No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मिनी म्याराथनको उपाधि त्रिभुवन आर्मीका पाललाई

0

 

चितवन । रोटरी क्लब अफ रत्ननगरले आयोजना गरेको रोटरी मिनी म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका मुकेशबहादुर पालले हात पारेका छन् । उनले निर्धारित दूरी १५ दशमलव चार किलोमिटरको दूरी ४६ मिनेट ३८ सेकेण्डमा पार गरे ।

नारायणगढस्थित नारायणी नदी किनारबाट सुरु भएको दौड रत्ननगरको हरिहर मन्दिर पुगेर टुङ्गिएको थियो । पाललाई उपाधिसँगै नगद रु एक लाख, चाँदीको मेडल र प्रमाणपत्रसहित सम्मान गरियो ।

प्रतियोगितामा दोस्रो स्थानमा त्रिभुवन आर्मीकै सञ्जय श्रेष्ठ रहे । उनले निर्धारित दूरी ४६ मिनेट ४१ सेकेण्डमा पार गरे । उनलाई रु ५० हजार, चाँदीको मेडल र प्रमाणपत्रसहित सम्मान गरियो ।

जुम्लाका दुर्गाबहादुर बुढाले ४६ मिनेट ४२ सेकेण्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भए । उनलाई रु २५ हजार, चाँदीको मेडल र प्रमाणपत्रले सम्मान गरियो ।

त्रिभुवन आर्मीका टङ्क कार्की चौथो र सुवास कार्की पाँचौँ भए । उनीहरूले क्रमशः  १० हजार र पाँच हजार प्राप्त गरे । छैटौँदेखि १०औँ स्थानसम्म क्रमशः नागेश्वर अहिर, प्रेमबहादुर बस्नेत, राजेन्द्र तामाङ, खिमबहादुर खत्री र धनु मानन्धर भए । उनीहरूले जनही  तीन हजार प्राप्त गरे ।

महिलातर्फको पाँच किमी दौडमा सशस्त्रकी फूलमती राना प्रथम भइन् । उनले निधारित दूरी १८ मिनेट १६ सेकेण्डमा पार गरिन् । उनलाई रु २० हजार, चाँदीको मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । दोस्रो भएकी त्रिभुवन आर्मीकी सुनसरी रोकायाले १८ मिनेट २७ सेकेण्डमा दूरी पार गरेकी थिइन् । उनले नगद रु १० हजार, चाँदीको मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

सशस्त्रकी आशा राउत तेस्रो भइन् । उनले निर्धारित दूरी १८ मिनेट ३३ सेकेण्डमा पार गरिन्  । उनले रु पाँच हजार, चाँदीको मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

सशस्त्रकै सीमा चौधरी चौथो भइन् । उनले तीन हजार, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । पाँचौँ स्थानमा रहेकी स्मिता बुढाले रु दुई हजार पाँच सय, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । छैटौँ स्थानदेखि १०औँ स्थानसम्म रहने क्रमशः अस्मिता भुजेल, नम्रता गुरुङ, वर्षा ओली, सन्ध्या अधिकारी र लक्षिमा डाँगीले रु एक हजार, प्रमाणपत्र र मेडल प्राप्त गरे ।

खुल्लातर्फ चेपाङ समुदायका धावकलाई नगद रु दुई हजार र महिलातर्फ दूरी पार गर्ने रु एक हजारसहित सम्मान गरिएको थियो । उनीहरुलाई रोटरी डिष्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रप्रसाद ध्वजुले सम्मान गरे । क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिस नेपाल इन्टरनेशनल २०२२ न्यान्सी खड्का, कार्यक्रम संयोजक विपिन पोख्रेललगायतले भनाइ राखे ।

प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी किनारमा गरेकी थिइन् । उनले भरतपुर भ्रमण वर्षलाई टेवा पुर्याउन यस्ता कार्यक्रम महत्त्वपूर्ण रहेको बताइन् ।

प्रतियोगितामा सात सय ६५ धावकले सहभागिता जनाएका थिए । जसमध्ये खुलातर्फ चार सय ९४ जनाको सहभागिता थियो । महिलातर्फ दुई सय ७१ जनाले सहभागिता जनाए । जसमध्ये खुलातर्फ ६८  र चेपाङ समुदायका धावक र महिलातर्फ ५४ जनाले सहभागिता जनाएको कार्यक्रमका संयोजक पोख्रेलले जानकारी दिए ।

प्रकाशित: १९ फाल्गुन २०८०, शनिबार १२:४१

Leave a Reply