No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मनास्लु क्षेत्र विदेशी पर्यटकको रोजाइमा

0

गोरखा । पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको लागि मनास्लु क्षेत्र रोजाइमा पर्ने गरेको छ । गोरखा सदरमुकामबाट बूढीगण्डकी नदीको तिरैतिर भई पाँच हजार एक सय पाँच मिटर उचाइको लार्के भञ्ज्याङ नाघेर लामो पदयात्रापछि यस क्षेत्रमा पुग्न सकिन्छ । चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु क्षेत्रमा प्राकृतिक सुन्दरता मात्र नभएर सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको पर्यटकीय क्षेत्र हो ।

मनास्लु क्षेत्रमा भ्रमणका लागि पुगेका विदेशी पर्यटकबाट करिब रु दुई करोड २८ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा मात्र मनास्लु क्षेत्र संरक्षण आयोजना कार्यालय (एमक्याप) ले मनास्लु क्षेत्र घुम्न गएका पर्यटकबाट एक वर्षमा  दुई करोड २७ लाख ९७ हजार राजस्व सङ्कलन गरेको हो ।

मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालयले मनास्लु घुम्न जाने सार्क राष्ट्रका पर्यटक र अन्य विदेशी पर्यटकबाट प्रवेश शुल्क लिने गर्दै आएको छ । “कार्यालयले सार्क राष्ट्रका पर्यटकबाट प्रतिव्यक्ति एक हजार शुल्क उठाउने गरेको छ”, कार्यालयका प्रमुख सन्तोष शेरचनले भने, “त्यसबाहेक अन्य विदेशी पर्यटकबाट प्रतिव्यक्ति  तीन हजार लिने गरिएको छ ।”

गत आर्थिक वर्षमा मनास्लु क्षेत्रमा सार्क राष्ट्रबाट घुम्नका लागि पुगेका एक सय ५९ पर्यटकबाट कूल एक लाख ५९ हजार राजस्व सङ्कलन भएको थियो । त्यस्तै अन्य विदेशी पर्यटकबाट दुई करोड २६ लाख ३८ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

चालु आवमा पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएकाले राजस्व संकलनमा बृद्धि हुने अनुमान गरिएको प्रमुख शेरचनले जानकारी दिए । चालु आर्थिक बर्षको साउनदेखि असोजसम्म मात्र मनास्लु क्षेत्र पुगेका पर्यटकहरुबाट प्रवेश शुल्क वापत ८५ लाख ९ हजार रुपैया राजस्व संकलन भइसकेको छ ।

साउनदेखि असोजसम्मको अवधीमा मनास्लु क्षेत्रमा सार्क राष्ट्रका ९७ जना र सार्क राष्ट्रबाहेकका अन्य राष्ट्रबाट दुई हजार आठ सय चार जना गरी कूल दुई हजार नौ सय तीन जना पर्यटक त्यहाँ पुगेका छन् ।

प्रकाशित: २० कार्तिक २०८०, सोमबार ०२:५४

Leave a Reply