No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘नाम’ सम्मेलनले शान्ति, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरेको छः प्रधानमन्त्री

0

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल जलवायु परिवर्तनको चपेटामा परेको भन्दै हिमालको आवाजलाई समर्थन गर्न असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुलाई आह्वान गरेको बताएका छन् ।

युगाण्डामा भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औँ सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले सम्मेलनमा आफूले हिमालको आवाजलाई समर्थन गर्न आह्वान गरेको बताए ।

उनले भने, ‘हिमाल तथा पर्वतीय पारिस्थितिक प्रणाली र त्यहाँ बसोवास गर्ने मानव समुदायको संरक्षणका लागि नेपालले पैरवी गर्दै आएको छ । त्यसकारण हिमालको आवाजलाई समर्थन गर्न समेत आव्हान गरेको छु ।’

प्रधानमन्त्रीले सम्मेलनमा असंलग्न आन्दोलनमार्फत आपसी सहयोग तथा समझदारी अभिवृद्धि गरी विश्वव्यापी समृद्धि हासिल गर्न प्रयास गर्नुपर्नेमा जोड दिएको बताए ।

सम्मेलनमा नेपालले सार्वभौम समानता, आपसी सद्भाव, आपसी लाभ र द्वन्द्वको शान्तिपूर्ण समाधानको आधारमा सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्वन गर्दै आएको जानकारी गराएको उनले बताए ।

प्रधानमन्त्रीले भने, ‘मैले सम्बोधनका क्रममा असंलग्न आन्दोलनका सिद्धान्तहरु र यसका मूल्य तथा मान्यता हाम्रा लागि महत्वपूर्ण हुनुका साथै परराष्ट्र नीतिको एक आधारभूत सिद्वान्तको परिपालनाले शान्ति, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरिरहेको स्पष्ट पारें ।’

प्रधानमन्त्रीले कोभिड महामारी पश्चात् विश्वले मृत्यु, अभाव तथा बञ्चितिकरण, विस्थापन लगायतका चुनौतीहरूको सामना गर्नुपरेको भन्दै हाल बढिरहेको भू–राजनीतिक ध्रुबीकरण तथा लडाइँ र जलवायु परिवर्तनको कारण साना तथा विकासशिल राष्ट्रहरू थप मारमा परिरहेको बिषयमा समेत ध्यानाकर्षण गराएको बताए ।

प्रकाशित: ७ माघ २०८०, आईतवार ०४:४०

Leave a Reply