No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गुयाना–भेनेजुएला सीमा तनाव बढ्दै गएपछि शान्त रहन आह्वान

0

 

भेनेजुएलाले अमेरिका–गुयाना सैन्य अभ्यासलाई ‘उत्तेजना’ का रूपमा अस्वीकार गर्दै दुवै मुलुकले दाबी गर्दै आएको तेल समृद्ध क्षेत्रको ‘पुनरप्राप्ति’ लाई अगाडि बढाउने वाचा गरेपछि विश्व नेताहरूले बिहीबार शान्त रहन आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले तीव्ररूपमा बढदै गएको विवादमाथि शुक्रबार आकस्मिक बैठक बोलाएको छ । गुयानाले यसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरामा पार्ने बताएको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो सरकारले एस्सेक्विबो क्षेत्रको भाग्यमाथि आइतबार एउटा विवादास्पद जनमत सङ्ग्रह गराएपछि द्वन्द्व चर्किने आशङ्का बढेको छ । सन् २०१८ को निर्वाचनमा मदुरोको पुनरविजयलाई अमेरिका र अन्य दर्जनौँ मुलुकले धोखाधडी भन्दै अस्वीकार गरेका छन् । उनले आगामी वर्ष लगातार तेस्रो कार्यकालका लागि उम्मेदवारी दिने अपेक्षा गरिएको छ ।

“भेनेजुएला एस्सेक्विबो क्षेत्रमाथि कब्जा गर्न अहिले नै या कहिले पनि सफल हुनेछैन”, हालै भड्किएको हिंसालाई सम्बोधन गर्दै गुयानाका उपराष्ट्रपति भरत जगदेवले भने, “भेनेजुएलाको हरेक आन्दोलन, विशेषगरी हाम्रा सीमाहरू नजिक हुने आन्दोलनलाई नजर लगाइने छ ।”

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीमार्फत अमेरिकाले पक्षहरूलाई क्षेत्रीय विवादको कूटनीतिक समाधान खोज्न आग्रह गर्दै भनेको छ, “हामी यो टकरावको स्थिति हेर्न चाहँदैनौँ ।” तर वासिङ्टनले जर्जटाउनमा उसको दूतावासमार्फत गुयानासँग ‘नियमित संलग्नता र सुरक्षा साझेदारी बढाउनका लागि सञ्चालन’ को हिस्साका रूपमा गुयानाभित्र संयुक्त सैन्य उडान गर्ने भनी गरेको घोषणाले काराकसको आक्रोशपूर्ण प्रतिक्रियालाई निम्त्यायो ।

“गुयानामा एक्सनमोबिलको पक्षमा अमेरिकाको यो दुर्भाग्यपूर्ण उत्तेजना गलत दिशामा अर्को कदम हो”, भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर प्याड्रिनो लोपेजले सामाजिक सञ्जाल एक्समा भने, “हामी एस्सेक्विबोको पुनरप्राप्तिका लागि हाम्रो भविष्यका कार्यहरूबाट विचलित हुनेछैनौँ ।” एस्सेक्विबोमा अमेरिकी तेल कम्पनीले कच्चा तेल पत्ता लगाएको छ ।

एस्सेक्विबो एक शताब्दीभन्दा बढी समयदेखि गुयानाको नियन्त्रणमा छ र यस क्षेत्रको सिमाना कहाँ हुनुपर्छ भन्ने विषयमा हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसिजे) मा मुद्दा चलिरहेको छ ।

गुयानाको करिब दुई तिहाइ हिस्सा समेटिएको एस्सेक्विबोमा गुयानाका कूल आठ लाख जनसङ्ख्यामध्ये एक लाख २५ हजार बासिन्दा छन् । यद्यपि भेनेजुएलाले पनि उक्त क्षेत्रमाथि दाबी गरेको छ । उसले आइसिजेको अधिकार क्षेत्रलाई मान्यता दिएको छैन र उक्त क्षेत्रलाई आफ्नो शासनअन्तर्गत ल्याउन खोजिरहेको छ ।

ब्राजिलमा राष्ट्रपति लुइज इनासियो लुला डि सिल्भाले आफ्नो मुलुकको उत्तरी सीमा तनावका बारेमा ‘बढ्दो चिन्ता’ व्यक्त गरे । मर्कोसुर दक्षिण अमेरिकी ब्लकको एउटा शिखर सम्मेलनमा उनले भने, “यदि हामी दक्षिण अमेरिकामा केही चाहँदैनौँ भने त्यो युद्ध हो ।”

प्रकाशित: २३ मंसिर २०८०, शनिबार ०३:१२

Leave a Reply