No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रचण्डको ‘उथलपुथल’

0

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डमाथि परिवारवादको मोह बढेको आरोप लागेको छ । आफ्नो भाइलाई राष्ट्रियसभा अध्यक्ष बनाउन लागेको भन्दै प्रचण्डमाथि यस्तो आरोप लागेको हो । हुन त यस्तो आरोप प्रचण्डलाई लागेको यो नै पहिलो पटक भने होइन । प्रचण्डले २०७८ चैत २५ गते दाहाललाई राष्ट्रियसभा सदस्यमा मन्त्रिपरिषदबाट मनोनित गराएका थिए । यस्तो निर्णय लिँदा प्रचण्डमाथि उतिबेलै परिवारवादको आरोप लागेको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यतिबेला दाहाललाई राष्ट्रियसभाको सदस्य बनाउने निर्णयको विरोध गर्दै दाहाललाई गुरिल्लाको संज्ञा दिएका थिए ।


तर जनताको आलोचनाप्रति पूरै बेवास्ता गर्दै प्रचण्डले भाइलाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय पार्टीबाट गराए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाएको छ । तर सत्ता गठबन्धनको प्रष्ट बहुमत भएकाले माओवादीको उम्मेदवारको जित पक्का जस्तै छ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल वा भर्खरै चुनाव जितेर आएकामध्ये कसैलाई उम्मेदवार बनाउनुपर्ने मत माओवादीभित्र थियो । तर प्रचण्डकै चाहना अनुसार दाहाललाई उम्मेदवार बनाउने निर्णय भएपछि पार्टीपंक्तिमा असन्तुष्टि देखिएको छ । कांग्रेसँगको गठबन्धन तोड्दासमेत पार्टी अध्यक्ष प्रचण्डप्रति असन्तुष्ट केही नेताले दाहाललाई राष्ट्रियसभाको उम्मेदवार बनाएकोप्रति असन्तुष्टि जनाएका छन् । माओवादीका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले प्रचण्ड नअघाउन्जेल परिवारवादको मोह चलिरहने बताएका छन् । उनले भनेका छन्, ‘कामरेडको झुसिलो डकार नआउन्जेल हुने यस्तै हो !’

हुन त पार्टी उपमहासचिव जनार्दन शर्माले नेताहरुको कार्यविभाजनप्रति पार्टीको बैठकमा फरक मत राख्दै अध्यक्ष प्रचण्डको परिवारवाद मोहको आलोचना गरेका थिए । बुहारी विना मगरलाई सुदूरपश्चि प्रदेशको सहइन्चार्ज बनाएकोमा शर्माका आपत्ति थियो । उनले स्थायी समिति सदस्य खगराज भट्टलाई सुदूरपश्चिम संसदीय दलका नेता र इन्चार्जबाट हटाएर अपमानित गरिएको बताएका थिए ।

शर्माले फरक मत राखेको केही दिनपछि नै नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार प्रचण्डले बनाए । केही दिनअघि प्रचण्डलले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका थिए । कतिपयले यो उथलपुथल परिवारवादका लागि भएको भन्दै प्रचण्डको आलोचना गरेका छन् । भाइलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेससँगको गठबन्धन कुर्बानी गरेको भनेर बुझ्न खासै गाह्रो नभएको भन्दै प्रचण्डको आलोचना भएको छ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्यारकाल लामालाई नियुक्त गर्दा पनि पार्टीभित्रैबाट विरोध भएको थियो ।

त्यतिबेला पार्टीका नेताले लुम्बिनीमा नियुक्तिबाट सुरु भएको रूपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन भएको भन्दै व्यंग्य गरेका थिए । छोरी गंगा दाहाललाई स्वकीय सचिव बनाएको भन्दै विरोध हुँदा प्रधानमन्त्री प्रचण्डले उनलाई जोडेर मलाई गाली गर्नु भनेको वास्तवमा संविधान, प्रणाली, गणतन्त्र, लोकतन्त्रविरुद्धको हमला हुनु सरह भएको बताएका थिए । प्रचण्डको परिवारवाद यो मात्र होइन । उनले कोशी प्रदेशमा कान्छा ज्वाइँ जीवन आचार्यलाई दुई दुई पटक मन्त्री बनाए । यो मामलामा नेपाली कांग्रेस सहयोगी बनेको थियो । अब त्यो पालो एमालेको काँधमा आएको छ । नारायण दाहाललाई राष्ट्रियसभाको सदस्य बनाउँदा विरोध गर्ने एमालेले अब दाहाललाई अध्यक्ष बनाउन मत हाल्नुपर्ने अवस्था आएको छ । यो मामलामा अब एमालेले कस्तो नैतिकता देखाउँछ त ?

प्रकाशित: २८ फाल्गुन २०८०, सोमबार ०९:०८

Leave a Reply