No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

क्यानडालाई पराजित गर्दै नेपाल ए विजयी

0

काठमाडौं । क्यानडा ११ विरुद्ध जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ विजयी भएको छ । मंगलबार दिउँसो भएको दोस्रो खेलमा क्यानडा ११ लाई दुई विकेटले पराजित गर्दै नेपालले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको हो । नेपाल ‘ए’ले इतिहासमै पहिलो जित निकालेको हो ।

जितको लागि २ सय ४० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४९.१ ओभरमा ८ विकेटको क्षतिमा २ सय ४१ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । नेपालको लागि कप्तान सन्दीप जोरा र बासिर अहमदले अर्धसतक बनाए । सन्दीपले ७४ बलमा ७ चौका र एक छक्काको मद्दतमा ६६ रन बनाउँदा बसिरले ५२ रन बनाए । उनले ७३ बलमा ४ चौका र  एक छक्का हिर्काए । यस्तै रसिद खानले ४७, अर्जुन कुमालले ४० र किरण थागुन्नाले १३ रनको योगदान गरे ।

क्यानडाको लागि अमर खालिद, शहिद अहमाद्जाई र निखिल दत्तले समान २/२ विकेट लिंदा साद जफर र हर्श ठाकेरले एक/एक विकेट लिए ।

यसअघि मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको क्यानडा–११ ले निर्धारित ४९.५ ओभरमा अलआउट हुँदै २४० रन बनाउन सफल भएको थियो ।

श्रेयस मोभाले मध्यक्रममा उत्कृष्ट ब्याटिङ गर्दै ८२ बलमा ६८ रन जोडे । ५ चौका प्रहार गरेका उनी अन्तिम ओभरमा मिड अफमा क्याच आउट भएका थिए । मोभासँगै क्यानडाका लागि ओपनरद्वय आरोन जोन्सन र सृमन्थ विजयरत्नेसँगै नवनित धलिवलले राम्रो ब्याटिङ गरे । नेपालका लागि साहब आलमले ३ विकेट लिए । शेर मल्ल र राशीद खानले २–२ तथा सागर ढकाल र बसिर अहमंदले १–१ विकेट लिए ।

पहिलो विकेटको लागि ६४ रनको साझेदारी गरेपछि १२औं ओभरको तेस्रो बलमा आरोन जोन्सन आउट भए । उनी सागर ढकालको एलबीडब्लु धरापमा परे । जोन्सनले ३८ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । १५ औं ओभरको तेस्रो बलमा निकोलस किर्तन ७ रन जोड्दै साहब आलमको बलमा बोल्ड भए । अब दुई टोलीबीचको तेस्रो तथा अन्तिम बिहीबार हुनेछ ।

प्रकाशित: ८ फाल्गुन २०८०, मंगलवार ११:२०

Leave a Reply