No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जापानमा भूकम्पबाट कम्तीमा ३० जनाको मृत्यु

0

जापानमा सोमबारको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ । ज्यान गुमाएकाहरू सबै जापानको उत्तर पश्चिममा पर्ने इशिकावा तटीय क्षेत्रका हुन् ।

भूकम्पप्रभावित क्षेत्रमा खोजी र उद्धारकार्य जारी रहेको जापानका प्रधानमन्त्री फुमिओ किशिदाले बताएका छन् । उक्त कार्यका लागि जापानको सुरक्षा फौज अर्थात् देशको सेना सरहको एसडीएफका करिब १ हजार सदस्य खटिएका छन् ।

यसअघि दिइएको सुनामीको चेतावनी हटाइएसँगै भूकम्प गएको उत्तरी प्रायःद्वीप नोतो पुग्नका लागि समुद्री मार्ग खोज्ने र स्थापित गर्ने प्रयासमा आफूहरू रहेको प्रधानमन्त्री किशिदाले बताए । क्षति पुगेका गाउँहरूमा पुग्न समय लाग्न सक्ने बताइएको छ ।

प्रधानमन्त्री किशिदाले केही बाटो अवरुद्ध रहेका कारण उद्धारकर्मीहरूलाई क्षति पुगेका घरमा फसेका मानिसहरूसम्म पुग्न समय लाग्नसक्ने बताए । तर सहायता आउँदै गरेको भन्दै मानिसहरूलाई आश्वस्त रहन पनि उनले भनेका छन् ।

तटीय क्षेत्रमा बस्ने हजारौँ मानिसहरूलाई उक्त क्षेत्रबाट त्यहाँभन्दा माथिल्लो भूभागमा जान यसअघि भनिएको थियो । जापानको मौसम विज्ञान विभागले सोमबारको ७.६ म्याग्निट्युडको भूकम्पपछि सुनामीबारे दिइएका चेतावनीहरू हटाएको सरकारी सञ्चारमाध्यम एनएचकेले जनाएको छ।

प्रकाशित: १७ पुष २०८०, मंगलवार ०५:२६

Leave a Reply