No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रचण्डको ‘उथलपुथल’ले देशका युवाको विदेश पलायनमा किन क्रमभंगता आएन त ?

0

काठमाडौं । गत सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘म त म भइहालेँ, म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ ।’ सुन्नुभयो नि, देशका प्रधानमन्त्री, नेकपा माओवादी केन्द्रका सुप्रिमो प्रचण्डलाई आफ्ना हरेक राजनीतिक कदमको बचाउ गर्ने बानी छ । सत्तागठबन्धन परिवर्तनको औचित्य पुष्टि गर्ने प्रचण्ड वाणीले उनी नियन्त्रित अस्थिरताको नायक भएको पुष्टि गर्दछ । विपक्षी दलले अविश्वास प्रस्ताव नराख्दै वा सरकार विरुद्ध कुनै कदम नउचाल्दै, सत्तासहयात्री दलहरुले कुनै दृश्य अदृश्य असहयोग नगर्दै सत्ता गठबनधनमा आफू खुसी परिवर्तन गरेका प्रधानमन्त्री प्रचण्डका लागि अगाडिका दिन सहज छैनन् ।

आफ्नो सत्ताको संकट आफैं निम्त्याएका प्रधानमन्त्री प्रचण्डका लागि आगामी संसदीय अंकगणित र राजनीतिक छिनाझपटीले चुनौतिपूर्ण नै छन् । सो कुरा फागुन २४ को संसद सम्बोधनमा उनले स्वीकार पनि गरेको देखियो । आम चुनाव २०७९ पछि प्रचण्ड प्रधानमन्त्री हुने महात्वाकाँक्षा पुरा भएको छ । २०७९ पुस १० यता उनले सुरुमा एमालेसँग, त्यसको दुई महिनापछि काँग्रेससंग र अहिले पुनः एमालेसँग मिलेर आफ्नो पद जोगाएका छन् । तर सरकारको स्थिरता र राजनीतिक गठबन्धनमा चर्को अस्थिरता र अन्यौल पनि उनी आफैंले थपेका छन् । देश आर्थिक मन्दीको चपेटामा परेका बेला देशका कार्यकारी प्रधानमन्त्रीले आफ्नो कुर्सी जोगाउन वेमौसमी सत्ता गठबन्धन अदलबदल गरिरहने प्रवृत्तिले आम नागरिकमा सरकार र राजनीतिक दलहरुप्रति अविश्वास र वितृष्ण बढाएको कटु सत्य हो ।

कम्तिमा यो संसदकालमा प्रचण्डले काँग्रेस र एमाले दुबै ठूला दललाई आलोपालो राजनीतिक धोका दिएका छन् । संसदको तेस्रो दल हुनुका नाताले उनले कहिले काँग्रेस त कहिले एमालेको साथ लिएर सत्तामा टिकिरहने जुन नीति लिएका छन्, यसले उनी अन्त्यमा यता न उताको हुनुपर्ने खतरालाई पनि देखाइरहेको छ । लोक जान्दछ, २०५२ को माओवादी जनयुद्धदेखि आज पर्यन्त देश सकारात्मक वा नकारात्मक कोणबाट प्रचण्डकै कदमले तरंगित छ । तर प्रचण्डका हरेक तरंगले आम नागरिकलाई आशा, विश्वास र भरोसा जगाएको, बढाएको छैन । प्रचण्डकै शव्दमा उनी बाचुन्जेल सधै उथलपुथल मात्रै गरिरहने हो भने त्यो किन सत्ताका लागि मात्र केन्द्रित हुने त ?

प्रचण्डले प्रधानमन्त्रीको कुर्सीमा बसिरहँदा जनयुद्धका बेपत्ता, घाइते र युद्ध पीडितको पक्षमा उथलपुथल किन ल्याउन सक्नु भएन त ? विस्तृत शान्ति प्रक्रियालाई किन दशकौंसम्म टुंगोमा पुर्याउन उथलपुथल गर्नु भएन त ? प्रचण्ड उथलपुथलले देशका युवाहरुको विदेश पलयानमा किन क्रमभंगता आएन त ? देशको आर्थिक मन्दी रोक्न प्रचण्ड सरकारको हस्तक्षेपकारी उथलपुथल कहिलेसम्म कुहिरोका काग बन्ने हो त ? प्रचण्डको उथलपुथलले मन्त्रीहरु मात्र उत्पादन गर्ने तर जनजनको जीवन दैनिकीमा परिवर्तनको आभास नहुने हो भने, यो कदम स्वयं प्रचण्डकै लागि आत्माघाती नहोला भन्ने ग्यारेन्टी छ त ?

प्रकाशित: २६ फाल्गुन २०८०, शनिबार ०४:०६

Leave a Reply