No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

झापा गोल्डकपमा  एपिएफ सेमिफाइनलमा

0

 

झापा । विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ संस्करणको झापा गोल्डकपको आजको खेलमा एपिएफ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले बागमती युथ क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो ।

एपिएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदीप कार्की र प्रदीप लामाले गोल गरेका थिए । बागमतीका अभि लामा, विमल घिसिङ र दिवस लिम्बूले गोल गरेभने निर्मल घिसिङ र अनिल राना मगरको प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले विफल बनाएका थिए ।

एपिएफ ‘ए’ डिभिजन लिगबाट रेलिगेसनमा परेको छ । यद्यपि, एपिएफले अर्काे क्लबमाथि गरेको उजुरी छानबिन नभएसम्म यसको निर्णय भएको छैन । एपिएफले पहिलो चरणको खेलमा ‘टाइब्रेकर’मा सङ्कटा फुटबल क्लबलाई हराउँदै क्वार्टर फाइनल प्रवेश गरेको थियो ।

खेलको १०औँ मिनेटमा पेनाल्टी एरियाबाट बागमतीका अनिल राना मगरले गरेको कडा प्रहार फ्रेममा पर्न सकेन । २६औँ मिनेटमा सनम धिमालले पेनाल्टी एरियाबाट गरेको प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए ।

पहिलो हाफको इन्जुरी समयमा अग्रता बनाउने अवसर बागमतीले गुमाएको थियो । बागमतीका निर्मल घिसिङको फ्री किक बारको नजिकैबाट बाहिरिएको थियो । खेलको ५४औँ मिनेटमा एपिएफका दीपेश धिमालले गरेको प्रहार गोलपोस्टमा लागेको थियो । खेलको अधिकांश समय बल नियन्त्रणमा लिए पनि एपिएफको फिनिसिङमा कमजोरी देखिएको थियो । खेल अवधिभर एपिएफलाई बागमतीले दबाबमा राखेको थियो ।

खेलको ‘प्लेयर अफ द म्याच’ एपिएफ फुटबल क्लबका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भएर  ११ हजार नगद पुरस्कार प्राप्त गरे । पहिलो चरणको खेलमा पनि श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ भएका थिए । मङ्गलबारको दोस्रो क्वार्टर फाइनल खेल एनआरटी फुटबल क्लब काठमाडौँ र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुनेछ ।

यसैबीच, नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश कमिटीले आज आयोजना गरेको केपी ओली ‘रोड रेस’ प्रतियोगिताको उपाधि पुरुषतर्फ दिनेशकुमार यादव र महिलातर्फको उपाधि राममाया बुढाले जितेका छन् ।

दुवैजना विजेताले पुरस्कारस्वरुप जनही ५१ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । आज ५१औँ सुखानी स्मृति दिवसका अवसर पारेर आयोजना गरिएको झापाको चारपाने चोकबाट इलाम र झापाको सङ्गमस्थल सुखानी सहिद पार्कसम्म १० किलोमिटर दूरीको दौड प्रतियोगितामा यादव र बुढाले उपाधि जितेका हुन् ।

धावक यादवले ५१ मिनेट २३ सेकेन्डमा १० किलोमिटरको दूरी पार गर्दै विजेता बनेका थिएभने महिलातर्फकी विजेता बुढाले ५९ मिनेटमा दूरी पार गरेकी थिइन् ।

यसैगरी, द्वितीय पुरुषतर्फ सन्दीप बस्नेत र महिलातर्फ पुष्पा भण्डारी भएका छन् । उनीहरुले नगद  ३१ हजार नगद, मेडल, ट्रफी प्राप्त गरेका छन् । तृतीय बन्ने खेलाडीहरुमा पुरुषतर्फ पवन कार्की र महिलातर्फ फूलमति राना छन् ।

उनीहरुले जनही नगद  २१ हजार प्राप्त गरेका छन् । दुवै तर्फका उत्कृष्ट १० सम्मलाई पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताको मूल आयोजक उपसमिति संयोजक प्रकाश बस्नेतले जानकारी दिए । प्रतियोगितामा देशभरबाट चार सय ४८ जना सहभागी भएका थिए । प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित: २१ फाल्गुन २०८०, सोमबार १४:१५

Leave a Reply