No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मन्त्रिपरिषद् बैठकको खाजा कटौती, अब वार्षिक ६० लाख जोगिने

0

काठमाडौँ ।  राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले सोमबारदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

खाजा बापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब ६० हजार खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन् । मन्त्रिपरिषद्मा हुने खाजा कटौती भएसँगै वार्षिक करिब ६० लाख जोगिएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । मन्त्रिपरिषद् बैठकमा सामान्य खाजा खुवाउन सुरु गरिएको छ ।

सुशासन र सुधारमा ससाना विषय पनि महत्वपूर्ण मानिने भएकाले प्रधानमन्त्री दाहालले आफ्नै कार्यालयबाट सुधारको थालनी गरेको उनको भनाइ छ । सुशासन र सुधारका कार्यलाई निरन्तर अगाडि बढाइने उनले बताए ।

सरकारको कार्यशैली बदल्ने घोषणा गरेका प्रधानमन्त्री दाहाल सार्वजनिक बिदाका दिन बाहेक दैनिक १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्ने गरेका छन् । प्रधानमन्त्री सिंहदरबारबाट दैनिक विभिन्न मन्त्रालयका ‘ब्रिफिङ’ लिने, राष्ट्रिय गौरवलगायत आयोजनामा देखिएका समस्या समाधानका लागि पहल लिँदै आएका छन् ।

यसैबीच, नेपाल संवतलाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ । विभिन्न अवसरमा प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा नेपाल संवतको मिति उल्लेख गर्न थालिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

 

 

प्रकाशित: १६ पुष २०८०, सोमबार ०६:००

Leave a Reply