No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अस्पतालको बहिरङ्ग र इमर्जेन्सी सेवाको टिकट शुल्क घट्यो

0

 

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा थैलीमा रहेको बहिरङ्ग र इमर्जेन्सी सेवा टिकटमा लाग्ने शुल्क घटाउने निर्णय गरेको छ ।  बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले बीमितको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा लाग्ने बहिरङ्ग र इमर्जेन्सी सेवाका लागि लाग्ने टिकट शुल्क घटाउने निर्णय गरेको जानकारी  दिइन् ।

उनका अनुसार बहिरङ्ग सेवा ५० र इमर्जेन्सी सेवाबापतको शुल्क एक सय रुपैयाँ कायम गर्ने निर्णय गरिएको छ । बहिरङ्ग सेवा र इमर्जेन्सी सेवामा घटाइएको शुल्क यही माघ ८ गतेबाट लागू गरिने उनले बताइन् ।

यसअघि बहिरङ्ग सेवा शुल्क एकसय र इमर्जेन्सी सेवा शुल्क  चार सय रुपैयाँ रहेको थियो । यस्तै बीमा बोर्डले कुनै पनि स्वास्थ्य सुविधा नलिएका वीमितलाई नवीकरण गर्दा १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

बोर्डका सूचना अधिकारी कँडेलले नियमितरुपमा स्वास्थ्य बीमा नवीकरण गरेका तर वर्षभरिमा कुनै पनि स्वास्थ्य बीमा सुविधा उपभोग नगरेका वीमितलाई नवीकरण गर्दा १० प्रतिशत रकम छुट गरिएको बताइन् ।

पाँच जनाको परिवारसम्म सदस्य भएका परिवारले वार्षिक  तीन हजार पाँच सयको योगदान रकम तिरेपछि  एक लाखसम्मको सुविधा लिनसक्ने व्यवस्था रहेको छ । अहिलेसम्म कूल ७४ लाख ६६ हजार सात जना बीमामा आबद्ध रहेका र तीमध्ये ३४ लाख ७६ हजार सात सय ७८ जनाले बीमा कार्यक्रममार्फत स्वास्थ्य सेवा लिएका तथा ४८ लाख ५९ हजार पाँच सय १५ वीमितले नवीकरण गर्ने गरेका छन् ।

यसैगरी स्वास्थ्य बीमा कार्यक्रममा सदस्यता आबद्धता भएपछि सेवा सुरु हुने समय पनि घटाउने निर्णय गरिएको छ । सूचना अधिकारी कँडेलका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा सदस्यता आबद्धता भएपछि सेवा सुरु हुने समय तीन महिनाको रहेकामा त्यसलाई घटाएर दुई महिना कायम गरिएको छ । यसैगरी बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई उपचारबापतको शोधभर्ना रकम दुई/दुई महिनामा उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

 

प्रकाशित: ३ माघ २०८०, बुधबार १५:०४

Leave a Reply