No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आर्थिक मन्दीका कारण चितवनमा लक्ष्यको ६७ प्रतिशत मात्र राजस्व सङ्कलन

0

 

चितवन ।  आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षमा लक्ष्यको ६७ दशमलव दुई प्रतिशत राजस्व सङ्कलन गरेको छ । राजस्व विभागले ६ महिनाका लागि  १३ अर्ब ६ करोड १४ लाख ६० हजार लक्ष्य तोकेकामा पुस मसान्तसम्म आठ अर्ब ७८ करोड ९३ लाख ७६ हजार रुपैयाँ सङ्कलन भएको जनाएको छ ।

गत आर्थिक वर्षको यही अवधिमा आठ अर्ब ७८ करोड ५१ लाख ९३ हजार अर्थात् लक्ष्यको ७५ प्रतिशत राजस्व सङ्कलन भएको थियो । सो वर्ष ६ महिनाका लागि  ११ अर्ब ६५ करोड ८० लाख ९८ हजार लक्ष्य विभागले तोकेको थियो ।

कार्यालयका प्रमुख निरन भट्टराईका अनुसार ६ महिनामा आयकरतर्फ एक अर्ब २० करोड ९२ लाख एक हजार, अन्तःशुल्कतर्फ ६ अर्ब ६५ करोड २६ लाख ५४ हजार राजस्व सङ्कलन भएको छ ।

मूल्य अभिवृद्धि करतर्फ ८४ करोड सात लाख नौ हजार, ब्याज कर  पाँच करोड ७८ लाख ९९ हजार, घरबाहल कर  एक करोड ९५ लाख ८८ हजार र स्वास्थ्य सेवा कर  ९३ लाख २५ हजार सङ्कलन भएको भट्टराईले जानकारी दिए ।
उनका अनुसार अन्तःशुल्क सङ्कलनमा अपेक्षाअनुसार हुन नसक्दा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन नसकेको हो । अन्तःशुल्क राजस्व सङ्कलनमा उत्पादन र निकासी कम हुँदा समस्या आएको उनको भनाइ छ ।

आर्थिकमन्दीका कारण क्रयशक्ति कम हुँदा समग्र राजस्व सङ्कलनमा कमी देखिएको हो । भट्टराईले भने, “अनुत्पादक क्षेत्रमा लगानी बढी हुँदा राजस्व सङ्कलनमा कमी आएको अनुमान गरिएको छ ।” युवा जनशक्ति रोजगारीको सिलसिलामा विदेश पलायन हुनुले समेत राजस्व सङ्कलनमा कमी भएको उनले बताए । कार्यालयमा ६३ हजारभन्दा बढी करदाता रहेका छन् ।

 

प्रकाशित: ५ माघ २०८०, शुक्रबार ०९:२५

Leave a Reply