No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

संविधानको कार्यान्वयन र सङ्घीयताको विषयमा छिटफुट गुनासालाई स्वभाविक मान्नुपर्छः सभापति देउवा

0

गलकोट (बागलुङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस अहिलेको परिस्थितिमा एक ढिक्का भएर अघि बढेको बताएका छन् ।

नेपाली कांग्रेस बागलुङले शुक्रबार आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसमा पहिलाजस्तो गुनासो नभएको भन्दै छिटफुट गुनासोलाई सम्बोधन गर्दै जाने उल्लेख गरे ।

सभापति देउवाले नेपालको संविधान कार्यान्वयनकै चरणमा रहेको भन्दै आलोचना गर्न नहुने बताए । “नेपालको संविधानको कार्यान्वयन र सङ्घीयताको विषयमा छिटफुट गुनासालाई हामीले स्वभाविक मानेका छौँ”, सभापति देउवाले भने, “वर्तमान संविधान पूर्ण कार्यान्वयनमा जान्छ त्यसमा कुनै शङ्का गर्न पर्दैन । नेपालको संविधान उत्कृष्ट संविधान हो, यसको कार्यान्वयनमा आएका केही समस्या हामी समाधान गरेर अगाडि बढ्छौँ ।”

देउवाले नेपाली कांग्रेस पुनः सङ्गठित र थप मजुबद हुँदै जिल्ला सम्मेलन आयोजना गर्नु सुखद् पक्ष रहेको बताए । नेपाली कांग्रेसले वडादेखि जिल्ला सम्मेलनमार्फत कांग्रेस थप मजबुद हुने बताउँदै जिल्ला सम्मेलन आयोजना गर्ने बागलुङ कांग्रेसलाई धन्यवाद दिए ।

उनले पछिल्लो समय बागलुङमा मात्रै नभएर देशभर कांग्रेसप्रतिको जनलहर बढिरहेको दाबी गरे । नेपाली कांग्रेस विकास र समृद्धिको पक्षमा सदैव रहने भन्दै राजनीतिक प्रतिशोधका आधारमा कसैलाई गाली गर्न नहुने बताए ।

सो अवसरमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि नेपाली कांग्रेसले ठूलो योगदान गरेको बताए । कांग्रेस पार्टीलाई बलियो बनाउन जनस्तरबाटै नेता, कार्यकर्ता लाग्नु पर्ने भन्दै नेताहरु पनि उत्तरदायी र जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए ।

सो अवसरमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको असल कार्यान्वयनमा अझै पनि केही समस्या रहेको बताए ।  सिटौलाले मुलुक  सङ्घीय संरचनामा गइसकेपछि प्रदेश र स्थानीय तहले केन्द्रीय सरकारकै मुख ताक्नुपर्ने अवस्था आउन नहुने बताए । “संविधानले परिकल्पना गरेको सङ्घीयता संरचनाअनुसार स्वायत्त स्थानीय तह बनाउन कांग्रेसले निर्णायक भूमिका खेल्नु पर्छ”, उनले भने ।

प्रकाशित: १७ कार्तिक २०८०, शुक्रबार ११:३२

Leave a Reply