No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राजश्व छली ल्याएको ३३ बोरा चिनी प्रहरीद्वारा काभ्रेबाट बरामद

0

 

काभ्रे । इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टमा बुधबार बिहान सवारी जाँचका क्रममा बा प्र ०३–००१ ख १९६६ नम्बरको यात्रु बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३ बोरा (१६५० किलो) चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार सङ्खुवासभाको खाँदबारीबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त बसको हुट र डिकीमा लुकाइछिपाइ ल्याइएको उक्त परिमाणको चिनीसहित बस र बसका चालकलाई नियन्त्रणमा लिइएको हो । बस र चालकबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

घटनाक्रमले काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेल जोडिएको बिपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको देखाएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले बिपी राजमार्गअन्तर्गत धुलिखेल–९ स्थित काभ्रेभञ्ज्याङमा कात्तिक तेस्रो साता गरेको सवारी जाँचका क्रममा यातायातका साधनबाट अवैध रुपमा ल्याइएको दश क्वीन्टल चिनी बरामद गरेको थियो ।

प्रहरीले कात्तिक पहिलो हप्ता सोही राजमार्ग हुँदै पनौती तर्फबाट राजस्व छलि आएका ९२ बोरा चिनी बरामद गरी ट्रक नियन्त्रणमा लिएको थियो । बिपी राजमार्गमा सवारी ‘चेकिङ’मा अवैध रुपमा चिनी भित्रने गरेको पाइएपछि नियमित यातायातका साधन जाँच गर्न थालिएको प्रनाउ श्रेष्ठले जानकारी ।

प्रकाशित: २० मंसिर २०८०, बुधबार ०६:५८

Leave a Reply