No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘जनयुद्ध’ केका लागि भनेको त दुई–दुई वर्ष प्रधानमन्त्रीका लागि रहेछःअध्यक्ष ओली

0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई पीडितमैत्री बनाएर टुंगो लगाउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा मानवअधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पीडितलाई अन्याय हुनेगरी सङ्क्रमणकालीन न्यायको विषय टुंगिन नसक्ने बताएका हुन् ।

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने पक्षमा नरहेको आरोप लगाए । उनले त्यसकै परिणाम १८ वर्षसम्म त्यसलाई नटुङ्ग्याएर पीडितमाथि अन्याय गरिएको बताए । हिंसा मच्चाउनेहरू १८ वर्षअघि नै सत्तामा पुग्दा पनि पीडितले न्याय नपाएको भन्दै उनले अहिले टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्ने दुवै सरकारमा रहेको तर्क गरे ।

उनले भने, ‘राज्यबाट मानव अधिकार उल्लघंन गर्ने पनि सरकारमै छन्। विद्रोही भनिएकाहरू पनि अहिले सरकारमै छन्। दुवै सरकारमा शासक भएका छन्। लडाइँ केका लागि भनेको त दुई–दुई वर्ष प्रधानमन्त्रीका लागि रहेछ ।’

त्यस्तै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाउन नहुने बताए । सर्वोच्च अदालतको आदेश, अन्तराष्ट्रिय मूल्यमान्यता र मानव अधिकार आयोगको निर्देशनलाई ध्यानमा राखेर यसलाई निष्कर्षमा पुराउनुपर्ने उनको भनाइ छ ।

कोइरालाले जनताका लागि नभइ नेताहरुका लागि मात्रै लोकतन्त्र आएको महशुस भएको धारणा राखे । त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले दोषीलाई कारवाही तथा पीडितलाई न्याय प्रदान गर्ने र अन्तर्राष्ट्रिय समुदाय समेत विश्वस्त हुने गरी संक्रमणकालीन न्यायसंग सम्बन्धीत बिषयलाई टुङ्गोमा पुराउनुपर्ने बताए ।

प्रकाशित: १ फाल्गुन २०८०, मंगलवार १२:०३

Leave a Reply