ्ग स्क्यान गर्न पनि प्रयोग गर्न सकिन्छ । डा दाग्देभराइनले पोहोर आफू गर्भवती हुँदा बच्चालाई स्क्यान गर्न त्यसको प्रयोग गरेकी थिइन् । ‘मेरी आन्टी जम्मा ४९ वर्षमै बित्नुभयो। मर्ने कुरा उहाँको मनमा कतै आएको थिएन। उहाँले त्यस्तो ब्रा लगाएको भए कस्तो हुन्थ्यो होला?’ उनी भन्छिन् ।

आइलिन याजन
बीबीसी

प्रकाशित: ६ कार्तिक २०८०, सोमबार ०३:०२

Leave a Reply