No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अमेरिकी पूर्व विदेशमन्त्री किसिन्जरको एकसय वर्षमा निधन

0

अमेरिकाका पूर्व विदेशमन्त्री हेन्री किसिन्जरको एकसय वर्षको उमेरमा निधन भएको छ । उनले निक्सन र फोर्ड प्रशासनको समयमा अमेरिकाको शीर्ष कूटनीतिज्ञ र राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा सेवा गरेका थिए ।

उनले स्थापना गरेको राजनीतिक परामर्शदातृ संस्था किसिन्जर एसोसिएट्सले एउटा विज्ञप्तीमा जर्मनीमा जन्मेका पूर्व कूटनीतिज्ञको उनकै घरमा मृत्यु भएको जनाएको छ । उनको मृत्युको कारण भने खुलाइएको छैन ।

आफ्नो दशकौँ लामो कूटनीतिक तथा राजनीतिक जीवनमा किसिङ्गरले अमेरिकी विदेश र सुरक्षा नीतिमा महत्वपूर्ण भूमिका खेलेका थिए। यद्यपि उनले खेलेका कैयौँ भूमिकाहरू विवादास्पद पनि रहे ।

पदमा रहँदा पनि र नरहँदा पनि किसिन्जर चर्चामा रहिरहने खालका अमेरिकी वरिष्ठ कूटनीतिज्ञ थिए । अमेरिका र चीनबीच सम्बन्ध चिसिएको र दुवै देशले सम्बन्ध सुधार गर्न खोजिरहेका बेला गत जुलाईमा उनले बेइजिङ भ्रमण गरेका थिए ।

त्यसबेला किसिन्जरबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा व्यापक चर्चा भएको थियो । त्यसबेला उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको न्यानो स्वागत पाएका थिए । अमेरिकाले उनी एक नागरिकको रूपमा व्यक्तिगत भ्रमणमा रहेकोमा जोड दिएको थियो ।

उनले सन् १९७० को दशकमा कूटनीतिक रूपमा एक्लिएको चीनलाई खुला हुन सघाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् १९७३ मा तत्कालीन अमेरिकी विदेशमन्त्री रहेका किसिन्जरले त्यस वर्ष नोबेल शान्ति पुरस्कार पाएका थिए ।

अमेरिकी विदेश नीतिका केही विवादित घटनाक्रममा संलग्न भएका उनलाई दिइएको पुरस्कारले धेरैलाई अचम्ममा पार्यो । कम्बोडियामा भएका गोप्य बम हमला र दक्षिण अमेरिकामा क्रूर सैन्य शासकहरूलाई सहयोग गर्ने जस्ता घटनाक्रममा उनको संलग्नता रहेको बताइन्थ्यो ।

किसिन्जरलाई उत्तर भियतनामी नेता ले डक थो सँगै भियतनाम युद्धमा युद्ध विराम गराउन भूमिका खेलेको भनेर पुरस्कृत गरिएको थियो । यससँगै नोबेल पुरस्कार समितिका दुईजना सदस्यहरूले राजीनामा दिएका थिए भने न्यूयोर्क टाइम्स पत्रिकाले त्यसलाई ‘नोबेल युद्ध पुरस्कार’ भनेर प्रतिक्रिया जनाएको थियो ।

किसिन्जरले सन् १९६० र १९७० को दशकमा अमेरिकी विदेशनीतिमा प्रभावशाली भूमिका खेलेका थिए । उनले सन् १९७३ मा भियतनाममा अमेरिकी सङ्लग्नताको अन्त्यका लागि भएका वार्ताहरूलाई सफल बनाएका थिए ।

किसिन्जर सन् १९२३ मा जर्मनीमा एक यहुदी परिवारमा जन्मिएका थिए । नाजीहरूबाट बच्न किसिन्जरको परिवार सन् १९३८ मा आप्रवासीका रूपमा अमेरिका पुगेको थियो । उनी सन् १९४३ मा अमेरिकी नागरिक बने ।

युद्धकालीन समयको कार्यकालपछि उनी हार्भर्ड विश्वविद्यालयमा प्राध्यापनका लागि गए । तर उनले बेलाबखत अमेरिकी सरकारको सल्लाहकारका रूपमा काम गरे । सन् १९६९ मा अमेरिकी राष्ट्र रिचर्ड निक्सनले किसिन्जरलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका थिए। त्यसको चार वर्षपछि उनी विदेशमन्त्री भएका थिए । अमेरिकाबाहिर जन्मेर उक्त पद सम्हाल्ने उनी प्रथम व्यक्ति हुन् ।

प्रकाशित: १४ मंसिर २०८०, बिहीबार ०३:०८

Leave a Reply