No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नुवाकोट र रसुवामा निर्माण गरिएका दुईवटा सवस्टेसन उद्घाटन

0

काठमाडौँ । नेपाल–जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३/११ केभी क्षमताका दुईवटा विद्युत् वितरण सवस्टेसनको उद्घाटन गरिएको छ ।

जर्मन सरकारद्वारा केएफडब्लु विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातामाटे र रसुवाको कालिका गाउँपालिकास्थित कालिकास्थानमा निर्माण गरिएका विद्युत् वितरण सवस्टेसनको उद्घाटन गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र केएफडब्लुका नेपाल तथा बङ्गलादेश क्षेत्रीय कार्यालयका निर्देशक माइकल समशेर हेलिस्टनले संयुक्तरुपमा रातामाटे सवस्टेसन उद्घाटन गरे ।

यसैगरी, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र केएफडब्लुका दक्षिण एशियाका लागि उपनिर्देशक क्रिस्टोफ क्रिगरले संयुक्तरुपमा कालिकास्थान सवस्टेसनको उद्घाटन गरेका थिए । उक्त सवस्टेसनबाट स्थानीयरुपमा विद्युत् आपूर्ति दिइएको छ ।

जर्मन सरकारले केएफडब्लु विकास बैंकमार्फत २०७२ सालको विनाशकारी भूकम्पपछि नुवाकोट र रसुवाको विद्युत् वितरण प्रणाली सञ्जाल पुनःनिर्माण, विस्तार तथा सुदृढीकरणका लागि ५० लाख युरो (करिब ७० करोड) अनुदान रकम दिएको थियो ।

उक्त अनुदान रकमबाट दुईवटा वितरण सवस्टेसन, ३३ केभी, ११ केभी र एलटी लाइन निर्माण गरिएको छ । यसबाट दुई जिल्लाका एक हजार दुई सयभन्दा बढी घरधुरीले भरपर्दो विद्युत् उपभोग गर्न पाउने छन् ।

उद्घाटनमा कार्यकारी निर्देशक घिसिङले नेपालको जलविद्युत्, प्रसारण र वितरणतर्फका आयोजना निर्माणमा केएफडब्लको ठूलो सहयोग रहेको उल्लेख गर्दै सवस्टेसन निर्माणबाट त्यस क्षेत्रका उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति पाइरहेको बताए । उनले विद्युत् आपूर्ति सुधार भएपछि यस क्षेत्रमा घरेलु उद्योग खोल्न प्रोत्साहन मिल्ने बताए ।

केएफडब्लुका हेलिस्टर्न र क्रिगरले नेपाल र जर्मनीबीचको सम्बन्ध ६० वर्षभन्दा बढी पुरानो रहेको ऊर्जा क्षेत्रमा ४० वर्षदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै अब विद्युत् प्रसारण र वितरणतर्फ सहयोग गर्ने बताए ।

प्रकाशित: १७ कार्तिक २०८०, शुक्रबार ०८:१३

Leave a Reply