No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गैँडाकोट हाफ म्याराथनको उपाधिको नेपाली सेनाका रोकायालाई

0

नवलपुर ।  गैँडाकोट हाफ म्याराथनको उपाधि नेपाली सेनाका धावक राजन रोकायाले जितेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजना गरिएको हाफ म्याराथनको २१ किलोमिटर दूरी उनले एक घण्टा तीन मिनेट पाँच सेकेण्डमा पूरा गर्दै उपाधि जिते । विजेता रोकायाले नगद एक लाखसहित मेडल र प्रमाणपत्र प्रदान गरियो ।

गैँडाकोटको विजय फाउण्डेशनले आइतबार आयोजना गरेको प्रतियोगितामा नेपाली सेनाकै धावक नरेन्द्र सिंह रावत दोस्रो भए । रावतले निर्धारित दूरी एक घण्टा तीन मिनेट ३० सेकेण्डमा पूरा गर्दै ५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा निर्धारित दूरी एक घण्टा पाँच मिनेट ५२ सेकण्डमा पूरा गर्दै काठमाडौँ धापासीका अजितकुमार यादव तेस्रो भए । यादवले २५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्ण सापकोटाले जानकारी दिए । त्यस्तै महिलातर्फ हाफ म्याराथनमा सशस्त्र प्रहरी बलकी सीमा चौधरी पहिलो भएकी छन् ।

निर्धारित दूरी एक घण्टा २७ मिनेट १४ सेकेण्डमा पूरा गर्दै महिलातर्फ पहिलो हुनुभएकी चौधरीले २५ हजार नगदका साथै मेडल र प्रमाणपत्र प्राप्त गरेको सापकोटाले बताए ।

हाफ म्याराथनमा सहभागीमध्ये उत्कृष्ट हुने (एक घण्टा १३ मिनेट ५८ सेकेण्डमा दूरी पार गर्ने) थप सात जनालाई समेत नगद पाँच हजारसहित पुरस्कृत गरिएको अध्यक्ष सापकोटाको भनाइ छ । प्रतियोगितामा दुई सय ५० जनाले सहभागिता जनाएका थिए । निर्धारित दूरी पूरा गर्ने सबै धावकलाई मेडल प्रदान गरिएको सापकोटाले जानकारी दिए ।

साथै गैँडाकोट हाफ म्याराथन अन्तर्गत विद्यार्थीमैत्री पाँच किलोमिटर दौड प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)का प्रेमलाल कोहार पहिलो भएका छन् । कोहारले निर्धारित दूरी १५ मिनेट १९दशमलव ७८ सेकेण्डमा पूरा गर्दै  १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा १५ मिनेट ३६ दशमलव  ६६ सेकेण्डमा दूरी पार गर्दै तनहुँ ऋषिङका अमृत विक दोस्रो भए । विकले नगद  पाँच हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको दूरी १५ मिनेट ५५ दशमलव ३७ सेकेण्डमा पूरा गर्दै काठमाडौँ चन्द्रागिरिका अनुज महत तेस्रो भए । उनले तीन हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा एक सय ८० जना विद्यार्थीको सहभागिता थियो ।

हाफ म्याराथन र विद्यार्थी मैत्री दौडका विजेताहरुलाई गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी, विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्ण सापकोटा, अन्तर्राष्ट्रिय धावक वैकुण्ठ मानन्धरलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए  ।

त्यस अवसरमा नगरप्रमुख अधिकारीले खेलकुदका माध्यमबाट व्यक्ति स्वस्थ हुनुका साथै राष्ट्रको नाम विश्वसामु चिनाउन मद्दत गर्ने बताए । गैँडाकोट नगरपालिकाले खेलकुदको क्षेत्रमा लगानी गरेको भन्दै नगरको लगानीबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्ण सापकोटाले विजय फाउण्डेशनको आयोजनामा हरेक वर्षको पुस १५ गते हाफ म्याराथनको आयोजना गरिने जानकारी दिए । आगामी वर्षबाट म्याराथनलाई थप परिस्कृत गर्दै लैजाने सापकोटाको भनाइ थियो ।

प्रकाशित: १५ पुष २०८०, आईतवार ११:०३

Leave a Reply