जेपी गुप्ता ।
अकाल तथा भोकमरी, भूकम्प, बाढीपहिरो, आगलागी, रोग व्याधिको संक्रमण र अन्य प्राकृतिक विपदहरू कतिपय मानवीय असावधानीले घटित हुन्छ । कतिपयको कुनै पूर्वसूचना हुन सक्दैन । केही राज्य संचालनको त्रृटी तथा अर्थ व्यवस्थाका गल्तीले हुन्छ । केहीलाई रोक्न सकिन्छ, केहीलाई रोक्नु असम्भव मानिन्छ । तर, यसबाट हुने मानवीय तथा भौतिक क्षतिलाई भने कम पार्न सकिन्छ–आजको संसारमा अनेकन् अनुभव तथा शोधहरूले यसलाई सिद्ध गरेको छ । यस सन्दर्भमा हालसम्मका सबैभन्दा उल्लेख्य शोध अर्थशास्त्री अमर्त्य सेनको हो । सन् ३० को दशकमा भारतको विशेषतः बंगालमा केन्द्रित अकाल तथा भोकमरी जसमा लाखौं मानिसको मृत्यु भएको थियो–यसमा केन्द्रित रहेर अमर्त्य सेनको शोधको निष्कर्ष राज्यको व्यवस्थापन कलासँग सम्बन्धित छ । यस शोध वापत डा. सेनलाई नोवेल पुरष्कार दिइयो । उनको मान्य तर्क रहेको छ कि यदि राज्यले उचित व्यवस्थापन गर्न सक्यो भने प्राकृतिक भनिने कतिपय बिपदलाई हुनबाट रोक्न नसकिएपनि त्यसबाट हुने मानवीय एवं भौतिक क्षतिलाई भने कम पार्न सकिन्छ।
हालैको एउटा उदाहरण लिऊँ । भूकम्प विनाशको समाचार फैलिनासाथै दुबै छिमेकी मित्र राष्ट्र चीन र भारतले क्रमशः १० करोड र १६ करोड रूपैयाँ बराबरको राहत सामाग्री नेपाल पठाए । यी सामाग्रीहरू नेपाललाई हस्तान्तरण भएका तस्बिरहरु संचार माध्यममा आयो । दुबै मित्र राष्ट्रका नेपालस्थित दूतावासहरूले जनाए अनुसार राहत सामग्रीको मुख्य अंश त्रिपाल, टेन्ट, कम्बल तथा आपतकालिन औषधिको छ । यी सामग्रीहरू आज पर्यन्त जाजरकोट तथा विपद् प्रभावित क्षेत्रमा पुर्याउन सकिएको छैन । आजैको समाचार पत्रहरूमा छापिएको छ कि त्यसक्षेत्रका प्रभावित समुदायले यथोचित टेन्ट र कम्बल पाएका छैनन्, बढदो जाडोको सामना गर्नु परिरहेको छ । यस समाचारको गहिराइमा विचार गर्दा सरकारको वितरण क्षमता अत्यन्त कमजोर एवं असक्षम रहेको बुझिन्छ । असक्षमताको यस पक्षलाई अनेकौ सन्दर्भहरूमा जान्न सकिन्छ। यो बडो महत्वपूर्ण कुरो हो । बंगालको अकाल एवं भोकमरीमा अमर्त्य सेनले बडो मिहिन रूपमा यस कुरोलाई उठाएका छन् कि खाद्यान्न हुँदाहुदै पनि मानिसहरू भोकले, खान नपाएर लाखौंको संख्यामा मरे ।
बि.स. २०४५, ०७२ को भूकम्पले पुर्याएको ‘भौतिक क्षति’को विवरण/तथ्यांक राज्य तथा नागरिक क्षेत्रमा उपलब्ध छ । अहिलेको भूकम्पको ‘भौतिक क्षति’ को विवरण पनि सार्वजनिक हुँदैछ । मानवीय क्षतिको लगभग विवरण सार्वजनिक भैसकेको छ। यस तीन वटा भुकम्पबाट समाजका कुन वर्ग, अर्थात् कस्तो आर्थिक हैसियतका जनता बढी प्रभावित भए ? नेपालको सुदूरपश्चिम क्षेत्र तथा भारतका उत्तराखण्ड, हिमाचल प्रदेश, कश्मीर, राजस्थान, पंजाब र दिल्ली आदि क्षेत्रलाई ठुलो नोक्सानी पुर्याउन सक्ने क्षमताको भूकम्प आउन सक्ने भूगर्भविदको प्राविधिक आंकलन बि.स. २०४५ पछि निरन्तर आइरहेको छ। यस सचेतताको कति प्रभाव हाम्रो निर्माण क्षेत्रमा परेको छ र ? केही वर्षअघिको, २०७२ को विनाशले दिएको शिक्षा राज्य र जनता दुबैले बिर्सिसके । यसर्थ, विनाशको हकमा यस बिषय उपर छलफल हुनु जरूरी छ कि बढी विनाशको एक मुख्य कारण गरिबी हो । बिगत दुई भूकम्पपछि नजरअन्दाज गरिएपनि, यसपटक भने चर्चा गरौं कि भौतिक संरचनामा बढी क्षति भएर मानवीय क्षति बढ्नुमा भूकम्प र गरिबीका बीच के सम्बन्ध छ ?