No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरिने

0

काठमाडौँ । सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार घटेको घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आयोग गठनका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आइतबार निर्देशन दिएका हुन् । गृहमन्त्रालयले सोसम्बन्धी प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा पेश गर्नेछ ।

सोमबार बिहान बस्ने मन्त्रिपरिषद्को बैठकले आयोग गठनसम्बन्धी औपचारिक निर्णय गर्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा २ बमोजिम आयोग गठन हुने उनको भनाइ छ । आयोगले सोमबारदेखि नै काम गर्नेछ ।

मन्त्री ज्वालाले पूर्वन्यायाधीशको संयोजकत्वमा न्यायिक छानबिन आयोग गठन गर्ने जानकारी दिए । उनले भने, “प्रधानमन्त्रीले आवश्यक निर्देशन दिइसक्नुभएको छ । भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले यसबारेमा आवश्यक निर्णय गर्नेछ ।”

बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । साथै मन्त्री प्रकाश ज्वाला सवार सवारी साधनमा आगजनी भएको थियो ।

गृहमन्त्रालयले सोही दिन नै सो घटनाको छानबिनका लागि एक समिति गठन गरिसकेको छ । सरकारले शनिबार मात्रै ललितपुरका प्रहरी प्रमुख, ललितपुरका प्रमुख जिल्ला अधिकारी र इपिएस कोरिया शाखाका प्रमुखलाई छानबिन नसकिँदासम्मका लागि निलम्बन गरिसकेको छ ।

प्रकाशित: १५ पुष २०८०, आईतवार १०:४५

Leave a Reply