No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रोजगारीका लागि विदेश जान बाध्य नागरिकलाई गोली ठोक्ने कामले देशलाई कतिञ्जेल धानिराख्ला ?

0

नारायण गाउँले ।
नागरिकलाई विदेशिन रोक्ने भनेको उद्योग–व्यवसायले हो, आर्थिक गतिविधिले हो, नेताको भाषणले होइन । तर हाम्रो रगतमै उद्यम, उद्योग र व्यवसायप्रति नकारात्मकता मात्रै छ ! हामी सबै धनी बन्न त चाहन्छौं तर धनीहरू प्रति हाम्रो ईर्ष्या र दुश्मनी छ । धनी हुनु भनेको सामन्त हुनु हो भन्ने हाम्रो दर्शन छ । राज्यलाई निरन्तर कर बुझाइरहेको, हजारौंलाई रोजगारी र लाखौंलाई प्रतिस्पर्धी सेवा दिइरहेको, पार्टीदेखि नेतासम्मलाई दबाबमा चन्दा दिइरहेको र मूलतः नेपालमा नाफामूलक ढङ्गले व्यवसाय गर्न सम्भव छ भन्ने सन्देश विश्वभरका लगानीकर्तालाई दिइरहेको एनसेललाई ‘कर नतिर्ने बदमास’ कम्पनीका रूपमा हामीले व्यवसाय र प्रतिष्ठामैं असर पर्ने गरी प्रचार गर्यौं ।

अहिले सिमेन्टदेखि छडसम्मको आयात विस्थापन गरेर झन्डै देशलाई आत्मनिर्भर बनाउन सफल उद्योगहरूलाई निशाना बनाइएको छ र विद्युत लाइन नै काटेर तिनलाई बन्द गराइएको छ । यसै पनि ठूलो स्केलका भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने नेपाली उद्योग दबाबमैं हुन्छन् । त्यसमाथि यसरी बन्द हुँदा तिनको प्रतिस्पर्धी क्षमता र बजार दुबै डुब्ने डर हुन्छ । समाचार सुनेर मलाई जस्तै तपाईंलाई पनि लागेको हुनुपर्छ, नेपालका उद्योगले बिजुलीले बिल तिरेका छैनन् । राज्यको अर्बौं रुपियाँ पचाएका छन् र नागरिकलाई लुटेका छन्, त्यसैले बिजुली काटेर ठूलो राष्ट्रवादी काम भएको छ ।

सत्य ठ्याक्कै त्यस्तो भने छैन । अहिले लाइन काटेर बन्द गरिएका उद्योगहरूले बिजुलीको नियमित महशुल तिर्दै आएका छन् । यो बक्यौता सरकारले लोडसेडिंगका बेला छुट्टै लाइनमार्फत २४ घण्टा बिजुली उपलब्ध गराएकोमा लगाइएको ६७% सम्म महँगो अतिरिक्त शुल्कको पैसा हो ।

मुख्य विवाद भनेको उद्योगीले ‘प्रयोग गरेजतिको मात्रै महशुल तिर्ने’ भन्ने र प्राधिकरणले २४ घण्टा नै बिजुली उपलब्ध भएकाले ‘प्रिमियम शुल्क’ तिर्नुपर्ने भन्ने रहेछ । यस्तो बक्यौता पनि प्रयोगको आधारमा नभई हचुवाको भरमा रहेछ । कानुन पनि अष्पष्ट र बाझिने खालको बनेको रहेछ ।
खासमा २४ घण्टा बिजुली उपलब्ध हुनु आफैंमा प्रिमियम या दयामाया नहुनुपर्ने हो । शुल्क तिरेपछि ग्राहकले २४ घण्टा बिजुली पाउनुपर्ने हो । बरु लोडसेडिंगका कारण बिजुली दिन नसकेको घण्टाको क्षतिपूर्ति दिनुपर्ने हो । तर २४ घण्टा बिजुली दिएको नाममा अतिरिक्त शुल्क लगाउने काम भएको रहेछ । अहिले त्यही अतिरिक्त शुल्क नतिरेको नाममा बिजुलीको बिल नै नतिर्ने उद्योग भनेर तिनको व्यवसाय र छवि नै खराब बनाउने र डुबाउने प्रयास भइरहेको छ । जबकी तिनले नियमित महशुल बुझाउँदै आएका छन् र उद्योग सञ्चालनदेखि मुनाफासम्ममा कर बुझाउँदै आएका छन् ।

धेरै देशमा उद्योगलाई निःशुल्क या कम शुल्कमा ऊर्जा प्रयोग गर्न दिएका उदाहरण छन् । कोभिडकालमा उद्योग व्यवसाय बन्द हुँदा बेलायत सरकारले करछूट मात्रै होइन, कामदारलाई आफैं तलब दिएर धानिदिएको थियो । यो ‘दया’ नभएर राज्यको दायित्व थियो । उद्योग व्यवसाय मर्यो भने धेरै कुरा मर्छ । ऊर्जा महँगो हुँदा उद्योगहरू प्रतिस्पर्धी बन्न सक्दैनन् । तिनको उत्पादन लागत बढ्दा देश र जनतालाई नै मार पर्न जान्छ । उत्पादन बन्द हुँदा रोजगारी मात्रै होइन, देशले पाउने करमैं पनि असर पर्छ ।

देशमा गतिलो यातायातको पूर्वाधार छैन । स्वचालित बजार छैन । निर्यात गर्न समुद्रसम्मको पहुँच सहज छैन । कच्चा पदार्थ उपलब्ध छैन । लजिस्टिक कस्ट यसै पनि उच्च छ । यस्तोमा सम्भव भएसम्म सस्तोमा बिजुली उपलब्ध गराएर सरकार उद्योग–मैत्री बन्न पर्ने हो । उत्पादनमूलक उद्योगलाई बजारमूल्यभन्दा सस्तोमा बिजुली दिए पनि हुने हो । यस्तो अभ्यास विश्वभर छ ।

उद्योगहरू लामो समयदेखि त्यस्तो अतिरिक्त शुल्क तिर्न नसक्ने भनेर लड्दै आएका रहेछन् । ओलीदेखि देउबा र प्रचण्ड सरकारले यस विषयमा उचित निर्णय गर्ने आश्वासन पनि उद्योगीहरूलाई दिइएको रहेछ । प्राधिकरणले चाहिं जरिवाना र ब्याज जोड्दै करोड़बाट अर्ब पुर्याएर बसेको रहेछ । अहिले लाइन नै काटेर उद्योग बन्द गरिएको अवस्था छ ।

सरकारी प्राधिकरण र कम्पनीले नाफा कमाउने उद्देश्य राख्ने भन्दा पनि देश र आम जनतालाई सस्तो र सुलभ सेवा दिने अनि देशको आर्थिक र औद्योगिक विकास गर्ने उद्देश्य लिनुपर्ने हो । यस्ता विवाद र असमझदारीलाई सकेसम्म छिटो र रचनात्मक तरिकाले समाधान गर्नेतिर जानुपर्ने हो । उद्योग र उद्योगीहरूलाई राष्ट्रिय भिलेनको रूपमा प्रोजेक्ट गर्ने गरी अघि बढ्न नहुने हो ।

उद्योगीहरू स्वच्छ छन्, निर्दोष छन्, इमान्दार छन् र सामाजिक उत्तरदायित्व बुझेका छन् भन्ने दाबी होइन यो । ती खराब होलान् । तर तिनलाई नियमन गर्ने सिर्जनात्मक बाटो शासक र दलले खोज्न पर्छ । आज देश जति छ, यिनै उद्योगीहरूको क्रियाकलापले गर्दा छ । अलिकति रोजगारी, अलिकति निर्यात, अलिकति आयातको प्रतिस्थापन र अलिकति आर्थिक गतिविधि यिनैले गर्दा जीवित छ । नेपालमा यिनैलाई, केही व्यापारिक घरानालाई भिलेनका रूपमा चित्रण गर्ने अचम्मको अभ्यास छ ।

देशमा उद्यमीहरू नै भिलेन भएपछि, व्यापार गरेर नाफा कमाउनु अपराध भएपछि नागरिक विदेशिनुको विकल्प अर्को के होला र ? एउटा उद्योगबाटै लाखौं कर लिनुभन्दा सयौं उद्योग खोल्ने वातावरण सिर्जना गरेर हजारमा कर लिन सकिने मति त हाम्रो छैन । विदेशमा हुनेलाई फर्काउने भाषण छ तर देशमैं भएकालाई रोक्न उद्योगधन्दालाई प्रोत्साहन गर्ने काम कत्ति छैन । उद्योग र रोजगारी पनि बन्द गर्ने अनि विदेश जान बाध्य नागरिकलाई गोली ठोक्ने कामले देशलाई कतिञ्जेल धानिराख्ला ?

प्रकाशित: १४ पुष २०८०, शनिबार ०५:३९

Leave a Reply