No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अन्नपूर्ण आधार शिविर पुगेर गुटेरेसले भने-जलवायु परिवर्तनले नेपाललाई पारेको असरबारे अन्तर्राष्ट्रिय फोरममा कुरा उठाउँछु

0

गण्डकी । नेपालको औपचारिक भ्रमणका क्रममा सोमबार पोखरा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिए गुटेरेसले मंगलबार अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका छन् ।

मंगलबार बिहान उनी नेपाली सेनाको होलिकोप्टरमार्फत अन्नपूर्ण आधार शिविर गएका हुन् । अन्नपूर्ण आधार शिविरमा पुगी उनले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेका असर, हिमालको अवस्थालगायतका विषयमा स्थानीयसँग संवाद गरेका थिए । त्यक्रममा स्थानीयले आफूहरूले भोगेका समस्या गुटेरेसलाई सुनाएका थिए ।

गाउँपालिकाका अध्यक्ष विष्णु केसीले जलवायु परिवर्तनका समग्र असरबारे जानकारी गराएका थिए भने वडाध्यक्ष हिमबहादुर गुरुङले सानोमा खर्कमा पशु चराउन जाँदाको अनुभव सुनाएका थिए । महासचिव गुटेरेसले विकसित देशका कारण जलवायु परिवर्तन भएको बताए । नेपालको समस्याबारे अन्तर्राष्ट्रिय फोरममा कुरा उठाउने पनि उनले बताएका छन् ।

पदयात्रा पर्यटनमा विश्वमा नै चासो र चर्चा हुने गन्तव्य हो अन्नपूर्ण आधार शिविर । हिमाल आरोहणका क्षेत्रमा सबैभन्दा जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण हिमालका परिधिमा गरिने पदयात्रा विश्वका उत्कृष्ट पदयात्रा मार्गमध्येमा पर्दछ । अन्नपूर्ण आधार शिविरमा विशेषगरी युरोप, अमेरिकाका साथै मलेसिया, चीन, कोरियालगायतका देशका नागरिक बढीमात्रामा आउने गरेका छन् ।

फ्रान्सका हिमाल आरोही मोरिस हर्जोगले सन् १९५० जुन ३ मा सर्वप्रथम अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँँगै विश्वमै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै यो क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

समुद्री सतहदेखि चार हजार एक सय ३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा एरिक सिप्टनले गर्नुभएको पदयात्राले यहाँको पदयात्रा पर्यटन अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

अन्नपूर्ण हिमालको गरिमा र महत्वलाई उजागर गर्नका लागि प्रत्येक वर्षको अन्नपूर्ण आरोहण दिवसका अवसरमा अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्नपूर्ण म्याराथन गर्दै आइएको छ ।

धार्मिक एवं सांस्कृतिकरूपले महत्वपूर्ण मानिने अन्नपूर्ण आधार शिविर पदमार्गमा पर्ने बुद्धशिला, पुजनीय बराह र यहाँबाट देखिने एक सय आठ धारासहितका धार्मिकस्थलले पनि यहाँको महिमा र गरिमा अझै बढाएको छ ।

प्रकाशित: १४ कार्तिक २०८०, मंगलवार ०४:३४

Leave a Reply