No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नयाँ सत्ता समीकरण गर्ने प्रचण्डको निर्णय भविष्यमा आत्मघाती सावित हुनेछ

0

रामकुमार शर्मा ।

आकस्मिक एवं अपारदर्शी रुपमा फेरिएको सत्ता गठबंधनबारे आम चर्चा र नेकपा माओवादी एवं राष्ट्रलाई नै दूरगामी प्रभाव पार्न सक्ने ६ प्रश्न !

१) राष्ट्रिय सहमतिको आधारमा टिआरसी विधेयक पास गर्नुपर्ने पूर्वसंन्ध्यामा आकस्मिक रूपमा देशको सबै भन्दा ठूलो र शान्ति प्रक्रियाको मुख्य पार्टनर काग्रेसलाई धोका दिएर माओवादीले गम्भीर गल्ती गरेको छ ।

२) क.प्रचण्डलाई सडक संसद र सरकार सबै ठाउँमा इमान्दारीपूर्वक साथ दिने र अहिले सरकार टिकाउन गणपुरक संख्याको लागि समेत निर्णायक रहेको समाजवादी मोर्चाको विश्वसनीय नेताहरुमा माधवकुमार नेपाल र उपेन्द्र यादवसँग समेत छलफल नगरि हतारमा निर्णय गर्नु पछाडि के रहस्य लुकेको छ ?

३) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माथि प्रतिगमन, कुशासन र भ्रष्टाचार सम्बन्धमा १९ बुँदे गम्भीर आरोप लगाएर कम्युनिष्ट पार्टीलाई नै क्षतिविक्षत र बदनाम गरेको बिषयमा क. प्रचण्ड र क. माधवकुमार नेपालले आमनागरिकलाई कसरी स्पष्ट पार्नुहुन्छ ? यो नयाँ समीकरणले क. केपी ओली माथि लगाएको आरोप निराधार र कपोलकल्पित थिए तथा क.प्रचण्ड र क.माधव कुमार नेपाल को आरोप तथ्यहीन र षड्यंत्रमूलक रहेको पुष्टि हुँदैन र ?

४) आफ्नो पार्टी पदाधिकारी एवं समाजवादी मोर्चाका घटकहरू समेतलाई विश्वास नगरि दुई विपरीत ध्रुवमा रहेका क. केपी ओली र क.प्रचण्ड रातारात एक ठाउँमा आउन कसरी सम्भव भयो ? दक्षिणी छिमेकी निर्वाचनको महासंग्राममा रहेको बेला कहीँ कुनै अदृश्य शक्तिले दीर्घकालीन उद्देश्य पूर्ति गर्न ग्राण्डडिजाइनमा रचना गरेको चक्रव्यूह त होइन ?

५) नयाँ गठबन्धन कम्युनिष्टहरूबीच मोर्चा वा एकताको लागि आवश्यक रहेको निष्कर्ष हो भन्ने रास्वपा जस्तो नयाँ र लोकतान्त्रिक पार्टी तथा पहिचानवादी एवं समाजवादी लोकतांत्रिक विचार बोकेका जसपा जस्तो दुई भिन्न धारका राजनीतिक शक्तिले कम्युनिष्टलाई मजबुत गर्न किन र केका लागि लामो यात्रा मा सहभागी हुनेछ ? के वाम गठबन्धनको प्रमुख नेता केपी ओली पहिचान सहितको समृद्ध प्रदेशको लागि सहमत हुने खुसीयालीको लागि वा नेपाल नयाँ किसिमको अन्तर्राष्ट्रिय द्वन्द्व मैदानमा परिणत हुनसक्ने खुसीयालीमा सहभागी हुनको लागि ?

६) क.प्रचण्ड को यो निर्णय भविष्यमा आत्मघाती सावित हुनेछ ! यसले एकसाथ काग्रेससँग विश्वासघात गरेको छ । नेपाललाई अन्तर्राष्ट्रिय खेलमैदानमा रूपांतरण हुने संभावना तर्फ धकेलेको छ । सहमतिमा टिआरसी पारित गर्ने अवसरलाई सकंटमा पारेको छ । गठबन्धनको हिरो प्रचण्ड होइन केपी शर्मा ओली देखिएको छ । अबको सरकार छोटो समयको लागि हुने र प्रचण्ड कठपुतली प्रधानमन्त्री बनेर एमालेसँग आत्मसमर्पण गर्ने दिशामा अगाडि बढ्ने देखिन्छ ।

प्रकाशित: २८ फाल्गुन २०८०, सोमबार ०३:२६

Leave a Reply