No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

न्याय सम्पादनका क्रममा आफूसमक्ष आएका विवादलाई पन्छाउने काम गर्दिनः प्रस्तावित न्यायाधीश पोखरेल

0

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिल पोखरेलले न्यायिक प्रकृयामा हुँदै आएको ढिलाइमा धेरै अवयवहरु जिम्मेवार रहेको भन्दै त्यसको निराकरण एकीकृत कार्ययोजनामार्फत मात्रै सम्भव भएको बताएका छन् ।

सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै पोखरेलले अदालतबाट जारी हुने अन्तरिम र अल्पकालीन आदेशले विकास निर्माणका काम रोकिन नहुने बताएका छन् । उनले वर्षौंदेखि नागरिकहरु न्यायको लागि लामो समय पर्खिनुपर्ने अवस्था रहेको भन्र्दै यस्तो अवस्था तत्काल अन्त्य गर्नुपर्ने बताए ।

सुनुवाइमा पोखरेललाई सांसदहरुले न्यायालय सुधार,छिटो न्याय सम्पादन र भावि कार्ययोजनासम्बन्धमा प्रश्न सोधेका थिए ।
नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले न्यायालयप्रति भरोसा गुम्दै गएको उल्लेख गर्दै कतिपय बैंकरले न्यायाधीशलाई प्रभावमा पारेर फैसला गर्ने गरेको गुनासो गरे ।

उनले त्यसलाई कसरी अन्त्य गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए । जवाफमा पोखरेलले न्यायालयमा देखिएको यस्ता समस्या र न्यायिक प्रक्रियामा भएको ढिलाइको निराकरण एकीकृत कार्ययोजनामार्फत मात्रै सम्भव रहेको बताए ।

उनले भने,‘वर्षाैदेखि नागरिकहरु न्यायको पर्खाइमा रहेका छन् । न्यायका लागि लामो समय पर्खिनुपर्ने यस्तो अवस्थाको अन्त्य तत्काल हुनुपर्ने मान्यता राख्दछु । यद्यपी न्यायिक प्रक्रियामा ढिलाईका लागि धेरै अवयवहरु जिम्मेवार हुन्छन् । त्यसको निराकरण एकीकृत कार्ययोजना मार्फत मात्रै सम्भव हुन सक्छ ।’

संसदीय सुनुवाई समितिमामा पोखरेलले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै न्यायालयबाट छिटो छरितो न्याय सम्पादन गर्ने प्रतिबद्धता पनि जनाए ।
त्यस्तै उनले आफू न्यायाधीश नियुक्त भएमा निर्दोष व्यक्ति लामो समय थुनामा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताए ।

उनले न्याय सम्पादन गर्दा पहिलो प्राथमिकता राज्यलाई, दोस्रो प्राथमिकता व्यक्तिलाई र तेस्रो प्राथमिकता सरकारलाई दिने प्रतिवद्धता व्यक्त गरे । उनले न्याय सम्पादनका क्रममा आफू समक्ष आएका विवादलाई नपन्छाउने बताए ।

उनले भने, ‘न्याय सम्पादनका क्रममा आफू समक्ष आएका विवादलाई नपन्छाई, कसैप्रति पूर्वाग्रह नराखी निर्णय लिनेछु भन्ने कुरामा दृढ छु। न्यायाधीशको निर्णयबाट एउटा पक्षको हार र अर्को पक्षको जितको अवस्था स्वभाविक हुन्छ। यो जित र हारको अवस्था न्यायाधीशको ईच्छामा नभई संविधान, कानून र प्रमाणको आधारमा तय हुन्छन् ।’

न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका व्यक्तिहरुको गत शुक्रबारदेखि संसदीय सुनुवाइ भइरहेको छ । त्यसक्रममा शुक्रबार सारंगा सुवेदी र अब्दुल अजिज मुसलमान, आइतबार महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगाना सुनुवाई गरेको थियो ।

प्रकाशित: २ पुष २०८०, सोमबार १०:१७

Leave a Reply