No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गाउँ निल्दै निर्लज्ज शहर

0

डा. गोविन्दशरण उपाध्याय ।
प्राचीनकालदेखि नै सहरको पहिचान नै ‘ठूलाठूला’ घर रहँदै आएका छन् । चाक्लो बाटो, बत्तिको झिलिमिली, लहरै बनेका पसलहरू तथा गाउँमा नपाइने सुविधाहरू सहरका पहिचान हुन् । गाउँका मान्छेहरू ‘सुख’ पाउन सहर पस्छन् । गाउँलेहरूले सहरियालाई सुखी ठान्छन् । जतिजति सहर फैलिंदै जान्छ, त्यतित्यति धरती प्रदूषित बन्छे, प्रकृतिले आफ्नो मौलिकता गुमाउंदै जान्छे । विश्वास गर्नुस्, नगर्नुस् यो पृथ्वीका लागि सहरहरू सबैभन्दा निर्लज्ज शत्रु हुन् । प्रकृतिलाई प्रदूषित गर्ने पहिलो मानवीय निर्माण नै सहर हो । यसको अर्को पाटो पनि छ । प्रकृतिलाई प्रदूषित पार्ने सबैभन्दा ‘पापी’ ठाउँ पनि सहर नै हो । गाउँलाई निर्लज्ज तवरले ‘अविकसित’ भन्दै नाक खुम्च्याउने पनि सहर नै हो । ठूलाठुला घर बनाएर प्राकृतिक विश्वलाई ‘बोक्ने नसक्ने’ भारी बोकाउने पनि सहर नै हुन् । कुनै पनि गाउँले नदीनाला, पँधेरा, प्राचीन सम्पदा विनाश गरेको वा प्रदूषित गरेको सुन्नु भएको छ ? छैन तर बाग्मती, विष्णुमति, रूद्रमतिहरूलाई “ढल“ बनाउँदा पनि ‘लाज’ नमान्ने निर्लज्ज सहर नै हो ।

आजका ‘विकसित’ मान्छेहरू ठूलो इलाकामा फैलिएको धेरैधेरै गगनचुम्वी बिल्डिंगहरूले भरिएको सहरलाई ‘विकासको प्रतिमान’ मान्छन् । जताततै लमतन्न फैलिएका काला सडकहरू, ती काला सडकहरूमा धुँवा उदाउँदै हाम्रो एकमात्र वासस्थल पृथ्वीको प्रकृतिलाई बलात्कार गरिरहेका सवारीसाधनहरू, व्यापार गर्न खोलिएका असंख्य कारखानाहरू, अध्यारोलाई नष्ट गरेर ‘अन्धकार जीवि’ प्राणिहरूको अस्तित्व मास्ने “लाइट“हरू तथा कान नै फुट्ने गरी बोल्ने लाउड–स्पीकरहरूले हरहमेशा प्रकृतिलाई बलात्कार गरिरहेका छन् । सहरियाहरू आफ्नो व्यक्तिगत स्वार्थका लागि सहर फैलाईरहेका छन् ।

प्रकृतिसंग हातेमालो गर्ने गाउँका माटे घरहरू, टुकीमा बल्ने बत्तिहरू, कोदालाले खनेर मिलाएका बाटाहरू, आफ्नो खेतमा कृषिमा रमाएका र माटोको टीको लगाएका कृषकहरूले पृथ्वीको उपकार नै भएको छ । सहरले उत्सृजित गरेको कार्वन–उत्सृजनको प्राकृतिक प्रदुषणलाई गाउँले रुख रोपेर जोगाएको छ । गाउँले कुनै नदीनालालाई प्रदूषित गरेको छैन । कुनै प्राकृतिक प्राणिको अस्तित्व मासेको छैन । व्यापारका लागि मौलिक प्रकृतिचक्रलाई सिमेन्टका विल्डिंगले थिचेको छैन । तर दुखको कुराः सहरहरूले निरन्तर गाउँहरू अतिक्रमण गरिरहेका छन् । आज सहरको प्रदुषण निर्लज्ज रूपमा गाउँगाउँतिर सर्न थालेको छ ।

आफ्नो स्वार्थका लागि प्रकृतिको निर्लज्ज बलात्कार गर्ने सहरले गाउँमा अतिक्रमण गरेसँगै गाउँहरूमा वर्णसंकरहरू जन्मिएका छन् । गाउँलाई सहर बनाउने योजनाहरूले खेत–खलिहानहरू, नदीनालाहरू प्राकृतिक जीवनशैलीका मानवीय कर्महरू प्राकृतिक चक्रमा मोबाइल, टेलिभिजन तथा इन्टरनेटको ग्रहण लागेको छ । नदीलाई “गङ्गा“का रूपमा पूजा गर्ने ग्रामीणहरू सहरियाको नक्कल गर्दै ढलहरू “नदीतिर बगाउँन थालेका छन् । खेतवारीहरू बाँझो बनेपछि सहर गाउँतिर छिरेको प्रमाणित भएको छ ।

मैले अनुभव गरिरहेको छु सहर स्वार्थको व्यापार गर्छ । यदि नाफा देख्यो भने यसले गाउँलाई निल्छ, नदीनालाहरू निल्छ, पहाड़हरू निल्छ, हिमालहरू निल्छ । सहर सगरमाथामा पुगेपछि सगरमाथा सहरीया प्रदुषणले दूषित भएको छ । चाउचाउका खोलहरू, कोकाकोलाका बोतलहरू, विदेशी रक्सीका सीसाहरूजस्ता असंख्य ‘सहर’ले मुक्तिनाथहरू दुखिरहेका छन् । सहर यतिबिध्न निर्लज्ज छ कि उसले आफ्नो अत्याचार देख्दैन, उल्टो गाउँलाई ‘पाखे, अशिक्षित, असभ्य तथा फोहोरी’ भएको आरोप लगाउँछ । गाउले सोझा हुन्छन् भन्दै सोझोपनसंग कोकाकोलाको व्यापार गर्छ ।

जव सहरले गाउँलाई अतिक्रमण गर्छ, त्यस बखतदेखि हजारौं वर्षदेखि जडिबुटी खोजेर गरिने रोगका उपचारहरू महङ्गा एल्लोपेथिक औषधिले विस्थापित गर्छन् । सित्तैमा पाइने सीमलीको पातको तीतोले निरन्तर निको हुँदै आएको ज्वरो, उप्रान्त एन्टीबाइटीक नखाई निको नहुने भएको छ । राडीमा पलेथी मारेर बसेका केटालाई केटीसंग देखभेट भएर रजमंदी हुँदासाथ सहजरूपमा समापन विवाहहरू हल्दीदेखि रक्सीको पार्टी र आफ्नो इज्जत धान्न दिनु पर्ने दाइजोले किचिएर अभिभावकहरू आत्महत्या गर्न बाध्य भएका छन् । सहर सभ्य हुन्छ र यस्तो सभ्यतालाई जोगाई राख्न ‘दाइजो’ माग्छ । आज शहरले गाउँलाई अतिक्रम गरेसंगै ‘दाइजो’ले गाउँलाई समेत प्रदूषित गरेको छ ।

पोहोरसाल हाम्रो गाउँमा सहरतिरबाट एउटा डोजर छिरेको थियो । उसले मेरा पुर्खाले लगाएको जोर–चौपारीमा उभिएका वरपिपल उखेलेर गण्डकीमा बगायो । गाउँलेले हजारौं वर्षदेखि प्रयोग गर्दै आएको पँधेरो ‘प्रदूषित’ भन्दै सधैंको लागि छोपी दियो । मेरा पुर्खाले खर–घास काटेका खरवारीहरू ‘बाटो’ले निम्त्याएका पैरोको भेट चढे । डोजरले बाटो बनायो । त्यो बाटोबाट मोटर चढेर मेरो गाउँका दुधारू भैसीहरू ‘मम’ बन्न सहर आइ पुगे । फेरि ‘मम’का रूपमा प्याक भएर त्यही सहर गाउँमा पुग्यो । हाम्रा पूर्खाले चिनेका चौपारीहरू, खनेका पोखरीहरू, गाई चराउनका लागि छोडिएका चरनहरू सहरले निल्दैछ ।
–क्रमशः

प्रकाशित: २५ फाल्गुन २०८०, शुक्रबार १५:५१

Leave a Reply