No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

७७ विश्वविद्यालय !

0

डा. गोविन्दशरण उपाध्याय ।
नेपालीले सबैभन्दा बढी चिन्ता गर्नुपर्ने विषय खस्किंदो शिक्षाको गुणस्तर हो भने पहिलो राजनैतिक प्राथमिकता दिएर सुधार्नु पर्ने, विशिष्टिकरण गर्नुपर्ने र विकास गर्नुपर्ने पनि शिक्षाक्षेत्र नै हो । राणाकालमा शिक्षाक्षेत्र सबैभन्दा निम्छरो थियो । राणाहरूले आफ्नो राजनैतिक वर्चश्व जोगाउन शिक्षालाई सधैं ओझेलमा राखे । पंचायतकालमा राजा महेन्द्रले शिक्षा र उद्योग यी दुई क्षेत्रलाई प्राथमिकता दिएर अगाडी बढाए तर प्रजातन्त्र होस् वा अहिलेको लोकतन्त्र यी दूवै प्रकारका संबिधानले शिक्षाको महत्वलाई बुझ्न सकेको देखिन्न ।

वि.स. २०७२ को नेपाली संबिधानमा शिक्षा अनिवार्य र आधारभूत अधिकारका रूपमा परिभाषित गरिएको छ तर यो परिभाषा कार्यन्वयन हुने र गर्ने कुनै लक्षण छैन । सत्य के हो भने २०७२ को संविधानले प्रत्याभूत गरेको अधिकार कार्यन्वयन गर्दा साथ शिक्षाक्षेत्रमा राजनैतिक शक्तिहरूले गर्ने ठाडो हस्तक्षेप अन्त्य हुन्छ । यस अर्थमा वर्तमान राजनैतिक शक्तिहरूको शिक्षाप्रतिको दृष्टिकोण र राणाहरूको दृष्टिकोणमा केही फरक देखिन्न । यसो भन्दा राजनैतिक नेताहरूको चित्त दुखे दुखोस् ।

राजनैतिक व्यक्ति र शक्तिहरूको आलोचना गरेर समय गुमाउनुको कुनै अर्थ छैन । भैसीको अगाडी मुरली बजाए बरू सुन्ला तर राजनीतिको लोभलाभको हिसाव–किताव गर्नेहरूका लागि केही फरक पर्दैन । अमेरिकी राष्ट्रपतिका छोराछोरीले सरकारी विद्यालयमा पढ्ने कुरा यहाँको राजनैतिक नेतृत्वले नदेख्ने र नबुझ्ने कुरा होइन, कुरा केवल नियतिको हो । नेपालमा राजनैतिक स्थायित्व नहुनु, हरेक क्षेत्रमा सधैं राजनैतिक किचलो भैरहनु, अनेकौं प्रतिरक्षात्मक कानुनहरू हहुँदाहुँदै पनि निरन्तर भष्ट्राचार मौलाउनु – यी सबैको मूल कारण भनेको नै गुणस्तरीय शिक्षा–व्यबस्थाको अभाव हो ।

आजको मितिमा सम्पूर्ण राजनैतिक शक्तिहरूले शिक्षाक्षेत्रको सुधारका लागि सकारात्मक पहल थाल्न आवश्यक छ । मधेश, पहाड तथा हिमाल यी सबै ठाउँका जनताले गुणस्तरीय शिक्षा चाहेका छन् । यो चाहनालाई राजनैतिक रूपमा मूर्तरुप दिने काम राजनैतिक शक्तिहरू कै हो । त्यसैले नेपालको लागि एउटा दिगो–शिक्षा नीति निर्माण गरौँ र अन्य क्षेत्रमा मतभेद कायम राख्दै शिक्षाको गुणस्तर विकासमा सम्पूर्ण मतभेदहरूको अन्त्य गरौँ । देशको धर्म, संस्कृति, ज्ञानविज्ञान तथा भाषाआदिको समावेशी विकास गर्ने र केही समुदाय वा व्यक्तिको हितमा नभए पनि समग्र नेपालीको कल्याणका लागि हरेक जिल्लामा विश्वस्तरीय शिक्षस्थलहरू स्थापित गरौँ । कुनै पनि बालबालिका शिक्षाबाट बन्चित नरहनुन् ।

नेपालले विश्वलाई दिन सक्ने भनेको नै सोफ्ट–पावर हो । नेपालले क्रयोजनिक इन्जिन बनाएर तुरुन्त अमेरिकालाई बेच्न सक्दैन तर गुणस्तरीय शिक्षाक्षेत्र कायम गरेर क्रयोजनिक इन्जनको टेक्नोलोजी आफ्ना विविहरूमा पढाउने व्यबस्था मिलाउन सक्छ । हरेक जिल्लामा एउटा वा दुईटा विश्वविद्यालयहरू स्थापित गरौँ । विश्वभरिका लगानी कर्ताहरूलाई शिक्षाक्षेत्रमा लगानी गर्न आह्वान गरौँ र स्वसंस्कृतिको रक्षाको पूर्वसर्तसंगै उनीहरूले शिक्षाक्षेत्रमा गरेको लगानी सुरक्षित गर्ने कानुन निर्माण गरौँ । विश्वास गरौँ – आगामी २० वर्षमा नेपाली शिक्षाको गुणस्तर अमेरिकी, बेलायती, चिनिया शिक्षासंग तुलना गर्न योग्य हुने छ ।

आजको मितिदेखि नै नेपालका हरेक जिल्लामा कमसेकम एउटा विश्वविद्यालय खोल्ने सङ्कल्प गरौँ । यस्तो सङ्कल्प गरिरहंदा यी विश्वविद्यालयहरूमा राजनैतिक हस्तक्षेप नगर्ने/गर्न नदिने सङ्कल्प कानुन निर्माण गरेर प्रकट गरौँ । हो, विश्वविद्यालयहरू खोल्न सजिलो होला तर यी विश्वविद्यालयहरूको शिक्षामा गुणस्तरीयता कायम गर्न निकै ठूलो सङ्घर्ष गर्नु पर्ने हुन्छ । पहिलो सङ्घर्ष, आफ्नै कार्यक्रतासंग हुन्छ किनभने राजनैतिक कार्यक्रतालाई जहाँ पनि ‘भाग’ खोज्ने बानी परेको छ । दोश्रो सङ्घर्ष आफैसंग गर्नु पर्ने छ किनभने आजको मितिसम्म शक्तिको स्रोतका रूपमा विद्यालयहरू र विश्वविद्यालयहरू उपयोग भएका छन् । तेस्रो सङ्घर्ष छिमेकीहरूसँग गर्नु पर्ने हुन्छ जसले नेपाललाई गरिव राख्दा आफ्नो फाइदा देखिरहेका छन् । शिक्षाको सवालमा राजनैतिक शक्तिहरू एकठाउँमा उभिंदा उपर्युक्त समस्याहरू क्रमशः समाधान हुँदै जान्छन् ।
स्वस्तिअस्तु

प्रकाशित: ४ पुष २०८०, बुधबार ०५:१८

Leave a Reply