No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जसरी पनि माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नुपर्छः शेखर कोइराला

0

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश अप्ठ्यारो परिस्थितिमा रहेकाले माओवादी नेतृत्वको सरकार परिवर्तन आवश्यक भएको बताएका छन् ।

सोमबार राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाल प्रजातन्त्र सेनानी संघले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै कोइरालाले सुशासन कायम, भ्रष्टाचार निर्मूल गर्न र देशलाई संमृद्धिको बाटोमा लगेर रोजगारीको अवसर सिर्जना गर्न माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नु आवश्यक भएको बताएका हुन् ।

देशमा भ्रष्टाचारको अन्त्य, सुशासन कायम, रोजगारी सिर्जना कांग्रेस नेतृत्वको सरकारले गर्न सक्ने दाबी उनले गरे । उनले भने, ‘त्यसको निम्ति यो सरकारलाई परिवर्तन गरिकन नेपाली कांग्रेसको नेतृत्वमा सरकार आउन जरुरी छ । यो अत्यन्त आवश्यक भइसक्यो ।’ उनले निर्वाचन प्रणालीका कारण कसैको पनि बहुमत आउन सक्ने अवस्था नरहेको भन्दै अबको कांग्रेसको गठबन्धन लोकतान्त्रिक शक्तिसँग मात्रै हुनुपर्ने उल्लेख गरे । कम्युनिष्टसँग गठबन्धन बनाउनै नहुने उनले बताएका छन् ।

उनले भने, ‘निर्वाचन प्रणालीले गर्दा हामी गठबन्धनको सरकारमै जानुपर्ने हुन्छ । संविधान संशोधनमार्फत निर्वाचन प्रणाली परिवर्तन गर्ने भए पनि गरौं होइन भने निर्वाचन अघि गठबन्धन गर्ने हो भने लोकतान्त्रिक शक्तिहरुसित मात्रै हुन्छ, कांग्रेसको गठबन्धन अरुसँग हुँदैन । कम्युनिष्टहरुसित कुनै किसिमको संगठन गरेर हामी जान हुँदैन ।’

उनले कांग्रेसको पन्ध्रौं महाधिवेशन सम्पन्न गराएर पार्टीभित्र पनि नयाँ नेतृत्व ल्याएर नयाँ कांग्रेस बनाउनेतर्फ जोड दिए ।

प्रकाशित: १६ पुष २०८०, सोमबार १५:२१

Leave a Reply