No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रसाईंको धक्काले ढल्ला त गणतन्त्र ?

0

नारायण गाउँले ।
लाग्छ, एमाले भन्ने सबैभन्दा ठूलो राष्ट्रिय दल आज दुर्गा प्रसाईं भन्ने व्यक्तिसँग लड्दैछ । यता महेश बस्नेत साउथ इण्डियन सिनेमाका टोले गुण्डाजस्ता देखिएका छन् भने उता केपी ओली अदालतबाटै भ्रष्टाचार ठहर भएर सांसद पद गुमाएका पप्पू कन्स्ट्रक्शनका मालिकलाई देशले चिन्न नसकेको महान् नेता भन्दै पार्टी प्रवेश गराउँदै छन् । जबकि हिजो मिस्टर पप्पूलाई संसदभित्र र बाहिर भ्रष्ट र अपराधी भन्दै कारवाहीको माग गर्ने उनै थिए । हिजो पहुँच र कमिशनको बलमा पाएका क्षमताभन्दा ठूला ठेक्का, बनेको भोलिपल्ट भत्किएका पुलहरू, अलपत्र सरकारी प्रोजेक्टहरू, गुणस्तरहीन काम भनेर आएका छानबिन प्रतिवेदनहरू र आफ्नै सरकारले कालोसूचीमा राखेका घटनाहरू आज ओलीको एकल निर्णयले एकाएक विकासवादी भएर आएका छन् । अब उनले पाउने ठेक्का विकासवादी हुनेछ । स्मरण रहोस्, दुर्गा प्रसाईं पनि ओलीजीकै एकल निर्णयमा एमालेका केन्द्रीय सदस्य बनाइएका व्यक्ति हुन् । एमालेले दाबी गरेजस्तै प्रसाईं डाँका हुन्, अपराधी हुन् भन्ने कुरो एकछिन पत्याऊँ । तर दुर्गा प्रसाईं जे हुन्, प्रचण्ड र ओलीकै उत्पादन हुन् ।

तपाईंलाई कमजोर धितो र प्रोजेक्टमा ब्याङ्कले एक लाख या करोड़ ऋण पत्याउला, अर्बौं रुपियाँको ऋण पत्याउन्न । पूर्वाधार र डीपीआर नै नभई सर्प पाल्छु भनेर पैसा माग्न जानुभयो भने दुई करोड होइन, दुई सय रूपियाँ कुनै नागरिकलाई सरकारले दिँदैन । एमालेको महाधिवेशनमा कैयौं निष्ठावान् कार्यकर्ताले चुनावसम्म त लड्न पाऊँ भन्दा पाएनन्, तर डाँका भनिने दुर्गा प्रसाईं कसरी केन्द्रीय सदस्य भए ? उनलाई धरौटीबिनै ऋण दिन ब्याङ्कहरूलाई दबाब दिने प्रचण्ड र ओली के हुन् ? एउटा ‘अपराधी’लाई पार्टीको कभर दिएर लाभ लिने र दिने के हुन् ? ती पनि अपराधी होइनन् ? के करोडौंको नजराना दिन सक्दासम्म असल र दिन नसक्दा मान्छे खराब हुन्छ ? के उनी अपराधी हुन् भने प्रचण्ड र ओली पनि त्यो अपराधका हिस्सा होइनन् ?

कुनै व्यक्तिले प्रदर्शन गर्छु, आन्दोलन गर्छु भन्दा ऊविरुद्ध सिङ्गो पार्टीले काउन्टर प्रदर्शन गर्ने भन्ने हुन्छ ? एउटा राष्ट्रिय दलले नियोजित रूपमैं कुनै एउटा प्रदर्शनलाई कसरी हिंसात्मक बनाउन सकिन्छ भनेर लाग्न मिल्छ ? राजतन्त्रमा राजाविरुद्ध आवाज लगाउनेहरूले लोकतन्त्रमा लोकको आवाज निषेध गर्न मिल्छ ? हिजो झण्डा बोकेर आफैंले प्रदर्शन गरेको ठाउँ आज निषेधित क्षेत्र भन्न मिल्छ ? महिनौं लामो निषेधित क्षेत्र, पाँच जनाभन्दा बढी भेला हुन नपाउने उर्दी र सिङ्गो राज्य र पार्टी संयन्त्र एउटा व्यक्तिप्रति खनिन सुहाउँछ ? लोकतन्त्रमा सरकारले विरोध प्रदर्शनहरूलाई त अझ सहजीकरण गर्ने हो, टेक्ने ठाउँ नै नराखेर निषेध गर्ने होइन ।

के दुर्गा प्रसाईंले एक्लै काँधमा बोकेर राजालाई नारायणहिटी लैजान सक्छन् ? सक्दैनन् भने एउटा व्यक्तिलाई रोक्न यो ठूलै राष्ट्रिय आपत–विपत् जस्तो निषेध र गुण्डागर्दी किन ? होइन, लोक पनि उत्रिने डर हो भने लोकलाई नै निषेध गर्ने लोकतन्त्र किन ? हामी लोकप्रिय छौं, व्यवस्था लोकप्रिय छ र हामी नै व्यवस्थाका रक्षक हौं भन्ने लाग्छ भने आफ्ना कार्यकर्ता र भोटरलाई त्यो प्रदर्शनमा नजाने सुझाव दिए पुग्दैन ? लोक नै नभए पछि, त्यो नाथे प्रसाईंले के गर्छन् ? होइन, लोक त हामीसँग छैन भन्ने लाग्छ भने पुलिस र पार्टीका केही दर्जन गुण्डाको भरमा गणतन्त्र कसरी जोगिएला र ? तपाईंलाई लाग्दैन ? गणतन्त्र यति कमजोर देखिएको दुर्गा प्रसाईंले गर्दा होइन, यसकै ठेकेदारहरूले गर्दा हो । के तपाईलाई थाहा छ, संसदमा सरकारले ठूला प्रोजेक्ट र लगानीमा भ्रष्टाचार गरेको छ कि छैन भनेर जाँचबुझ गर्ने समितिमा को छ ? सत्तरी करोडवाला गोकुल बाँस्कोटा त्यो समितिमा छन् । यत्रा सांसद र यत्रा समिति हुँदाहुँदै किन उनलाई नै त्यस्तो संवेदनशील समितिमा पुरÞ्याइएको छ भन्ने सोच्नुभएको छ ? प्रसाईंको धक्काले गणतन्त्र ढल्दैन ! तर यो तन्त्रभित्रका तान्त्रिकहरू आज नढले भोलि ढल्छन्, ढल्नै पर्छ !

प्रकाशित: ७ मंसिर २०८०, बिहीबार ०७:४२

Leave a Reply