No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पाठेघरको मुखको क्यान्सरको उपचारमा पछिल्लो २० वर्षको सबैभन्दा ठूलो उपलब्धि

0

पाठेघरको मुखको क्यान्सरको उपचारमा पछिल्लो २० वर्षको सबैभन्दा ठूलो उपलब्धि हासिल भएको वैज्ञानिकहरूले बताएका छन् । प्रचलित रेडियोथेरापी उपचारभन्दा लगत्तै अघि पहिल्यै विद्यमान सस्तो औषधिकै प्रयोग गरेर यस्तो उपचार हुने उनीहरूको भनाइ छ । युरोपियन सोसाइअटी फर मेडिकल अङ्कलजी (ईएमएसओ)को सम्मेलनमा सार्वजनिक गरिएको परीक्षणको नतिजाअनुसार यस तरिकाको उपचारले यस रोगबाट महिलाको मृत्यु हुने वा रोग फर्कने जोखिम ३५ प्रतिशतले कम हुन्छ । यस अध्ययनमा लगानी गरेको क्यान्सर रिसर्च यूकेले यस नतिजालाई “उल्लेखनीय“ भनेको छ । उपचार केन्द्रहरूले आफ्ना बिरामीहरूका लागि छिट्टै यही विधिको प्रयोग सुरु गर्ने उसको अपेक्षा छ।

पुरानो औषधिको नयाँ प्रयोग
पाठेघरको मुखको क्यान्सरबाट विश्वमा हरेक वर्ष लाखौँ महिलाहरू प्रभावित हुने गरेका छन्। रेडियोथेरापी उपचारमा सुधार भए पनि करिब एक तिहाइ बिरामीमा क्यान्सर फर्कने गरेको देखिएको छ। अर्थात् यसको उपचारका लागि नयाँ विधि अत्यन्त आवश्यक भइसकेको छ । क्यान्सर रिसर्च बेलायतका डा इअन फक्सले भने, ‘क्यान्सरको उपचारमा समय नै सबै थोक हो । विभिन्न अन्य क्यान्सरको हकमा शल्यक्रिया र रेडिओथेरपीजस्ता अन्य उपचारभन्दा अघि कीमोथेरपीका अतिरिक्त चरणहरूको महत्त्व देखाउने प्रमाणहरू बढ्ने क्रममा छन्। यसले क्यान्सर फेरि देखिने सम्भावनालाई मात्र कम गर्दैन, बरु यसलाई संसारभरि पहिले नै उपलब्ध औषधिको प्रयोग गरी छिटो गर्न पनि सकिन्छ।’

‘पाठेघरको मुखको क्यान्सरको उपचारमा यस परीक्षणले ल्याउन सक्ने थप सुधारबारे हामी उत्साहित छौँ र हामीलाई आशा छ कि उपचार केन्द्रहरूमा इन्डक्शन कीमोथेरपीका छोटा प्रक्रियाहरू तीव्र गतिमा अपनाइनेछ।’

अध्ययन
यस अध्ययनमा पाठेघरको मुखको क्यान्सर भएका २५० महिलाहरूलाई नयाँ उपचार प्रक्रियामा सामेल गरिएको थियो । सुरुको ६ हप्तासम्म कार्बोप्लाटिन र प्याक्लिट्याक्सल औषधिको प्रयोग गरी कीमोथेरपीको एक सघन प्रक्रियापछि रेडिओथेरपीको प्रचलित उपचार गरिएको थियो। यसका अतिरिक्त साप्ताहिक रूपमा सिस्प्लाटिन र ब्राकेथेरपी पनि गरिएको थियो, जसलाई कीमोरेडिएशन भनेर पनि चिनिन्छ । ‘कन्ट्रोल ग्रुप’ भनिएको अन्य २५० जना महिलाहरूलाई भने प्रचलित कीमोरेडिएशनमा मात्र सहभागी गराइयो ।

पाँच वर्षपछि नयाँ उपचार पद्धतिमा सामेल भएकामध्ये ८० प्रतिशत जीवित नै रहे भने ७३ प्रतिशतमा क्यान्सर फर्किएको वा फैलिएको पाइएन । प्रचलित उपचार पद्धतिमा सामेल समूहमा भने ७२ प्रतिशत बिरामी जीवित नै रहे र ६४ प्रतिशतको क्यान्सर फर्किएको वा फैलिएको थिएन ।

सबैभन्दा ठूलो सुधार
यूनिभर्सटी कलेज लन्डन क्यान्सर इन्स्टिट्यूटकी मुख्य अनुसन्धानकर्ता डा म्यारी म्याक्कोर्म्याकले भनिन्, ‘हाम्रो परीक्षणले के देखाएको छ भने स्ट्यान्डर्ड कीमोरेडिओथेरपीभन्दा लगत्तै अघिको अतिरिक्त कीमोथेरपीको छोटो प्रक्रियाले क्यान्सर फर्कने वा त्यसबाट मृत्यु हुने जोखिम ३५ प्रतिशतले घट्छ । यस रोगबारे पछिल्लो २० वर्षमा प्राप्त नतिजाहरूमध्ये यो सबैभन्दा ठूलो सुधार हो।

उनले भनिन्, ‘यहाँ महत्वपूर्ण कुरा के छ भने यदि बिरामीहरू जीवित र स्वस्थ छन् अर्थात् पाँच वर्षसम्म क्यान्सर फर्किएन भने उनीहरूलाई निको हुने सम्भावना अधिक हुन्छ। यसै कारण यो अनुसन्धान उत्साहजनक भएको हो।’

कीमोथेरपीमा प्रयोग हुने उल्लिखित दुई औषधिहरू सस्ता, सहज उपलब्ध र बिरामीले प्रयोग गर्न स्वीकृत भइसकेकाले उनीहरू छिट्टै नै उपचारको नयाँ मानकका रूपमा स्थापित हुन सक्ने विज्ञहरूको भनाइ छ । यद्यपि पाठेघरको मुखको क्यान्सर भएका हरेक महिलाले यस उपचार पद्धतिबाट उही लाभ तथा उपलब्धि हासिल गर्न नसक्ने सम्भावना पनि रहेको उनीहरू बताउँछन्।

अध्ययनमा सहभागी कतिपय महिलामा क्यान्सर शरीरको अन्य भागमा फैलन सुरु गरेकै थिएन। रोगको स्तर अझ विकसित भइसकेका महिलाहरूका लागि यस उपचार पद्धतिले कस्तो काम गर्छ भन्ने स्पष्ट भइसकेको छैन । यी औषधिले वाक्वाकी लाग्ने तथा कपाल झर्नेलगायत अवाञ्छित साइड इफेक्ट पनि गर्न सक्छन् ।

मिशेल रोबर्ट्स
बीबीसी

प्रकाशित: ८ कार्तिक २०८०, बुधबार ०२:१८

Leave a Reply