No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र आर्मी विजयी

0

 

विराटनगर । मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र आर्मी विजयी भएका छन् ।

विराटनगरको बैजनाथपुर क्रिकेट रङ्गशालामा शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली नेपाल पुलिसलाई ५२ रनले पराजित गरेको छ । जितसँगै सुदूरपश्चिम तीन खेलमा दुईमा जित र एकमा पराजित हुँदै चार अङ्कको साथ दोस्रो स्थानमा उक्लिएको छ ।

टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले नारायण जोशीको विस्फोटन ब्याटिङमा निर्धारित २० ओभरमा आठ विकेट गुमाई एक सय ८३ रनको विशाल स्कोर खडा गरेको थियो । सुदूपश्चिमका लागि अविशेक पालले ३९ बलमा दुई छक्का र सात चौका प्रहार गरी ५८ रन बनाउँदा प्लेयर अफ द म्याच नारायण जोशीले १२ बलमा छ छक्का प्रहार गरी ४० रन र किरण ठगुन्नाले ३० रनको योगदान दिए ।

पुलिसका शरद भेश्वाकरले चार ओभरमा एक मेडन राख्दै तीन विकेट लिँदा मन्जित श्रेष्ठले दुई विकेट लिए । जवाफमा एक सय ८४ रनको विशाल लक्ष्य पाएको पुलिसले निर्धारित २० ओभरमा छ विकेट गुमाई एक सय ३१ रन मात्र बनाउन सक्यो । पुलिसका शङ्कर राना ९१ रनमा अविजित रहे । रानाले ६२ बलमा पाँच छक्का र नौ चौका प्रहार गरेका थिए ।  त्यस्तै अविशेक कार्कीले  २० बनाए । सुदूरपश्चिमका दीपक चन्द र शेर मल्लले पनि दुई  विकेट र नारायण जोशीले एक विकेट लिए ।

आजै भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मीले  कर्णाली प्रदेशलाई आठ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाई एक सय ४० रनको योगफल तयार पारेको थियो ।

आर्मीका प्लेयर अफ द म्याच  वसिर अहमदले ३८ बलमा दुई छक्का र दुई चौका प्रहार गरी ४२ रन बनाउदा सन्दीप रजालीले अविजित ४१ रन र सन्तोष कार्कीले ३४ रनको योगदान दिए । कर्णलीका प्रकाश जैशीले दुई विकेट लिँदा दिनेश अधिकारी र दीपेन्द्र रावतले एक÷एक विकेट लिए ।

एक सय ४१ को लक्ष्य पछ्याएको कर्णालीले निर्धारित ओभरमा छ विकेट गुमाई एक सय ३२ रन मात्र जोड्न सक्यो ।  कर्णालीका लागि दीपेन्द्र रावतले नटआउट ४७ रन बनाउँदा  रवीन्द्र शाहीले २२ रन र विपीन रावतले १८ रनको योगदान दिए । आर्मीका नितेश पटेलले दुई विकेट लिँदा तीर्थराज दास, पवन कार्की, शहाव अलाम वसिर अहमदले एक÷एक विकेट लिए ।

शनिबारको पहिलो खेल कर्णाली र एपिएफ र तथा दोस्रो खेल वागमती र लुम्बिनीबीच खेल हुने मोरङ क्रिकेट सङ्घका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

प्रकाशित: २५ फाल्गुन २०८०, शुक्रबार १४:०९

Leave a Reply