No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पार्टीभित्र घात गर्नेलाई कारबाही गरौं न भन्छु, साथीहरु दिँदैनन्ः सभापति देउवा

0

नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानअनुसार कुनै एक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएका कारण एकभन्दा बढी दल मिलेर सरकार बनाउन बाध्य भएको बताएका छन् ।

नेपाली कांग्रेस नुवाकोटको ‘प्रथम जिल्ला सम्मेलन’लाई सोमबार नुवाकोटको विदुरमा सम्बोधन गर्दै सभापति देउवाले समावेशी र समानुपातिक निर्वाचन प्रणालीलाई सुनिश्चित गराई ‘राम्रो संविधान’ बनाएको कारण राजनीतिक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएको बताए ।

“अहिलेको संविधानमा आदिवासी जनजाति, महिला तथा दलितलगायत पछिपरेका समुदायको प्रतिनिधित्व अनिवार्य गराई संविधान राम्रो बनायौँ । तर, कुनै एक दलले बहुमत ल्याउन सक्ने अवस्था यो निर्वाचन प्रणालीबाट सकिन्न,”उनले भने, “निर्वाचनमा ठूलो दल भए पनि बहुमत नभएको कारण एक अर्को दलसँग मिलेर सरकार सञ्चालनमा सहभागी भएका छौं।”

सभापति देउवाले आफ्नो पाटीभित्र घात अन्तरघात कायम रहेको भन्दै असन्तुष्टि जनाए । “कांग्रेसभित्र खुट्टा तानातानको प्रवृत्ति विगतदेखि अहिलेसम्म छ । घात गर्नेलाई कारबाही गरौँभन्दा दिँदैनन्,”उनले भने, “पार्टीलाई हराभर बनाएर ठूलोमात्र होइन, बहुमत प्राप्त दल बनाउन सबैको साथ हुनुपर्छ ।”

उनले कांग्रेस भित्रको गुटउपगुट हटाई पार्टी एकढिक्का भए अर्को चुनावमा बहुमत ल्याउन सक्ने विश्वास व्यक्त गरे ।

सम्मेलनमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टी सञ्चालनमा व्यक्ति हाबी भएको आरोप लगाए । “पार्टीको जिम्मेवारीदेखि अर्को दलले नेतृत्व गरेको सरकारमा जान हुने कि नहुने, जाने हो भने कसलाई कुन जिम्मेवारीमा पठाउने भन्नेमा एक पक्षीय निर्णय भइरहेको छ,” केसीले भने, “सरकारमा सहभागी मन्त्रीहरुका काण्डहरुको समीक्षा हुनुपर्छ । पाटी सुधार्न सके देश सञ्चालनमा सुधार आउँछ ।”

पार्टी प्रवक्ता डा प्रकाशशरण महतले सरकारले प्रभावकारी र जनअपेक्षाअनुसार काम गर्दै आइरहेको दाबी गरे । “राज्यको सीमित स्रोत र साधनमा जनताको असीमित आवश्यकता पूरा गर्दै आइरहेका छौँ,” महतले भने, “सरकारको राम्रो कामको प्रचार गरौँ, अनावश्यक टिप्पणी गरेर जनतालाई भ्रमित बनाउन दल भित्रैबाट भइरहेको कदम बन्द गर्नुपर्छ ।”

कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामाले कांग्रेसको सहभागितामा केन्द्रदेखि प्रदेशसम्मको सरकार सञ्चालनमा जनहितका कामहरु प्रशस्त भएको दाबी गरे ।

प्रकाशित: २ पुष २०८०, सोमबार १५:३२

Leave a Reply