No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

त्यो साहस र बहादुरी प्रदर्शन गर्न नसकेर नै हामी अभाव, असुरक्षा र अस्थीरता बेहोरिरहेका छौँ

0

-केशवप्रसाद भट्टराई
एउटा रणनीतिक भूगोलमा अवस्थित मुलुकको विदेश नीतिलाई अर्को विपरित रणनीतिक भूगोलको मुलुकको विदेश नीतिसँग तुलना गरेर नेपालका सरकारहरूलाई घोच्ने कथित वौद्धिक र मिडियाकर्मीलाई । माल्दिभ्सका राष्ट्रपति मुहम्मद मुइजुले भारतसँगको सम्बन्धमा लिएको टक्करलाई लिएर नेपालका केही राजनीतिकर्मी र वौद्धिकहरू (?)ले उनलाई नायकको रूपमा चित्रण गरिरहेका छन् । माल्दिभ्स सानो छ तर अन्तर्राष्ट्रिय जलमार्गको छेउमा रहेको माल्दिभ्सका दर्जनौ टापुहरू साउदी अरब र चीनले किनेको छ । कयौँ ठूला व्यापारी र व्यवसायीहरूले पनि होटल रिसोर्ट चलाउन त्यहाँ टापु किनेका छन् । पानीले डुबाएका टापुहरू उकासेमा त्यसरी उकासिएको जमिनको सत्तरी प्रतिशत भूभाग उसैको हुने व्यवस्था छ ।

सन् २०१५ मा तत्कालीन राष्ट्रपति अब्दुल्ला अमीनले त्यस्तो कानुन बनाएर लागू गरेका थिए । एक हिसावले माल्दिभ्स भनेको बहुराष्ट्रिय कम्पनी जस्तै हो र मुहम्मद मुइजु त्यसको महाप्रवन्धक । आफ्नो भौगोलिक अवस्थितिले गर्दा श्रीलंका, माल्दिभ्स वा बङ्गलादेश भारतसँगको सम्बन्धमा जति तनाव र दवाव बेहोर्न सक्छन् –त्यति नेपाल र भुटान सक्दैनन् । यसलाई नेपालका सबै राजा, महाराजा, प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूले बुझेका छन् । आन्तरिक राजनीतिक प्रयोजनलाई लिएर कहिलेकहीँ अर्को छिमेकीको आडमा, दुई छिमेकीवीचको युद्ध र तनावको स्थिति र र शीत युद्धको चरम रूप लिएको बेलामा नेपालका कुनै शासकले त्यसको रणनीतिक लाभ लिए र त्यसलाई जनतामा आफ्नो बहादुरीको रूपमा चित्रण गरे/गराए त्यो अर्को कुरा हो ।

तर अन्ततः आफ्नो मुलुक भूगोलको बन्दी बनेको अवस्थालाई आत्मसात गरेर त्यसलाई नीति र व्यवहारद्वारा प्रमाणित गरेका छन् । त्यसलाई आत्मसात नगर्नुको परिणाम आफू र मुलुकलाई भोगाएका पनि छन् । जे सत्य हो त्यसलाई स्वीकार गरेर, भ्रम, अन्यौल र हीनतावोधमा रमाउने प्रवृत्ति परित्याग गरेर । आफ्नो मुलुकको सीमा र अभावलाई आत्मसात गरेर मुलुकको सर्वोत्तम हितमा त्यसलाई नीति र व्यवहारमा ल्याउनु आत्मसमर्पण होइन, साहस र बहादुरी हो । त्यो साहस र बहादुरी प्रदर्शन गर्न नसकेर नै हामी निरन्तर अभाव, असुरक्षा र अस्थीरता बेहोरिरहेका छौँ ।

प्रकाशित: २ माघ २०८०, मंगलवार ०४:५०

Leave a Reply