No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विमानस्थलमा कुटपिट प्रकरणः अध्यागमन अधिकृतलाई फिर्ता र असईलाई निलम्बन गर्न सिफारिस

0

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटापिट घटनाबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।

सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको हो । समितिको तर्फबाट छानबिन प्रतिवेदन पेस भएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन् ।

समितिले कुटपिटमा संलग्न असईलाई निलम्बन र अध्यागमन अधिकृतलाई फिर्ता बोलाउन सिफारिस गरेको बताइएको छ । त्यस्तै समितिले अन्य दुईजनालाई विभागीय कारबाही गर्न मन्त्रालयलाई सुझाव दिएको छ । जाँच गर्ने ठाउँमा खटिएका असई प्रकाश चौधरीले राम्ररी कमाण्ड गर्न नसक्दा कुटपिटसम्मको घटना भएको निष्कर्ष समितिले निकालेको छ ।

प्रहरीले जाँच गर्दा कुटपिटमा उत्रिएका अध्यागमन विभागका अधिकृत छायाँलाल मोक्तानलाई विमानस्थलबाट हटाएर विभागीय कारबाही गर्न समितिले सिफारिस गरेको छ । गत शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तानलाई प्रहरीले जाँच गर्दा कुटाकुट भएको थियो । समितिले छानबिन थालेको पाँचौँ दिनमा छानबिन प्रतिवेदन बुझाएको हो ।

समितिले कुटपिटमा संलग्न प्रहरी र अध्यागमनका कर्मचारीहरुसँग बयान लिएको थियो । समितिमा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला तथा सीमा तथा अध्यागमन प्रशासन शाखाका उप–सचिव कुल बहादुर जिसी सदस्य थिए ।

प्रकाशित: १७ माघ २०८०, बुधबार १५:२८

Leave a Reply