No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मुगल साम्राज्यकी राजकुमारीको लुकाइएको इतिहास

0

सन् १५७६ को शरद् ऋतुको कुनै दिन एक मुगल राजकुमारी मक्का र मदिनाको तीर्थयात्रामा निस्किन्। गुलबदन बेगमको नेतृत्वमा राजपरिवारका महिला सदस्यहरू सम्मिलित त्यो यात्रा अभूतपूर्व थियो। मुगलकालीन भारतमा कुनै महिला हजमा गएको त्यो पहिलो पटक थियो। मक्का र मदिनाको तीर्थयात्रा वा हजलाई इस्लाम धर्मका पाँच स्तम्भमध्ये एक मानिन्छ। मुगल साम्राज्यका संस्थापक बाबरकी ५३ वर्षीया छोरी र राजपरिवारका अन्य ११ जना महिलाको फतेहपुर सिकरीभन्दा धेरै टाढाको यात्रा छ वर्षसम्म चल्यो।

तर यो ’ऐतिहासिक’ यात्राको विस्तृत विवरण भने अभिलेखकृत भएको पाइँदैन। सम्भवतः दरबारका पुरुष इतिहासकारहरूले महिला यात्री र तिनको तीर्थयात्राको ‘सामान्यता र पवित्रता’ बचाउन यसबारे खासै लेखेनन् भन्ने इतिहासविद्हरूको मत छ।

‘मौन’ इतिहास
गुलबदनको जीवनबारे इतिहासकार रुबी लालको नयाँ पुस्तक ‘भेगबन्ड प्रिन्सेस : द ग्रेट अड्भेन्चर्स अफ गुलबदन’ सार्वजनिक भएको छ। लालका अनुसार गुलबदनको त्यो तीर्थयात्रा वीरता र करुणा मात्र नभई विद्रोहले भरिएको थियो। गुलबदनलाई मुगल साम्राज्यको पहिली र एक मात्र नारी इतिहासकार मानिएको छ। उनले आफ्नो जीवनको अनुभवबारे ’हुमायूँनामा’ शीर्षकको पुस्तक लेखेकी छन्। तर त्यस पुस्तकमा पनि उनको यात्राबारे विस्तृत जानकारी नहुनु रहस्यमय छ।

हुन त उनको पुस्तक अपूर्ण रहेको र यसका धेरै पृष्ठहरू हराएको इतिहासविद्हरूको मत छ। ‘जुन समयमा उनले लेखिन्, त्यति बेला अन्य लेखकहरूका लागि राजपरिवारका सदस्यले लेखेका कृतिको प्रतिलिपि बनाइनु सामान्य थियो,’ लाल भन्छिन्, ‘तर गुलबदनको कृतिको कुनै प्रतिलिपि अस्तित्वमा छैन।’ अटमन इतिहासबारे अनि फारसी र मुगल दस्ताबेजको गहन अध्ययनमा यस यात्राबारे पाएको आंशिक सूचनालाई आफूले सङ्कलन गरी यो पुस्तक तयार गरेको लालको दाबी छ। ‘यति शक्तिशाली महिलाको अभूतपूर्व यात्राबारेको यो मौनताले धेरै कुरा बताएको छ।’

पुरुषसँगको दूरी र महिलासँगको सामीप्य
‘गुलबदन’को सामान्य अर्थ गुलाबी रङ्गको त्वचा भएकी महिला हो। गुलबदन बेगमको जन्म सन् १५२३ मा काबुलमा भएको थियो। उनी सम्राट् बाबरकी तेस्री श्रीमती दिलदार बेगमकी छोरी थिइन्। उनको जन्मका बेला उनका पिता त्यतिबेला ‘हिन्दुस्तान’ भनिने भारतीय उपमहाद्वीपको ठूलो हिस्सामाथि विजय प्राप्त गर्ने योजना बनाउन फतेहपुर सिकरीभन्दा कोशौँ टाढा थिए। युद्धका बीच फुर्सद निकालेर बेलाबेला घर आउँदा मात्र पितासँग उनको भेट हुन्थ्यो।

यो दूरीले पितासँग मात्र नभई उनका सौतेनी दाजु हुमायूँ र ती दाजुका छोरा अकबरलगायत परिवारका अन्य पुरुष सदस्यसँग उनको सम्बन्ध परिभाषित गर्दछ। राजपरिवारका पुरुषहरू टाढाटाढा रहेका राज्यमा प्रभुत्व जमाउन रक्तपातपूर्ण युद्धमा व्यस्त रहँदा गुलबदन सशक्त महिलाहरूमाझ हुर्किइन्। पुरुषको अनुपस्थितिमा सम्राट्की आमा, दिदीबहिनी, रानी र उनीहरूका छोरीहरूले राजकाजमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकै थिए। उनीहरू राजा र राजकुमारका सल्लाहकार र विश्वसनीय साथी पनि थिए। सम्राट् बाबरले आगरा कब्जा गरेपछि गुलबदन काबुलबाट आगरा गइन्। त्यहाँ जाने उनी प्रथम मुगल बालिका थिइन् र यसले पनि उनको जीवनमा प्रभाव पारेको छ।

विद्रोहको पृष्ठभूमि
अफगान राजा शेर शाह सुरीले बाबरको परिवारलाई हिन्दुस्तानबाट निकालेपछि गुलबदन पनि जन्मस्थान काबुल फर्किइन्। त्यति बेलासम्म उनको बिहे भइसकेको थियो। यो कठिन र महिनौँ लामो यात्रा थियो। गुलबदन र राजपरिवारका अन्य महिलाहरू उजाड पहाडमा पालकी र घोडामा यात्रारत रहँदा उनीहरूले शत्रु र चोरजस्ता चुनौतीको सामना गर्नुपर्थ्यो। ‘मुगल महिलाहरू फरकफरक स्थानमा यात्रा गर्न अभ्यस्त थिए,’ लाल भन्छिन्। ‘युद्धका क्रममा पुरुषहरूसँग यात्रा गर्दा उनीहरू नियमित रूपमा नयाँ ठाउँ सर्दै अस्थायी शिविरमा बस्थे।’

यसरी विकास भएको यात्राको हुटहुटीकै कारण उनले सोह्रौँ शताब्दीको उत्तरार्धमा आफ्ना भदा अकबरसँग हजमा जाने अनुमति मागेको लालको भनाइ छ। मुगलवंशको सर्वोच्चता स्थापित गर्नु अकबरको सबैभन्दा ठूलो महत्त्वाकाङ्क्षा थियो र उनी हिन्दुस्तानमा त्यसतर्फ अगाडि बढ्दै थिए। त्यस क्रममा उनले ‘आफूलाई पूजनीय र कहिल्यै गल्ती नगर्ने अधिकारीका रूपमा देखाउन थालेको’ लालले लेखेकी छन्। त्यसपछि उनी सबै मुगल नारीहरूलाई ’हारीम’को पर्खालभित्र नै रहन आदेश दिने पहिलो शासक बने। लाल लेख्छिन्, ‘गौरवशाली तथा अछुत महिलाहरू रहेको तथा सम्राट्ले मात्र प्रवेश पाउने शाही हारीमको अक्षुण्णता… उनको प्रायःदेवत्वको प्रमाण मानिएको थियो।’

यात्राको तयारी
तर यो स्थिर सीमाले गुलबदनलाई बेचैन बनायो। त्यसैले सन् १५७६ को अक्टोबरमा उनको नेतृत्वमा राजपरिवारका महिलाहरू मक्का जान भनी निस्किए।यात्राको अनुमति माग्ने क्रममा उनले अकबरलाई आफूले अल्लाहलाई यसबारे प्रतिज्ञा गरेको बताएकी थिइन्। यात्राका लागि अकबरले आफैँले बनाएका दुई मुगल पानीजहाज सालिमी र इलाहीको व्यवस्था गरे। दान दिनका लागि भनेर चाँदी र सुनका टुक्राले भरिएको र सुनले रेखाङ्कित बाकस तयार गरियो। टोलीको साथमा हजारौँ रुपैयाँ नगद र १२ हजार ’प्रतिष्ठा पोसाक’ (ड्रेसेस अफ अनर) थिए। उनीहरूको प्रस्थानको क्षण हेर्न ‘मुगल राजधानी फतेहपुर सिकरीको सडकमा सर्वसाधारण पुरुष तथा महिला, वृद्ध र तरुण लाइन लागेको’ लालले आफ्नो पुस्तकमा लेखेकी छन्।

तर यो यात्रामा सुरुदेखि नै खतराहरू थिए। मक्का जाने समुद्री मार्ग पोर्चगीजको नियन्त्रणमा थियो र उनीहरू मुस्लिम जहाजमा आगो लगाएर लुटपाट मच्चाएर कुख्यात भएका थिए। पर्सिया हुँदै जाने स्थलमार्ग पनि उत्तिकै असुरक्षित थियो। त्यहाँ यात्रुहरूमाथि आक्रमण गर्ने लडाकु समूहले प्रश्रय पाएको जानकारी थियो। पोर्चगीजबाट छुटकारा पाएर सुरक्षित यात्रा गर्नुअघि गुलबदनको टोली सुरत बन्दरगाहमै झन्डै एक वर्ष रोकियो। जेद्दा पुग्नका लागि उनीहरूले अरब सागरमा चार साता यात्रा गरे। त्यसपछि तातो मरुभूमिको बालुवामा उँट चढेर धेरै दिनमा मक्का पुगे।

सुल्तान मुरादको प्रतिरोध
तर गुलबदनको यात्राको सबैभन्दा रोचक चरण उनी मक्का पुगेपछि आयो। उनको नेतृत्वको टोलीले चार वर्षसम्म अरेबियामै बस्ने निधो गर्यो। ‘हारीम छाड्ने निर्णयमा उनीहरू जसरी एकमत थिए, मरुभूमिमा ’फकिर’ र ’मुजाविर’का रूपमा बिताउने कुरा पनि सर्वसम्मत रोजाइ थियो,’ लालले लेखेकी छन्। त्यहाँ उनीहरूले दानदक्षिणाका रूपमा यति पैसा र अन्य सामग्री बाँडे कि उनीहरूको व्यापक चर्चा भयो। तर राजकुमारी गुलबदनको दानशीलताले अटमन सुल्तान मुरादलाई क्रुद्ध बनायो। उनले यसलाई अकबरको राजनीतिक सामर्थ्यको प्रमाणका रूपमा लिए। त्यसपछि सुल्तानले गुलबदन र अन्य मुगल महिलाहरूलाई अरेबियाबाट निष्कासन गर्न आफ्ना भारदारहरूलाई आदेश दिए।  उनले चार पटक यस्तो आदेश दिए तर प्रत्येक पटक गुलबदनले अटेर गरिन्। ‘यो कुनै मुगल नारीले गरेको विद्रोहको अभूतपूर्व कदम थियो,’ लाल भन्छिन्। ‘यसले आफ्नो स्वतन्त्रताको चाहनाप्रति गुलबदन कति प्रतिबद्ध थिइन् भन्ने देखाउँछ।’

अनि अकबरको मन जितिन्
गुलबदनकी जिद्दीपनबाट चिन्तित सुल्तानले अन्ततः ती नारीहरूका लागि अटमन टर्किश भाषामा कठोर आलोचनाका लागि प्रयोग गरिने शब्द ’ना–मश्रू’ (अनुपयुक्त वा गलत काम) प्रयोग गरे। यो शब्द यति सशक्त थियो कि यसले अकबरलाई पनि दुःखी बनायो। सन् १५८० को पाँचौँ आदेशपछि गुलबदनको टोलीले अरेबिया छाड्यो। सन् १५८२ मा उनको टोली फतेहपुर सिकरीबाट करिब ६० किलोमिटर पश्चिममा रहेको खन्वा पुग्यो। टोली फर्कँदा गुलबदनलाई ’नवाब’ (शासक)का रूपमा जयजयकार गरियो। उनीबाट सम्राट् अकबर पनि यति प्रभावित भएका थिए कि उनले फुपू गुलबदनलाई आफ्नो वंशको महिमासहितको पुस्तक ’अकबरनामा’मा योगदान गर्न निम्त्याए। उनी त्यसका लागि छानिएकी एक मात्र महिला थिइन्। ’अकबरनामा’को एउटा सिङ्गो खण्ड नै गुलबदनको मक्का यात्राबारे लेखिएको भए पनि उनले अरेबियामा बिताएको समय र सुल्तान मुरादसँगको टक्करबारे न त त्यो पुस्तकमा उल्लेख छ, न अन्यत्र।

शेरिलन मोलन, बीबीसी ।

प्रकाशित: १२ फाल्गुन २०८०, शनिबार ०५:०६

Leave a Reply