No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रिय भलिबलको पहिलो खेलमा पुलिस विजयी

0

 

दोधारा चाँदनी (कञ्चनपुर) । तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली पुलिस क्लब विजयी भएको छ ।

महेन्द्रनगरस्थित खुला मञ्चमा आइतबारदेखि सुरु भएको राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ३–० ले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीमाथि पुलिसले एकतर्फी जित निकालेको हो ।

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल सङ्घको समन्वय व्यवस्थापनमा सुरु भएको प्रतियोगितामा पहिलो दिन चार खेल हुने कञ्चनपुर भलिबल सङ्घका सचिव उत्तम विष्टले जानकारी दिए । त्यसैगरी दोस्रो खेलमा एपिएफ र मधेस प्रदेशले प्रतिस्पर्धा गर्दैछन् ।

“प्रतियोगिताको पहिलो दिनको तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती भिड्दा अन्तिम खेलमा कर्णाली र सुदूरपश्चिम प्रतिस्पर्धा गर्नेछन”, विष्टले भने, “दिनमा चार वटा खेल हुनेछन्, आज पहिलो दिन दुई खेलपछि प्रतियोगिता परराष्ट्रमन्त्री एनपी साउदलले उद्घाटन गर्ने कार्यक्रम छ ।”

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा एक सय ५० खेलाडी, प्रशिक्षक र व्यवस्थापक रहनेछन् । त्यसैगरी प्रतियोगितामा एक अन्तराष्ट्रिय, १२ राष्ट्रिय र १२ प्रदेशका रेफ्रीहरुको सहभागिता छ । प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशः रु चार लाख, दुई लाख र  एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले जानकारी दिए ।

प्रकाशित: १४ माघ २०८०, आईतवार ०७:२३

Leave a Reply