No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

लोकतन्त्रमा नागरिक शक्ति

0

ठाकुर पोखरेल ।

‘प्रदर्शन, विरोध र अभियानले न्याय, समानता र मौलिक अधिकारको संरक्षण गर्दछ। परिस्थिति र आवश्यकता महसूस हुदाँ नयाँ परिवर्तनका निर्णायक शक्ति पनि नागरिकहरु नै हुन्छन्’
विषय प्रवेश
लोकतन्त्रमा नागरिक शक्ति-:
संसारले बुझ्ने भाष्यमा लोकतान्त्रिक प्रणाली भन्नाले जनउत्तरदायी शासन व्यवस्था हो जहाँ हरेक ५ वर्षको अन्तरालमा आवधिक निर्वाचन स्वच्छ प्रतिस्पर्धामा हुन्छ । विधि पद्धतिको अधिनमा रहेर निर्वाचित भएका जनप्रतिनिधिले नागरिकहरुको सेवारत कार्यमा रहनुपर्छ। नागरिकहरु प्रति उत्तरदायी हुनुपर्दछ भन्ने मान्यता लोकतान्त्रिक हो। लोकतान्त्रिक प्रणालीका मुलुकमा राज्य संचालन संयन्त्रमा राजनीतिक चेतनाको प्रभावबाट नागरिकहरुले आफ्नो राजकिय अधिकार आफैले प्रयोग गरिरहेका हुन्छन् भन्ने मान्यता हुन्छ।

लोकतान्त्रिक प्रणालीले राजनीतिक सहभागिताको सिद्धान्तलाई आत्मसाथ र समर्थन गरेको हुन्छ । नीति निर्माण गर्न, सामाजिक रुपान्तरण लाई प्रभाव पार्न र सार्वजनिक अधिकारीलाई जवाफदेही बन्न र नागरिक संलग्नताको महत्वलाई हमेसा जीवन्त राख्न लोकतान्त्रिक प्रणालीमा समयसापेक्ष समुन्नत सुधार र परिमार्जन गतिमा हेरफेर गर्न नागरिकहरुको भूमिका नै निर्णायक हुन्छ। नागरिकले सार्वजनिक मामिलामा सक्रिय रूपमा सहभागी हुन, प्रतिनिधि छनोट गर्ने आफ्नो अधिकार प्रयोग गर्न र सामूहिक कार्यको शक्ति प्रयोग गर्ने सामर्थ्य राख्दछन्। नीति निर्माण गर्न नागरिकले महत्वपूर्ण भूमिका निर्वाह गर्छन्। उनीहरू आफ्ना प्रतिनिधिले गरेका निर्णयबाट प्रत्यक्ष प्रभावित हुन्छन् । यस कार्यमा नागरिक समाज, पत्रकार र बुद्धिजीवी सर्कलले व्यापक बहस र अन्वेषण गरिनै रहन्छन् /राजनीतिक सचेत वर्ग, बौद्धिक बुद्धिजीवी र समाजसेवकहरुले समाजलाई नयाँ जागरण सहित रुपान्तरणका लागि ‘वाच डग’को भूमिका निर्वाह गर्नुपर्छ। जसले गर्दा लोकतन्त्रको स्पिरिट नयाँ खोजबिन (diffusion innovative) गतिमा अगाडि बढ्दै जान्छ र समाजले विकासको नयाँ नयाँ उपलव्धी हासिल गर्न सक्दछन्।

सार्वजनिक मामिलामा आफ्नो संलग्नताको माध्यमबाट नागरिकहरुले आफ्ना सरोकार व्यक्त गर्न, प्रतिक्रिया दिन र नीति निर्माणमा योगदान दिइरहेका हुन्छन्। सार्वजनिक परामर्श र बैठकमा भाग लिएर, निर्वाचित अधिकारीसँग संलग्न भएर नागरिकले आफ्नो आवाज सुनाउन र नीति तथा विकासको दिशा निर्देश गर्न सक्छन् । नागरिकको सक्रिय संलग्नताले उनीहरूको आवश्यकता र आकाङ्क्षा पनि प्रतिविम्बित हुन्छ । यसमा असक्त नागरिकले समेत आफ्नो हितकारी व्यक्ति मार्फत सहभागिता जनाउन सक्छन्।

सामूहिक ऊर्जा र दृढ सङ्कल्पका कारण नागरिकले सामाजिक परिवर्तनलाई प्रभाव पार्ने क्षमता राख्दछन्। भुइँतहका आन्दोलनलाई सङ्गठित गर्दै मुद्दाहरू माथि बहस, छलफल र आवश्यकता अनुसार वकालत गर्दछन् साथै समाजमा चेतना जगाएर सामाजिक रूपान्तरण गर्न सक्छन्। यसैलाई लोकतन्त्रमा नागरिकहरुको शक्ति गतिशील र परिवर्तनशील हुन्छ भनिएको हो। नागरिक शक्तिको हुटहुटीबाट समाज विकासका नयाँ द्वारहरु निर्माण हुन्छन् भने विकास निर्माणमा बाधा अवरोध तत्वहरुलाई भत्काउने वा नामेट गरिदिने वा ठूला चुनौतीका पहाड भत्काउने शक्ति पनि नागरिकहरुमा सधैं जिवन्त रहन्छ।

‘द्वन्द्व’ले नव प्रवर्द्धन र बिकासमा वृद्धि-:
कुनै पनि वस्तु, घटना र घटना प्रक्रियामा अन्तर्निहीत अन्तरविरोध वा विरोधाभाष नै द्वन्द्व हो। पदार्थको गति तथा क्रिया र सम्बन्धमा हुने दुई विपरीत पक्षहरूबीचको अन्तरविरोधपूर्ण एकत्व नै द्वन्द्वात्मकता हो। मानव सभ्यताको विकास क्रमसँग ‘द्वन्द्व र रुपान्तरण’ कुन तिथि मिति बाट चलेको होला भन्ने तिर लाग्यौँ भने फेद सम्म पुग्न ज्यादै कठिन हुन्छ।

विश्वका पछिल्ला अनेकौं घट्नाक्रमको ईतिहास हेर्दा लेख्ने र देख्ने वा भोग्नेहरुका कथालाई हेर्दा ‘द्वन्द्व’ले मानव बिकासको ईतिहास र रुपान्तरणको गतिमा तिब्रता ल्याएको पाइन्छ। भने बिकास निर्माणका चरणमा आधुनिक मानव समाज निर्माणमा द्वन्द्वको महत्व र अपरिहार्यता महसुस भएकै छ।
‘द्वन्द्व’ – नव प्रवर्द्धन र विकासका निम्ति अपरिहार्य हुन्छ। तर, ‘द्वन्द्व’ मानवीय मूल्य मान्यतालाई क्षेति पुर्याउने र ज्यानलाई नै जोखिम हुने खालको हुनुहुदैन’

द्वन्द्वात्मक भौतिकवाद वारे पर्याप्त मात्रामा बुझ्नका लागि ‘कम्युनिष्ट मेनिफेष्टो’ र ‘दास क्यापिटल’ ले सन् १८रौंको मध्यान्तर देखि १९सौं शताब्दी (१८४८-१९७७) को अन्त्य सम्म माक्र्सवादी दृष्टिकोणले राम्रै श्रीवृध्दी पाएको देखिन्छ अर्थात् कार्यान्वयन तथा प्रयोगको हिसाबले लेनिन, स्टालिन देखि चिनियाँ नेता माओत्सेतुङ,देङ्गसिया र वर्तमान चिनियाँ राष्ट्रपति सी जि पिङ्ग विचार हुर्किनुमा पनि द्वन्द्ववादको सकरात्मक प्रभाव र विकासक्रमको तिब्रता हो भन्ने महसुस हुन्छ। विश्वका जतिपनि समृद्ध देशहरु छन त्यहाँ कुनै न कुनै किसिमको ‘द्वन्द्व’ पछिको पुननिर्माणको सकारात्मक प्रभाव परेको पाइन्छ। यसको अर्थ द्वन्द्वले दर्दनाक मानवीय संवेदना तथा क्षतिहरु पनि नभएका चाहिँ होइनन् । द्वन्द्वले छेतविछेद भएका मुलुकहरु पनि छन। तर, द्वन्द्ववादको सकारात्मकतालाई हेर्दा मानवीय मूल्य मान्यतालाई जिवन्त राख्न र समाजलाई नयाँ गतिशील बनाई रहन अत्यन्तै महत्वपूर्ण भूमिका देखिन्छ।

लोकतान्त्रिक व्यवस्थाको समुन्नत छविका लागि ‘द्वन्द्ववाद’को सिद्धान्तको परिपालना र तिब्रतालाई फलो गरिरहनुको फाइदा हो समुन्नत अग्रगामी लोकतन्त्रको अभ्यास ।  सकरात्मक द्वन्द्वले सुशासन र समृद्धिलाई जीवन्त बनाई रहन्छ। समाजशास्त्रीय दार्शनिक मार्क्स र एंगेल्सको लेखमा आधारित विज्ञान तथा प्रकृतिसँग वस्तु वा समाज परिवर्तन निरन्तर ऐतिहासिक प्रक्रियाको रूपमा हुने गर्दछ। त्यसैले यसलाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद पनि भनिन्छ (Material or social change happens as a continuous historical process. Hence it is also called historical dialectical materialism.)

बिषय सन्दर्भ लोकतान्त्रिक व्यवस्थामा नागरिकहरुको शक्ति कति हुन्छ भन्नेमा केन्द्रित भएकोले मानवीय जीवनका विविध आयामहरू मध्ये द्वन्द्ववादी दर्शनको महत्त्व वारे संक्षिप्त कुराकानी मात्र पस्किएको हुँ। प्रदर्शन, विरोध र अभियानले न्याय, समानता र मौलिक अधिकारको संरक्षण गर्छ । अरूलाई परिचालन गरेर नागरिकहरुले महत्वपूर्ण परिवर्तन ल्याउन सक्दछन्। दमनकारी प्रणालीलाई चुनौती दिन सक्नेछन् र स्थानीय, राष्ट्रिय र विश्वव्यापी स्तरमा पनि प्रगतिशील कार्यलाई बढावा दिन सक्छन् ।

लोकतान्त्रिक प्रणालीमा सार्वजनिक अधिकारी नागरिक प्रति जवाफदेही हुनु पर्छ । त्यसैले निर्वाचित प्रतिनिधिलाई उनीहरूको कार्य र निर्णयका लागि जवाफदेही बनाउन सक्छन् । आफ्ना प्रतिनिधिलाई प्रश्न गर्ने, पारदर्शिताको माग गर्ने र नैतिक आचरणको अपेक्षा गर्ने अधिकार छ । राजनीतिक सहभागितामा सक्रिय संलग्न भएर नागरिकले अधिकारीहरूलाई उनीहरूको आवश्यकता र सरोकार प्रति उत्तरदायी रहन सुनिश्चित गर्छन् । यसबाहेक नागरिकसँग निर्वाचनमा मतदान र सार्वजनिक छलफलमा सक्रिय रूपमा भाग लिएर जवाफदेही पनि बनाउँछन् । यो जवाफ देहिताले सार्वजनिक अधिकारीलाई उत्तरदायित्व बहन गर्न कटिबद्ध बनाउँछ ।

सामूहिक कार्यले लोकतान्त्रिक प्रणालीमा नागरिकको आवाज र प्रभावलाई बढाउँछ । जब नागरिक साझा उद्देश्यको वरिपरि एकजुट हुन्छन्, तिनीहरूको सामूहिक शक्ति परिवर्तनका लागि बल बन्छ । स्वार्थ समूहहरूमा सङ्गठित गरेर, गठबन्धन गरेर र गैरसरकारी संस्थाहरूमा सामेल भएर नागरिक आफ्नो लक्ष्यमा पुग्न सक्छन् । सामूहिक प्रयासले नागरिकलाई नीति सुधारको वकालत गर्न र सामाजिक परिवर्तनको माग गर्न एक शक्तिशाली मञ्च सिर्जना गर्न सक्छन् । सामूहिक कार्यको माध्यमबाट नागरिकले अन्यायपूर्ण प्रणालीलाई चुनौती दिन, सामाजिक असमानतालाई सम्बोधन गर्न र साझा हितलाई बढावा दिन सक्छन् । यसर्थ ‘द्वन्द्व’ पनि नयाँ रुपान्तरण र बिकासका लागि अपरिहार्य हुन्छ ‌।
‘Conflict’ is inevitable for new promotion and development. तर, सकरात्मक द्वन्द्व श्रृजनशिलताका लागि हुनुपर्दछ। नागरिकहरुको आन्दोलन सचेतना फैलाउने र नयाँ नयाँ राजनीतिक चिन्तन,अन्बेशन तथा मानवीय मूल्य मान्यतालाई अझै समुन्नत लोकतान्त्रिक बनाउने निरन्तरताका लागि हुनुपर्छ।

नागरिकको भूमिका र सक्रियताले लोकतन्त्र बलियो हुन्छ-:
नागरिकले मतदान गर्ने अधिकार लोकतन्त्रको आधारशिला हो । मतदान मार्फत नागरिकले आफ्नो प्रतिनिधि छान्ने काम गर्छन् । आफ्नो मत दिएर नागरिकले आफ्नो प्राथमिकता व्यक्त गर्छन् । आफ्नो राष्ट्रको नीति र दिशालाई आकार दिन्छन् । मतदानद्वारा निर्वाचित अधिकारीबाट जवाफदेहिता र उत्तरदायित्व सुनिश्चित गर्दै नागरिकको हातमा शक्ति रहेको सुनिश्चित हुन्छ। नागरिकले आफ्ना निर्वाचित प्रतिनिधिलाई जवाफदेही बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । लोकतान्त्रिक प्रणालीमा नागरिकलाई वाक् स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अधिकार हुन्छ । यसले उनीहरूलाई आफ्नो विचार व्यक्त गर्न, नीतिहरूको आलोचना गर्न र सरकारबाट पारदर्शिता र जवाफदेहिताको माग गर्न सक्षम बनाउँछ । सार्वजनिक बहसहरूमा सक्रिय रूपमा भाग लिएर नागरिकले राजनीतिक संवादको वातावरणलाई बढावा दिन्छन् । सार्वजनिक राय र नीतिगत निर्णयलाई आकार दिन योगदान गर्छन् ।

लोकतान्त्रिक प्रणालीमा नागरिकको सहभागिताको अर्को आवश्यक पक्ष भनेको नागरिक समाजमा संलग्नता हो । गैरसरकारी संस्था, सामुदायिक समूहहरू र वकालत गर्ने संस्था आदिले सामाजिक, आर्थिक र वातावरणीय मुद्दालाई उठाउँछन्। राजनीतिक मामिलामा सचेत र शिक्षित बनाउने काम पनि गर्छन् । सचेत मतदाताले लोकतन्त्र फस्टाउँछ । घटनासँग अद्यावधिक हुन, नीतिगत मुद्दा बुझ्न र आलोचनात्मक चेत बढाउनमा नागरिकको भूमिका हुन्छ । मतदानभन्दा बाहिरको लोकतान्त्रिक प्रक्रियामा सहभागी हुँदा लोकतन्त्र फस्टाउँछ । राजनीतिक दलमा सहभागी हुने, राजनीतिक चेत बढाउन काम गर्ने, सामुदायिक कार्यमा समावेश हुने राजनीतिक प्रक्रियामा सहभागी हुँदा नागरिकको मुद्दा र चासो राम्रोसँग प्रतिनिधित्व पनि हुन्छ । राष्ट्रको भविष्यलाई आकार दिन, निर्वाचित पदाधिकारीलाई जवाफदेही बनाउन, नागरिक समाजमा संलग्न हुन, सूचित रहन र लोकतान्त्रिक प्रक्रियामा सक्रिय रूपमा भाग लिन नागरिकले कहिल्यै पछि पर्नु हुँदैन । लोकतन्त्र तब फल्छ; जब नागरिकले आफ्नो अधिकार र जिम्मेवारी प्रयोग गर्छन्, सरकार जवाफदेही तथा पारदर्शी हुन्छ । नागरिकको प्रतिनिधिले साँचो अर्थमा प्रतिनिधि बन्छन् । यसरी नै लोकतान्त्रिक प्रणाली वास्तवमै फस्टाउँछ र समाजका आवश्यकता पूरा हुन्छन् ।

लोकतान्त्रिक प्रणालीले नागरिकको संलग्नतालाई महत्व दिएको भए पनि सक्रिय सहभागितामा बाधा पुर्याउने चुनौती भने नभएका होइनन् । यी चुनौतीमा मतदानमा बाधा, सूचनामा सीमित पहुँच र नागरिक बिचको स्रोतसाधनमा असमानता आदि हुन् । नीति बनाउन, सामाजिक परिवर्तनलाई प्रभाव पार्न र सार्वजनिक अधिकारीलाई जवाफदेही बनाउन नागरिकलाई साँच्चै सशक्त बनाउन यी अवरोधलाई सम्बोधन गर्नु पर्छ । समावेशी निर्वाचन प्रक्रियालाई प्रवर्धन गर्न, सूचनामा समतामूलक पहुँच सुनिश्चित गर्न र नागरिक संलग्नतामा बाधा पुर्याउने सामाजिक, आर्थिक असमानताको सम्बोधन गर्ने प्रयास पनि गरिनु पर्छ । यी चुनौतीलाई पार गरेर लोकतान्त्रिक प्रणालीले आफ्नो जग बलियो बनाउन र सबै नागरिकको आवाजलाई सुन्न र सम्मान गर्ने काम सुनिश्चित हुन्छ ।

लोकतान्त्रिक प्रणालीमा नागरिकको भूमिका विशेष हुन्छ, जसको माध्यमबाट उनीहरूले नीति बनाउन, सामाजिक परिवर्तनलाई प्रभाव पार्न र सार्वजनिक अधिकारीलाई जवाफदेही बनाउन सक्छन् । सार्वजनिक मामिलामा सक्रिय रूपमा भाग लिएर, नागरिकले उनीहरूको आवश्यकता र आकाङ्क्षालाई प्रतिविम्बित गर्ने समावेशी नीति निर्माणमा योगदान दिन सक्छन् । सामूहिक कार्यको माध्यमबाट नागरिकले सामाजिक परिवर्तनलाई अगाडि बढाउन, दमनकारी प्रणालीलाई चुनौती दिन तथा न्याय र समानताको वकालत गर्न सक्छन् । नागरिक संलग्नताले पारदर्शी र जिम्मेवार शासन सुनिश्चित गर्दै निर्वाचित अधिकारीलाई जवाफदेही बनाउँछ । राज्य सञ्चालन प्रक्रियामा नागरिकको संलग्नतामा बाधा पुर्याउने तत्वलाई सम्बोधन गर्न तथा समावेशी र समतामूलक प्रक्रियालाई अगाडि बढाउनु अत्यन्त आवश्यक छ । यस कार्यमा नागरिक समाज, पत्रकार र बुद्धिजीवीले व्यापक बहस र अन्वेषण गर्नु पर्छ ।

अतः पूर्ण-लोकतान्त्रिक व्यवस्था लागू भएका मुलुकहरूमा नागरिकहरुको स्तर राज्य सत्ता संचालन गर्नेहरुको भन्दा उच्च हुन्छ। राजनीतिक दलहरु नागरिक प्रति उत्तरदायी हुन्छन्। शासन सत्ताकाले नागरिकहरुको हकहित, संरक्षण र मुल्य मान्यतालाई पहिलो स्थानमा राख्ने कामका लागि आफ्नो राजनीतिक र सामाजिक जीवनको सम्पूर्ण कार्यकाल व्यथित गर्दछन। नागरिक सम्प्रभूताका लागि द्वन्द्ववाद र रुपान्तरणले अग्रगामी बिकास निमार्णको साथै नयाँ नयाँ खोज अनुसन्धानको दायरा फराकिलो बनाउदै गएको हुन्छ। त्यसकारण लोकतान्त्रिक प्रणालीमा नागरिक शक्ति र द्वन्द्ववादको प्रभावकारिता अत्यन्तै महत्वपूर्ण हुन्छ।

 

प्रकाशित: २७ फाल्गुन २०८०, आईतवार १५:४८

Leave a Reply