No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अब पप्पुले बनाउनेछन् एमाले पार्टी र बबई पुल !

0

काठमाडौं । केही समयअघि नेकपा माओवादी केन्द्रमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेकपा एमालेले पार्टी प्रवेश गरायो । पार्टी प्रवेश गराएपछि प्रसाईंलाई एमालेले केन्द्रीय सदस्य पनि बनायो । तर प्रसाईं अहिले एमाले परित्याग गरी एमालेविरुद्ध नै खनिएका छन् । एमाले परित्याग गरी एमालेविरुद्ध प्रसाईं खनिएका बेला एमालेले अर्का विवादास्पद व्यवसायी, नेता एवं पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई पार्टीमा भित्राएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रायः भनिरहन्छन् भ्रष्टाचारीको मुखै हेर्दिन, अनि एमाले अरू जस्तो भ्रष्टाचार गर्नका लागि राजनीति गर्ने पार्टी पनि होइन ।

एमाले अध्यक्ष ओलीले यस्तो बताइरहँदा मंगलबार एकजना विवादास्पद नेतालाई आफ्नो पार्टी प्रवेश गराएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पार्टी परित्याग गरी हैरानी दिइरहेका बेला एमालेले देशभर दर्जनौँ निर्माण ठेक्का अलपत्र पारेर बदनामी कमाएको पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार एमाले प्रवेश गराएको हो । रौनियारलाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष ओली पर्साको पोखरीया पुगेका थिए । प्रसाईंलाई एमाले अध्यक्ष ओलीले पार्टीको केन्द्रीय सदस्य मनोनीत गरेका थिए । तर पछिल्लो समय पार्टीसँग असन्तुष्ट प्रसाईं पूर्वराजासँग नजिकिएर एमालेविरुद्ध लागे । अन्ततः एमालेले पार्टीबाट निस्कासन नै गर्नुपर्यो ।

अहिले प्रसाईं एमाले अध्यक्ष ओलीविरुद्ध गम्भीर आरोप लगाइरहेका छन् । ७ मंसिरमा उनले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् भने एमालेनिकट युवा संघले उनको प्रदर्शनलाई काउन्टर दिने गरी सोही दिन प्रदर्शन गर्दैछ । यस्तो बेला एमालेले फेरि अर्का विवादास्पद नेतालाई किन आफ्नो पार्टीमा भित्रायो भन्ने प्रश्न उठेको छ । बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल बन्नासाथै भत्किएपछि भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ असोजमा दायर गरेको भ्रष्टाचार मुद्दामा २०७९ वैशाखमा विशेष अदालतले रौनियारलाई दोषी ठहर गरेको थियो ।

रौनियार र उनका छोरा सुमितमाथि विशेष अदालतले जनही तीन करोड ६२ लाख २९ हजार रुपैयाँ विगो र जरिवाना सजाय सुनाएको थियो । २०७४ मा तत्कालीन जनता समाजवादी पार्टीका तर्फबाट पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएपनि रौनियार यही भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेका थिए । कमजोर गुणस्तरको निर्माण, काममा चरम ढिलासुस्ती र जताततै ठेक्का लिएर आयोजनाहरु अलपत्र पार्ने क्रम बढेपछि उनले २०७५ मै कम्पनीबाट आफू अलग भएको घोषणा गरेका थिए ।

तर, राजनीतिक आडमा रौनियारको कम्पनीले क्षमताभन्दा बढीको ठेक्का पाइरह्यो । जसका कारण उहाँको कम्पनीको काम ढिला मात्रै भएन, गुणस्तरहीन हुने क्रम बढ्दै जाँदा राज्यले अर्बौंको क्षति ब्यहोर्नुपरिरह्यो । त्यो मात्र होइन रौनियारको पप्पु कन्स्ट्रक्सन गत असोजमा मात्रै अर्को भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेको छ । विशेष अदालतले काठमाडौंमा टेकु–कालीमाटी जोड्ने विष्णुमती नदीमाथिको पुल गुणस्तरहीन तवरले बनाएर भ्रष्टाचार गरेको ठहर गरेको छ । बनेर पनि अलपत्र भएको यो पुलको भ्रष्टाचार मुद्दामा रौनियारका छोरा सुमितलाई एक करोड १४ लाख ७६ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ ।

रौनियारको पप्पु कन्स्ट्रक्सनलाई सरकारका विभिन्न निकायको सिफारिसमा पटक–पटक कालोसूचीमा राखिएको छ । कालोसूचीमा परेका कारण पप्पु कन्स्ट्रक्सनले सन् २०२५ सम्म नयाँ ठेक्का लिन पाउने अवस्था छैन । यति धेरै विवादमा जेलिएका पात्रलाई एमालेले किन पार्टीमा ल्यायो त ? सवैको चासोको विषय बनेको छ । पार्टी प्रवेश कार्यक्रममा रौनियारले देश र जनताको समृद्धिको सापेक्ष दृष्टिकोण एमाले र अध्यक्ष केपी ओलीमा मात्र देखिएकाले एमालेमा प्रवेश गरेको बताए भने ओलीले पनि रौनियारको प्रसंसा गर्दै मधेशमा एमाले झनै बलियो हुने बताए । अरु सम्बन्ध जे होला तर भ्रष्टाचारीको मुखै हेर्दिन भन्ने नेताले राज्यलाई करोडौं अर्बौं घाटा लगाएर काम नगरेको भन्दै अदालतले दोषी ठहर गरेको व्यक्तिलाई पार्टी प्रवेश गराएर प्रसंसा गरेको चाहिँ सुहाएन है । के अब पप्पुले अब एमाले पार्टी र भत्केको पुल दह्रो बनाउलान् त ?

 

 

प्रकाशित: ६ मंसिर २०८०, बुधबार १२:०९

Leave a Reply